जनकमा कमिसन् र ओटीको जालो : वावुराम भन्छन् निर्मम् बन्छु,के बन्लान् मन्त्री धनिराम !



बिद्यालय तहको पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड़ शिक्षा मन्त्रालयको लागि 'भालूको कन्पट ' भएको छ । जनक शिक्षा कमिसन र ओटीको जालोमा जेलिएपछि यो 'भालूको कन्पट ' भएको हो ।


जनक शिक्षाले बिद्यालय तहको पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको भएपनि यसले कहिल्यै आफ्नो काम ईमानदारीपूर्वक नगर्ने गरेको आरोप लाग्ने गरेको छ । यसभित्र पाठ्यपुस्तकको आबरणमा मौलाएको आर्थिक अनियमितताले नराम्रोसँग जालो बनाएको कारण समयमै पाठ्यपुस्तक छाप्न नसकेको जनकबारेका जानकारहरु बताउछन् ।

कागजमा करोडौ कमिसनको चक्कर चल्ने कारण जनक शिक्षामा ढिलासुस्तीको खेल हुने र समयमै पाठ्यपुस्तक छाप्न नसकिने निहुँपारी नियमकानून लत्याउदै करोडौ कुम्ल्याउने चलन नै चलेको बताइन्छ ।  

कमिसन खान पल्केकाहरु जनकको माया गरे झै गरेर कमिसन कुम्ल्याइरहेका हुन्छन् । कमिसनको स्वाद प्रायः हाकिमहरु र बलिया कर्मचारी संगठनहरुलेसमेत पाउने हुनाले पनि यसको  बिरोध हुने नगरेको र सबै 'तै चुप् मै चुप्' हुनेगरेको स्रोतको दावी छ  ।

जनक  शिक्षाको कार्यकारि पद पाउनको लागि करोड़ बुझाएर आउनेहुनाले पनि कमिसनको जालोले जनक शिक्षालाई सिध्याएको एक उपल्लो तहका पूर्व कर्मचारीले ननस्टप खबरलाई बताएका छन् ।

त्यतिमात्र होइन जनक शिक्षाका अधिकांस कर्मचारीहरुमा इमान्दारिताको असाध्यै अभाव देखिएको छ । उनीहरु ओभरटायम काम गरेर अतिरिक्त आम्दानी गर्ने लोभले कार्यालय समयमा काम नै नगर्ने गरेको एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन्  ।

बर्षका शुरुका महिनाहरुमा सुतेर बस्ने र अन्तिमका केहि महिना मात्र काममा लाग्ने कर्मचारिका कारण जनक शिक्षाले समयमै पाठ्यपुस्तक छाप्न नसक्ने गरेको उनले खुलासा गरे । '' २४ घण्टा चल्नुपर्ने मेसिन ४ घण्टा पनि चलाईदैन, कसरी छापिन्छ समयमै पुस्तक ?'' उनले उल्टै प्रतिप्रश्न गरे ।

यस बर्ष पनि समयमै पाठ्यपुस्तक नपुग्नेसमेत ती कर्मचारीले ठोकुवा गरेका छन । १ करोड़ ५० लाख पुस्तक छाप्न अझै बाकी रहेको भन्दै उनले ठोकुवा गरे ''जादुको छड़ी चलाए पनि समयमै पुस्तक छाप्न सम्भब छैन ।'' 

यतिबेला जनक शिक्षाको महाप्रबन्धक पद पनि रिक्त छ । उक्त जिम्मेवारी हेर्नेगरी पाठ्यक्रम बिकाश केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाइ तोकिएको छ । निर्णय लिन  असाध्यै डराउने स्वाभावका काप्रिलाई समयमै पुस्तक पुर्याउन नसकेको अवगाल् आइपर्ला र त्यसले आफ्नो कॅरिअरलाई असर गर्ला की भन्ने पिरलो पनि परेको छ , तैपनि उनले जनक शिक्षालाइ जगाऊँने कुनै निर्णय लिन भने सकेका छैनन् ।

