डियर ! मधुरस जस्तै लाग्छन मधुकरका यादहरु
- भौतिक मल्ल



फोनमा खबर सुन्दा पत्याउनै सकिन । धेरैचोटी सोधे । सोध्दा सोध्दा खबर सुनाउने मान्छेले फोन नै कटाएर पतासाप पो कसेछ । म भने बोलिरहेको रहेछु एकोहोरो । एकोहोरो बोलिरहनुमा कुनै आत्मियताको अनौठो रङ्ग छ्यापिएको हुनुपर्छ । सायदै त्यही आत्मीयताले एकोहोरो बनाइदिएको हुनुपर्छ । 

 

भखैर जस्तै लाग्छ उमेरले तीन दशकको उकालो लागेको  । तीन दशकका बिचमा त्यो सानीगाडमा कति पानी बग्यो होला । गोरुबान्ने खोलाले कति उल्झनहरु छिचोल्यो होला । पाल्लाहर्क ठार्क ऐयाँजरा र हिलेका लेकहरुले कति पालुवा फेरे होलान । जिउलाका पहेलपुर सुन्तलाले कति जुनी फेरे होलान । तर, थुप्रै परिर्वतनका बीचमा एउटा कुरा सधै अनुत्तरित छ । समयको बिन्दु फेरि पनि उनुत्तरित ढंगले उभिएको छ । सायद समयसँगै फेरिनु हाम्रो अर्को जुनी हो ।

 

प्रायः बाल्यकालका सम्झनाहरु अकाट्य हुँदारहेछन् । त्यही अकाट्य सम्झनाहरुका बीचमा आज एउटा पर्दा उघ्रिएको छ । दिल बेस्कन दुखेको छ । त्यही दुखाइको बीचमा छ– एउटा पुरानो पालुवा झर्ने दिशातिर । उमेर नढल्कदै झरेका पालुवाका पीडा अनुभूतीको कल्पना गर्दै दुखेको मन फुकाउने प्रयत्न गरिरहेको छ । पुरानो पात झरिरहेको छ जिरो डिग्रीमा बालुवा उडिरहेको छ विपरीत दिशातिर ।

 

बेल्छँगाल (हिजो बिहान) जस्तै लाग्छ– गाई गुवालो गएर झगडा गरेको । सेनीगाड खोला दुवाली खेल्न गएर माछा मारेको । भागबन्डामा चित्त नबुझदा झगडा गरेको । अनि झगडा गर्दै फेरि सिलिङ्गीको उकालो स्कुल गएकोे । कपर्दी खेल्दै लुछाचुडीँ गरेको । घाँस दाउरा मेलापात सँधै सँधै कहिल्यै सङ्गत नछुटने । झगडा पनि नछुट्ने । एउटा अनौठो आत्मीयता थियो । मलाई याद छ एकदिन मेरा बुवाले लाहुरबाट ल्याइदिएको नयाँ ट्रयाकसुट उसँग लुछाचुढीँ गर्दा च्यातिएको थियो । अनि म रुदैँ घर फर्केको थिएँ । घर फर्कदा हजुरबाले छोरा मान्छे भएर झगडामा हारेर आउने नामर्द भनेर लाठी समातेर उल्टो सिलिङ्गीको डाँडो कटाउनु भएको थियो । म कान्ला नाघ्दै भागेको थिए । 

 

करीब हाम्रो समग्र बाल्यकाल यस्तै बितेको थियो । २० मिटरको दुरीमा रहेको हाम्रो र उसको घरमा आगोका फिलिङ्गाको समेत अ‍ैचोपँैचो चल्थ्यो । अलि मुर्ख हक्की स्वभावको मेघ बहादुरलाई हामी बच्चाको नाइके भनेर चिन्थ्यौँ । उसको बुवा पनि गाउँका नाइक नै थिए । अलि सन्की र जिद्धी स्वभावको भएकोले हुनुपर्छ– ऊ खुब झगडालु थियो । उ साना साना कुरामा पनि सबैसँग झगडा गरिरहन्थ्यो । त्यही झगडामा सामिप्यताको अनौठो रस थियो । उसँग झगडा पनि गर्न छोडिन्नथ्यो । साथ गर्न पनि छोडिन्नथ्यो । न त झगडा छोडियो, न त साथ छोडियो ।  यस्तै यस्तै आरोह अवरोहमा बाल्यकालका तरङ्गहरु नाचिरहन्छन् । 

