शिक्षामन्त्री पाैडेल भन्छन्, ''देशको शिक्षा नीति नै निवन्ध जस्तो छ''



शिक्षा मन्त्री धनीराम  पौडेलले देशको शिक्षा नीति निवन्ध जस्तो भएको भन्दै असंतोष ब्यक्त गरेका छन् । मंगलवार भक्तपुर जिशिकाले आयोजना गरेको प्रधानाध्यापकहरुको अभिमुखीकरण कार्यक्रममा मन्त्री पौडेलले असंतोष ब्यक्त गरेका हुन् । 


कसैको लहड़ र नाम कमाउने महत्वाकांक्षाले नेपालमा नीतिहरु बन्ने गरेकोले वास्तविक  शिक्षाका समस्या ज्यूँ का त्यू रहेको उल्लेख गर्दै पौडेलले देशलाई समृद्ध बनाउन बैज्ञानिक शिक्षा नीतिको खाचो रहेको बताएका छन् । बिज्ञान र प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता रहेको भन्दै उनले देशको समृद्धिकालागि सबैको सहभागितामा सबैको अपनत्व हुनेगरि शिक्षा नीति बनाउन आफ्नो ध्यान रहेकोसमेत खुलासा गरेका छन् । 

अभिमुखीकरण कार्यक्रममा शिक्षा मन्त्री धनीराम पौडेलले विद्यालयका प्रधानाध्यापकहरुलाई शिक्षाको स्तरोन्नती गर्ने पाठ पनि पठाएका छन् ।
 

देशको सामुदायिक बिद्यालयहरुको शैक्षिक स्तर माथी नउठ्दासम्म देशले गति लिन नसक्ने भन्दै मन्त्री पौडेलले निजी बिद्यालयहरुबाट सामुदायिक बिद्यालयहरुले सिक्नुपर्नेसमेत बताए ।

''निजी बिद्यालयहरुसंग डराउने होइन , प्रतिस्पर्धा गर्नुस् । राम्रो रिजल्ट दिनसके अभिभावक पैसा तिर्न निजीमा जादैनन् । यसले राज्यलाई समेत राम्रो गर्छ । ''  उनले भने । 

निजीले परिणाम दिन सक्ने तर सरकारीले दिन नसक्ने भन्ने कुरा सह्य नहुने भन्दै मन्त्री पौडेलले जनताको कर खाएका सरकारी प्रअ र शिक्षक जनताप्रति जवाफदेयी हुनुपर्ने जिकिर गरेका छन् ।

प्रअलाइ जिल्ला शिक्षा कार्यालयसंग कार्यसम्पादन करार गर्न र आफ्ना शिक्षकहरुलाई पनि आफुले  कार्यसम्पादन करार गराउन निर्देशन दिदै मन्त्रीले अब बोलीमा होइन ब्यवहारमा काम गर्नपर्ने भन्दै नतिजा दिन नसक्ने शिक्षक र प्रअलाइ कारबाहीको दायरामा ल्याइने चेतावनीसमेत दिएका छन् ।

शिक्षा मन्त्री पौडेलले बिद्यार्थीहरुको भबिष्यसंग देशको भविष्य जोडिएको उल्लेख गर्दै  प्रअहरुलाई समाज र श्रमसंग जोडेर सिकाई क्रियाकलाप गराउनसमेत निर्देशन दिएका छन् ।  ''श्रमप्रति सम्मान र देशप्रति माया जागृत गराउनु शिक्षकको पहिलो दायित्व हो । '' उनले भने ।
 


कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आउन लागेको शिक्षा नियमाबलीले शिक्षा र शिक्षकका धेरै समस्याहरु हल गर्नेसमेत जिकिर गरे ।

कार्यक्रममा भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले शिक्षक बिना शिक्षा सोच्नसमेत नसकिने भन्दै शिक्षक जवाफदेयी नहुदासम्म शिक्षामा सुधार नहुने बताएका थिए भने उपसचिव पुष्प ढकालले उपचारात्मक शिक्षण बिधि , लैङ्गिक मैत्री बिद्यालय लगायत बिबिध बिषयमा प्रअहरुलाई अभिमुखीकरण तालीम दिएका थिए ।

उक्त अबसरमा जिशिका भक्तपुरले घोषणा गरेको २२ बुँदे कार्ययोजनाको समीक्षासमेत भएको थियो भने भक्तपुरमै पहिलोपटक शिक्षक र बिद्यार्थीहरुको लागि डायरीको समेत शुभारम्भ गरिएको थियो ।
 
 
यो पनि हेर्नुहोस्
 
 

© Copyright Protected. All rights reserved with NonStopKhabar.com