लालबाबुको मन्त्रालय रातारात गायव, कार्यकक्ष बाहिर अर्को बोर्ड टाँसिएपछि लालवावु दङ्ग

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेकै दिन एमालेका लोकप्रिय नेता लालबाबु पण्डित जनसंख्या तथा वातावरणमन्त्री नियुक्त भए । कार्यभार सम्हालेलगत्तै उनले उपत्यकामा मुख छोपेर हिँड्ने दिनको अन्त्य गर्ने घोषणा गरे ।

लगत्तै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरेको भन्दै विभिन्न उद्योग र कम्पनीलाई जरिमाना पनि तिराए। पदभार ग्रहणलगत्तै सकारात्मक चर्चा बटुलेका मन्त्री पण्डित सोमबार पनि मन्त्रालयकै काममा व्यस्त थिए । तर, उनी व्यस्त रहेको मन्त्रालय भने अहिले अस्तित्वमै छैन ।

सरकारले मन्त्रालयको संख्या ३१ बाट घटाएर १७ मा झारेपछि उनले सम्हालिरहेको मन्त्रालयको अस्तित्व नै सकिएको छ । वातावरण वन मन्त्रालयमा र जनसंख्या स्वास्थ्य मन्त्रालयमा गाभिएर उनको कार्यकक्ष छेउकै भवनमा नयाँ बोर्ड आइसकेको छ ।

तर, पण्डित भने सरकारले आफ्ना लागि मन्त्रालय नतोकेपछि अस्तित्वमै नरहेको मन्त्रालयको बोर्ड भएको भवनमा पुरानै मन्त्रालयको ‘नेमप्लेट’ राखेर काम गरिरहेका छन् । अहिलेसम्म मन्त्री पण्डितको नयाँ कार्यविभाजनअनुसारको मन्त्रालय तोकिएको छैन ।

पण्डित सम्हालिरहेको जनसंख्या तथा वातावरण मन्त्रालयको भवनमा पुरानै मन्त्रालयको नाम छ । तर, उनको मन्त्रालय दुईतिर परिसकेको छ । मन्त्रालय नभए पनि उनी सोमबार लामो समय कार्यकक्षमै बसेर काम गरिरहेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको बोर्ड तय भइसकेको छ । ती मन्त्रालयमा मन्त्रीको नेमप्लेट छैन । सरकारको कार्यविभाजनअनुसार ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हालिरहेका छन् ।

सोमबार संघीय संसद्का दुवै सदनलाई राष्ट्रपति कार्यालयले पठाएको पत्रमा पण्डितको जिम्मेवारी भने जनसंख्या तथा वातावरण मन्त्रालय नै उल्लेख छ । तर, दोस्रो चरणको मन्त्रिपरिषद् विस्तारमा भने नयाँ कार्यविभाजनअनुसारकै मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Loading...