 

समयले बिस्तारै कोल्टो फेर्दै गयो । एकदिन उसका बुवाको मृत्यु भयो । उसको बुवाको मृत्युपछि उसको घरमा बिनासकारी भुकम्प गएझैँ भयो । चार भाइमध्येको कान्छो उसलाई ठूलो बज्रपात भयो । अरु दाजुहरुले बिहे गरेर सेटल भए आआफ्नै ढंगले । तर, उसलाई भने निकै अप्ठेरो पर्यो । उ केही दिन आमासँगै बस्यो । तर, पछि उसले बिस्तारै घर छोड्यो । ऊ सानै हुनुले उसको विकल्प रहेन अब घर छोडनुको । देशमा माओवादी जनयुद्धले व्यापक रुप लिदैँ थियो । साथीहरुसँगै ऊ २०५७ सालमा माओवादी भयो । हक्की स्वभावका कारण ऊ माओवादीको जनमुक्ति सेनामा प्रवेश गर्यो । माओवादी सेनामा लडाकु सिपाहीका रुपमा छबी बनायो । सबैले उसको प्रसंशा गरे ।  समयले उसलाई मेघबहादुरबाट मधुकरमा परिवर्तन गर्यो । ऊ बच्चाको नाइको मेघे रहेन मधुकर बन्यो मधुकर । उसको पार्टीको नाम मधुकर बन्यो ।

 

समय बित्दै गयो ऊ परिपक्क माओवादी सेना बन्यो । सबैले विश्वास गर्न थाले ।  माओवादी जनयुद्धकै बेला दाङ्ग घोराही, सतबरीयामा माओवादी सेनाले आक्रमण गर्यो । उसले त्यहाँ आफ्नो निकै राम्रो बहादुरिता देखायो । उसलाई सेक्सन कमाडरमा बडुवा गरियो । मेघे अब त कमाण्डर मधुकर पो बन्यो । उसले दर्जनौ भिडन्त एम्बुस आक्रमणमा भाग लियो । बाँकेको कुसुम ब्यारेकमा माओवादी सेनाले धावा बोल्दा ऊ एसाल्टमा थियो । कमान्डो र्फोसमा उसको हातमा गोली लाग्यो । त्यसैले उसको हात रहेन । बुवा जस्तै रहेन हातले पनि छोडेर गयो  । उ घाइते बन्यो । बहादुर मधुकरको संग्लो हात खायो कुसुम ब्यारेकले । मधुकर बहादुर घाइते कमान्डर बन्यो । देश र जनताका नाममा शरीरको अँग गुमायो बलिदान गर्यो । 

 

उसको जीवनचक्र फेरि बदलियो । अब ऊ सेनामा रहेर हतियार पडकाउनु नसक्ने भयो । एउटा हातले हतियार पड्काउन गरो भएपछि ऊ  फेरि फिर्ता भयो । कार्यकर्ता बनेर जिल्लामा राजनैतिक कार्यकर्ताको रुपमो पहिचान बनाउन तम्सियो । अहँ केही लागेन राजनीति भित्रको कुटनीतीमा उसले माछा मार्न सकेन । आफु सद्धे घाइते भएर पनि घाइतेले लिने सेवा सुबिधाबाट बन्चित बन्यो । जिल्लाका नेताहरुले उसलाई आँखामा राख्न सकेनन । उ नेताहरुको आँखामा अटेन कारण उ बिद्रोही स्वभावको थियो । अन्याय सहन सक्दैनथ्यो । त्यसैको शिकार भयो ।

 