के गरीब र दूरदराजमाँ रहेका स्कूले बिद्यार्थीले यसपाली पनि नया पुस्तकको मुख देख्न नपाउने नै हुन त ? हामीले जनक शिक्षाको कामको अनुगमनकारी निकाय शिक्षा विभागका माहानिर्देशक बाबुराम पौडेललाई सोध्यौं ।

पौडेलले भने अझै आशा नमारेको प्रतिक्रिया दिएका छन् । उनले जनक शिक्षालाइ बचाउने ठेक्का नलिएको र काम गर्न नसक्ने जनक शिक्षाको काध थापिरहन पनि नसकिने भन्दै बिकल्पको तैयारी गरिएको बताएका छन् । उनले कस्तो बिकल्प भन्ने बारे खुलाउन भने चाहेनन् । 

माहानिर्देशक पौडेल निकट श्रोतले भने  जनक शिक्षालाई बोलाएर पौडेलले निर्देशन दिएको बताउँदै समयमै पाठ्यपुस्तक छाप्न नसके आफू निर्मम् बन्ने चेतावनीसमेत दिएको खुलासा गरेकाे छ ।  बुधवार पनि जनकको ब्यबस्थापनलाई बोलाएर समयमै पाठ्यपुस्तक पुर्याउने कार्ययोजना पेश गर्न पौडेलले १ हप्ते  अल्टीमेटम् दिएको श्रोतले बताएको छ ।
 
तर , जनक शिक्षाको जालो पन्छाउनु त्यति  सजिलो भने छैन । जुनदिन देशका सबै विद्यालयका  बालबालिकाको हातहातमा नया पुस्तक पर्छ । त्यहिदिन मात्र शिक्षा प्रशासनको सफलताको दिन हुनेछ । प्रशाशनको सफलता र असफलतासंग प्रत्यक्ष साइनेा सम्बन्धीत मन्त्रीको रहने कुरालाई पनि नकार्न भने सकिदैन ।

काम त सबैले गर्छु भन्छन् जो कसैले नसकेको काम गर्न सफल हुन्छ, उनैलाई नै इतिहासले सम्झिरहन्छ । शिक्षा मन्त्रालयको ठुलो समस्याको रुपमा रहेको पाठ्यपुस्तक समयमै छाप्न सकेर दूरदराजका बालबालिकाको हाताहातमा नया पाठ्यपुस्तक पुर्याउन सकेमात्र  पाठ्यपुस्तकमाथिको अर्बौ लगानीको अर्थ रहला अनि यस्कै आधारमा शिक्षा मंन्त्रालय र त्यसको नेतृत्व गरिरहेका शिक्षा मन्त्री धनिराम पौडेलको पनि मूल्यांकन गर्न सकिएला ।

बास्तवमा काम इच्छा र अठोट्ले हुदोरहेछ । जुनकुरा उर्जामन्त्री जनार्दन शर्माले नियुक्त गरेका बिद्युत प्राधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङ्गले सावित  गरेर देखाइदिएका छन् । असंभवलाई सम्भव बनाउने एउटै मात्र अस्त्र इमान्दारीता नै रहेछ  ।

के अब जनक शिक्षा पनि  बिद्युत प्राधिकरण झै बन्न सक्ला ? नया बन्ने जीएम कुलमान झै बन्न सक्लान ? बर्षौदेखिको लोडशेडिंग हटाएर वाहवाही कमाएका उर्जामन्त्री प्रभाकर झै शिक्षामन्त्री धनीराम पनि बर्र्षाैदेखिको पाठ्यपुस्तकको अभाव हटाएर 'हीरो' हुन सक्लान् ?
 
बिद्यार्थीलाई किताबसम्म दिन नसक्नेले राम्रो शिक्षा दिन सक्ने सवालै हुदैन । विद्यार्थीहरु सबैभन्दा पहिला पाठ्यपुस्तक पर्खेर बसेका छन् । शिक्षा मन्त्री धनिराम समयमै पाठ्यपुस्तक पुर्याउन सफल बन्लान् की असफल ? उत्तरकोलागि केवल् केहि महिनामात्र कुर्नुपर्नेछ । 

© Copyright Protected. All rights reserved with NonStopKhabar.com