घुस रकम बाँडफाँड नमिल्दा नापी र मालपोत कर्मचारीबीच अफिसभित्रै गोदागोद

काठमाडौं, १९ फागुन । नेपाल सरकारका अड्डाहरु भ्रष्टाचार केन्द्रका रुपमा परिणत हुँदै गएका छन् । अनेकन शैली मिलाएर सरकारी कर्मचारीहरु भ्रष्टाचार गरिरहेका छन् । नेपालका प्रशासनभित्रकाे भ्रष्टाचार संस्कारका रुपमा स्थापित हुँदै गएकाे छ । कर्मचारीहरु घुस नखाएर काम नै नगर्ने संस्कारमा अभ्यस्त छन् । यसैक्रममा कैलालीकाे एक कार्यालयमा घुस लिने कर्मचारीहरुबीच नै गाेदागाेद भएकाे छ । 

कैलालीकाे मालपाेत कार्यालय र नापी कार्यालयका क्रमचारीबीच यसरी कुटाकुट भएकाे हाे । यी दुर्इ कार्यालय हाकाहाकी घुस लिने अड्डाका रुपमा चिनिन्छन । उनीहरुबीच घुस खाएकाे रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भएको खुलासा भएकाे छ ।

कुटाकुटमा १ जना सख्त घाइते भएका छन् । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेको छ । 

समाचार अनुसार बिहीबार कार्यालय समयमै कर्मचारीबीच घूस रकम बाँडफाँटका विषयमा कुटपिट भएपछि प्रहरीले ६ कर्मचारीलाई पक्राउ गरेको थियो । ‘मालपोत कार्यालयकै एक कर्मचारीले खबर गरेपछि प्रहरीले पक्राउ गरेको हो’, कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले कान्तिपुरसँग भनेका छन्, ‘पक्राउ परेका सबै कर्मचारीले मदिरा सेवा गरेका थिए ।’

प्रहरीका अनुसार पक्राउ परेका कर्मचारीमध्ये पूर्णानन्द भट्टको दायाँ हात भाँचिएको छ । सँगै जोडिएका मालपोत र नापी कार्यालयमा कुटाकुट हुन थालेको जानकारी पाएपछि वडा प्रहरी कार्यालयबाट गएको टोलीले कार्यालयभित्रै बियर र रक्सीको बोतलसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा नवीन जोशी, पूर्णानन्द भट्ट, महादेव जोशी, वीरेन्द्र सिंह, सागर कुँबर र ज्ञानेन्द्र ओझा छन् । यीमध्ये नापी र मालपोतका कर्मचारी को–को हुन् भन्ने खुलेको छैन ।

भन्सार कर्मचारी–व्यापारी मिलेमतोः दैनिक ३५ करोड राजस्व लुट

भन्सार कर्मचारी र व्यापारीको मिलेमतोमा दैनिक ३५ करोड राजस्व राज्यले गुमाउँदै आएको छ ।

चार दिनअघि अर्थमन्त्री बनेका युवराज अतिवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरुलाई काठमाडौं बोलाएर निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिब ३५ करोड राजस्व बढी उठेकाले मिलेमतोमा दैनिक करोडौं रुपैयाँ राजस्व गमिरहेको खुलेको हो ।

मेला–पर्वबाहेक अन्य सामान्य दिनमा मुलुकभरका भन्सार कार्यालयले औसतमा ८५ करोड रुपैयाँ राजस्व उठाउँदै आएका थिए । नयाँ अर्थमन्त्रीले भन्सार प्रमुखहरुलाई निर्देशन दिएकै दिन भने राजस्व एक अर्ब २० करोडभन्दा बढी असुली भएको छ । अन्य दिनको तुलनामा शुक्रबार भएको असुली कम्तीमा ३५ करोड बढी हो । 

यो तथ्यांकका आधारमा भन्सारमा व्यापारी र कर्मचारीको मिलेमतोमा राज्यको दैनिक ३०–३५ करोड रुपैयाँ राजस्व हिनामिना हँदै आएको आशंका गरिएको छ । यो तथ्यांकलाई आधार मान्ने हो भने वर्षमा एक खर्ब २२ अर्ब रुपैयाँ राजस्व अपचलन भएको देखिन्छ ।

Loading...