समयको रफ्तार एकपछि अर्को ढंगले बढिरह्यो । माओबादी जनयुद्ध जनयुद्धका रुपमा रहेन । जनयुद्ध जनयुद्धका रुपमा नरहेपछि उसको जिन्दगी पनि जनयुद्ध जस्तै रहेन । बिस्तारै समयले धोका दियो । उ सग्लो हात गएको आधा हात फर्कियो ।  न घर न बास उसको जीवन अनौठो ढंगले बदलियो । उसका युद्धका सपना कथामा परिणत भए । बिपनाहरु तमाशामा बदलिए । तर बदलिएन उसको नियती मुलुक त कभरमा भए पनि बदलियो ।

संसार बदल्न गएको ऊ आफै अनौठो ढंगले बदलिएर आयो । उसका जीवनका आरोह अबरोहहरु सेनीगाडका पानी जस्तै अनबरत बगीरहे बगिरहे । उसलाई मेघेका रुपमा चिनेका हरुले मधुकरका रुपमा चिने तर मधुकरको पहिचानमा उसलाई बाँच्न गारो बन्यो । उ प्यासी जिवन जिउन बाध्य भयो । बिस्तारै उ जाँड रक्सी सुर्ती चुरोट सबै लिन थाल्यो । कुरा काट्नेहरुको भुजा नै बन्यो । उसलाई कसैले जड्याहाका रुपमा चिन्न थाले । कसैले अल्लारे त कसैले बिबिध रुपमा चिन्न थाले । तर, उसको जड्याहा नियतीप्रति अनविज्ञ रह्यो सामाज र र अनविज्ञ रहे सबै  सबै । 

 

मलाई याद छ पछिल्लो एकपटक घर जाँदा ऊ मेरो घरमा आएर धित मरुन्जेल रोएको थियो । उसको रुवाइमा मैले जीवनका अनौठा रंगहरु देखेको थिए । दाइ हरेश नखानुस हामी छौ । आशाले बाँच्ने हो । हाम्रा अगाडि आशाको दियो बलिरहेकै छ । भनेर थोरबहुत मल्हम लगाउन प्रयत्न गरेको थिएँ । उसले आफ्ना जीवनका आरोह अबरोह र घुम्ती मोडहरु बिस्कुन लगाउँदै परेली भिजाएको थियो । ऊ परेली भिजाउँदै गर्दा मेरो ममीले उसलाई सम्झाउदै भन्नुभएको थियो “यसरी आफै कमजोर बन्नुहुन्न बाबु आँशुले आफैलाई कमजोर बनाउछ । तँ जस्तो मान्छे किन यति कमजोर कुरा गर्छस् । मुलुक यस्तै छ ।” 

उसले मलाई बेला बेला बाल्यकालको मेरो चर्तुयता र तिक्ष्ण दिमागको प्रशंसा गरेको थियो । ऊ भन्थ्यो भाइ तिमीमा बेग्लै जादू थियो । सानोमा पनि ठूलो भएपछि केही गर्छौ भन्ने आश थियो सबैमा  । म आफुमा केही नभएको र केही गर्न नसक्ने कामुक भएको उत्तर ििदएँ ।  यस्तै यस्तै कुरा चल्योे । पछिल्लो समय मलाई फकाउथ्यो ऊ बेस्सरी । खै किन हो । भन्थ्यो, “मैले भाइबाट धेरै सहयोगको अपेक्षा गरेको छु ।” तर, मैले उसलाई कहिल्यै मनछुने सहयोग गर्न सकेको थिइन ।

 

पछिल्लो समय ऊ इन्डिया जाने गरेको थियो । इन्डियामा ऊ लेबर काम गथ्र्यो । लेबर काम गरेर जीवनको गुजारा चलाउँथ्यो । एउटा हातले अर्काको देशमा गएर मजबुरी गर्नु उसको बाध्यता थियो । गाउँमा पाखाबारी चहारेर नपुग्ने भएपछि उ भारत गएर मजबुरी गर्न बाध्य थियो । गाउँमा उसको बसाई कमै हुन्थ्यो । सायद हिनताबोधका कारण पनि हुन सक्छ । गाँउमा ऊ जाँड रक्सी बिना उभिन सक्दैनथ्यो ।

