प्रेस, आस्था र विचार स्वतन्त्रतामाथि हस्तक्षेप गरेर शान्ति नहुने चलाउनेको जोड

मान्छेकाे अास्था र विचारमाथि दमन गरेर राज गर्ने सपना नदेख्न चेतावनी

बुटवल, २३ फागुन । बुटवलबाट प्रकाशित भइरहेकाे गर्जन पोष्ट साप्ताहिकले प्रकाशनको तेस्रो पूरा गरेको छ । तीन वर्षहरु पूरा गरेर चौथो वर्षमा प्रवेश गरेको अवसरमा पत्रिकाले मंगलबार ‘संविधानमा मौलिक अधिकार : विचार, आस्था तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको सभाहलमा आयोजित अन्तरक्रियामा कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वसचिव प्रभात चलाउनेले आस्थाकै आधारमा पत्रकारमाथि दमन हुने कुरा दुःखद् भएको बताए ।

संविधानले दिएको अधिकार मिडियाले प्रयोग गर्न पाउनुपर्नेमा जोड दिँदै चलाउनेले पछिल्लो समय आस्थाकै आधारमा राज्यले पत्रकारहरुमाथि दमन गरेकाे भन्दै त्यसप्रति कडा अापत्ती जनाए । फरक विचार र आस्था राख्दैमा राज्यले दुश्मन देख्न थालेकाे भन्दै राज्य निरन्तर निरङ्कुश बन्दै गएकाे दावी गरे । उनले याे प्रवृतिले देशमा शान्ति र समृद्धि कदापी हासिल नहुने बरु द्वन्द्व झन चर्कने दावी गर्दै त्याे द्वन्द्वकाे कारक अहिलेका संसदीय राजनीतिक पार्टीका प्रमुख नेताहरु हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष चलाउनले नेपालमा पत्रकार मात्रै हैन सामान्य जनताको मौलिक अधिकार समेत जनताले प्रयोग गर्न नपाएको दाबी गर्दै संविधानलाई कार्यान्वयन गर्नेहरुले नै संविधानको उल्लघन गर्ने गरेको बताए । गर्जन पोष्ट साप्ताहिकमा प्रहरीले छापा मार्ने र निगरानी तथा खानतलासी गरेर राज्यले गैरन्यायीक काम गरेको चलाउने बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका रुपन्देही इन्चार्ज शरद ओलीले जनपक्षीय पत्रकारितामा गर्जन पोष्टले खेलेको भूमिका सराहनीय रहेको बताए । उनले आगामी दिनमा पनि पत्रकारिताको माध्यमबाट समाजका विकृतीहरु बाहिर ल्याउँदै भण्डाफोर गर्न आग्रह गरे ।

पत्रिकाका सम्पादक प्रकाश डुम्रेले गर्जन पोष्टलाई आगामी दिनमा अझ खोजमुलक पत्रकारितामा केन्द्रित हुने भन्दै जनपक्षीय पत्रकारिताको धारलाई तिखो पार्ने प्रतिबद्धता व्यक्त गरे ।

अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका प्रचार विभागका तेजेन्द्र केसी, वरिष्ठ पत्रकार बालकृष्ण चापागाई, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम, मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रिय उपाध्यक्ष गोविन्द खनाल, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, प्रेस सेन्टरका प्रदेश उपाध्यक्ष रुद्रहरी कुँवर, प्रेस युनियन रुपन्देहीका सभापति विक्रम खड्का, प्रेस चौतारी रुपन्देहीको उपाध्यक्ष लक्ष्मण पोख्रेल, फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापा, प्रगतिशील पत्रकार संघका रुपन्देहीका अध्यक्ष श्यामलाल पोखरेललगायतले पत्रिकालाई आफ्नो उद्देश्यमा अगाडि बढ्न शुभकामना दिए ।

वक्ताहरुले पत्रिकाले उठाएका विषयबस्तुहरुले पत्रिकाको नामलाई ओजपूर्ण बनाएको भन्दै आगामी दिनमा खोजमूलक सामाग्रीहरु पस्किनु पर्ने धारणा राखे । उनीहरुले संविधानले दिएको मौलिक अधिकार प्रयोग गर्दै गर्दा प्रहरीले पत्रकारहरुलाई हेर्ने दृष्टिकोण बदल्न जरुरी रहेको र आस्थाकै आधारमा पत्रकारहरुलाई दुःख दिन बन्द गरिनुपर्ने धारणा राखेका थिए ।

पत्रिकाका प्रकाशक सम्पादक प्रकाश डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसम्पादक शिव डुम्रेले गरेका थिए भने स्वागत पत्रकार खोमा तरामु मगरले गरेका थिए ।

२०७१ फागुन ३ गतेदेखि आफ्नो प्रकाशनको शुभारम्भ गरेको गर्जन पोष्ट साप्ताहिक निरन्तर खोजमुलक पत्रकारितामा आफ्नो कलम चलाउँदै आएको छ ।

Loading...