लालिगामा बार्सिलोनालाई एट्लेटिकोले चुनौती दिँदै

काठमाडाैं । स्पेनिस ला लिगामा अपराजित रहेको बार्सिलोनामाथि दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले उपाधि होडमा चुनौती तेस्र्याएको छ । बिहीबार राति बार्सिलोना लास पाल्माससँग १–१ को बराबरीमा रोकिएपछि एट्लेटिकोले शीर्ष स्थानमा दाबेदारी प्रस्तुत गरेको छ । बराबरीसँगै बार्सिलोनाले ३३ खेलसम्म अपराजित यात्रा कायमै राख्यो । बार्सिलोना एट्लेटिकोभन्दा ५ अंकले अघि छ ।

उपाधि होडमा कडा टक्कर दिइरहेको एट्लेटिको आइतबार बार्सिलोनाविरुद्ध खेल्दै छ । शीर्षस्थानको अंकदुरी कम पार्न एट्लेटिकोले बार्सिलोनालाई हराउनुपर्छ । खेलमा एट्लेटिको विजयी हुँदा शीर्षस्थानको अंकदुरी २ मात्र रहनेछ । बार्सिलोनाले जित निकाल्दा स्पष्ट ८ अंकको अग्रता लिनेछ । जितसँगै बार्सिलोना उपाधिनजिक पुग्नेछ । बिहीबार बार्सिलोनाका लागि १ मात्र गोल लियोनेल मेसीले गरेका थिए । मेसीले २१औँ मिनेटमा आकर्षक फ्रिकिक गोल गरेका हुन् ।

बार्सिलोनाले लास पामसविरुद्धको खेलमा अधिकांश समय गोलको प्रयास गरेको थियो । तर, बार्सिलोनाका खेलाडीले धेरै गोल प्रयासलाई सही दिशा दिन नसक्दा बराबरी नतिजामै चित्त बुझउनुपर्‍यो । वेस्टह्यामका पूर्वस्ट्राइकर जोनाथन कालर्सले पेनाल्टी गोल गर्दै बार्सिलोनालाई १–१ को नतिजा दिलाए । दोस्रो हाफको सुरुवातमै पामसले पेनाल्टी पाएको थियो । बार्सिलोना आधा दर्जनभन्दा बढी गोलका मौकाको सदुपयोग गर्न असफल रह्यो ।

Loading...