 

उसले इन्डीयाबाटै बिहे गरेको सुनेको थिएँ । तर, त्यसको वास्तविकता भने मैले थाहा पाउन सकेको थिएन । तर, अचानक उसको मृत्युको खबर आयो । म उसको मृत्युप्रति अनविज्ञ  छु । ऊ कसरी मर्यो ?आत्महत्या गरेर झुन्डिएको अवस्थामा भेटिएको भन्ने गरे पनि उसको मृत्युको वास्तविकताप्रति केही प्रश्नहरु भने उब्जिएका छन ।

 

भाइले बच्चामा साथ गरेको दाइको साथी अर्थात दाइ जस्तै मानेर हुन सक्छ मलाई फोन गरेर भन्यो, “दाई मधुकर दाईले आत्महत्या गर्नु भएछ ? इन्डियामा झुन्डिएको अवस्थामा भेटिए रे ?” भाईको यो खबर सुनेर म त छाँगाबाट खसेको जस्तै भएँ । भाइको सूचना पत्याउन नै गाह्रो पर्यो । तर, सबैको जीवनमा मृत्यु त अकाट्य सत्य हो । मैले ऊ मरेको नभएर कसैले हत्या गरेको हुनसक्छ भन्ने मनमनै कुरा खेलाएँ । मुलुकको लागि योगदान गरेको आधा जीवन चढाएको मान्छे कसरी आफै मर्न सक्छ भन्ने लाग्यो । पत्याउनै नसकिने कुरा छन राज्यका अगाडि । उसलाई घोराही, कुसुम ब्यारेक लडाउने कमान्डरहरु यतिबेला सत्तासिन छन् । सत्ताको कुर्सीको लागि भारतसँग  उनीहरुले अँगालो मारेका छन । तर, लड्ने जुझारु योद्धाहरु यसरी नै मरिरहेका छन् । एक योद्धा आज झुन्डिएर मरेको छ । कति बिघ्न गाह्रो छ पीडा पचाउन । अनौठो छ मुलुक र मुलुक चलाउनेहरुको नियति पनि देश र जनताका लागि लड्नेहरु यसरी झुन्डीनु पर्ने लडाउनेहरु कुर्सीमा झुन्डिनु पर्ने थुइक्क नेपाली राजनीति र नेताहरु । मनमनै धिक्कारेँ राज्यलाई यदि उसको सही व्यवस्थापन हुँदो हो त उ त्यसरी झुन्डीनु पर्ने अवस्था आउने थिएन होला । आत्महत्याको शिकार बन्नुपर्ने स्थिति हुन्नथ्यो होला । 

 

यसरी मुलुकले मधुकर जस्ता युवाहरुको भविष्यमा खैलाबैला मच्चाइएको छ । आफैलाई मर्न निर्देशन दिएको छ । र, मार्नलाई भोगाइ पठाइएको छ । 

 

डियर !

 

मधुकरका सोचाइहरु पटक्कै गलत थिएनन । मधुकरले पिउने जाँडहरुमा पनि कतै जड्याहापन थिएन । न त उसले सल्काउने चुरोटको धुवाँमा वास्तविक धुँवा थियो । न त उसले मल्ने सुर्तीको चिम्टीमा कुनै स्वाद थियो । अहँ कुनै मादकता पनि थिएन । मादकता र जड्याहापन त त्यो थियो, जसले मेघबहादुरबाट मधुकर बनाइदिएर अर्धचेत अवस्थामा  उसलाई बीच बाटोमै अलपत्र छोडिदिएका थिए । 

 

हार्दिक श्रदा सुमन मेघबहादुर थापा उर्फ मधुकर तिमीलाई । यो भन्दा अरु के दिन सक्छु र मैले । तिम्रो स्वर्गवासको कामना गर्छु । अजीव थियौ तिमी र रहिरहने छौँ । तिमी अमर रहनेछौ । भावपूर्ण श्रदान्जली ।

 

 

© Copyright Protected. All rights reserved with NonStopKhabar.com