किन बन्द भयो गाम्का नेपाल

गल्फ कोअपरेसन काउन्सिल (जिसिसि) ले नयाँ नियम लगाएपछि गाम्का नेपाल बन्द भएको छ । वैदेशिक रोजगारमा जाने नेपाली कामदाहरुले अब अनलाइनबाट मेडिकलका लागि आवेदन फारम भर्नु पर्ने ब्यवस्था गरिएको कारण गाम्का नेपाल बन्द भएको हो।

साउदी अरब, ओमन र बहराइन जान लागेका नेपाली कामदारहरुले अबदेखि अनलाइनमा फर्म भरेर स्वास्थ्य परीक्षण गर्न सकिने गाम्का नेपालले जनाएको छ।

गल्फ एप्रुभ्ड मेडिकल सेन्टर्स एशोसिएसन नरहने र प्रि मेडिकल चेकअप लागि www.gcchmc.org मा गएर अनलाइन बुकिङ एपोइन्टमेन्ट सिस्टममा गइ जिसिसि स्लीप जेनरेट गरी सम्बन्धित स्वास्थ्य संस्थामा गई स्वास्थ्य परिक्षण गराउन सकिने गाम्का नेपालका मोहन चौलागाईँले सेतोपाटीसँग भने। उनका अनुसार वैदेशिक रोजगारमा जाने नेपाली कामदारले जिसिसिको वेभसाइट लगअन गरेर स्वास्थ्य परीक्षण प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।

जिसिसिले अनलाइनबाट स्वास्थ्थ परीक्षणका लागि फारम भर्दा क्रेडिट कार्डबाट १० डलर बुझाउनुपर्ने नयाँ नियम ल्याएको छ। यसले कामदारहरुलाई थप आर्थिक भार परेको छ। त्यस्तै अनलाइनबाट आफूलाई पायक पर्ने स्वास्थ्थ संस्था रोज्न सकिनेछ। जिसिसिमार्फत अहिले ११ वटा मेडिकल संचालनमा छन्। पायक पर्ने मेडिकल रोजिसकेपछि त्यहाँ पुगेर स्वास्थ्थ परीक्षणका लागि ५५ सय रुपैयाँ तिर्नुपर्नेछ।

अनलाइनबाट स्वास्थ्थ परीक्षण भर्दा कामदारले तिर्ने १० अमेरिकी डलरका विषयमा सहमति नजुटेतापनि जिसिसिले अनलाइनबाट स्वास्थ्य परीक्षणका लागि प्रक्रिया अघि बढाएको छ। कामदारले तिरेको १० अमेरिकी डलर विदेशको खातामा जम्मा हुने भन्दै यस विषयमा राष्ट्र बैंकले अनुमति दिएको छैन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भने जिसिसिले स्वास्थ्थ परीक्षणका लागि ल्याएको नयाँ नियम ब्यवहारिक नभएको बताएको छ। कामदारले अनलाइनबाट स्वास्थ्थ परीक्षणका लागि फाराम भर्न र कामदारहरुसँग क्रेडिट कार्ड बनाउने सामर्थ्य,अनुमति नहुनुको कारण कामदारहरुलाई आर्थिक भार पर्ने र असहज हुँदा साउदी, ओमन र बहराइन जाने बन्द हुने संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए।

गल्फ काउन्सिलका अनुसार नेपाल, श्रीलंका, इंडोनेशिया, इजिप्टमा रहेको गाम्का कार्यालय खारेज भएको जानकारी पत्रलाई हेर्ने हो भने अन्य भारत, बंगलादेश, पाकिस्थान फिलिपिन्स जस्ता मुलुकमा गाम्का मेडिकल छैनन्।

त्यसैले नेपाल सरकारले गल्फ काउन्सिलसँग पहल गरि यसलाई यही बेला नेपाल बाट हटाउनु उपयुक्त हुने गुरुङले बताए। अहिले एक वर्षमा यी ३ वटा देशहरुमा कम्तीमा १ लाख नेपाली जाने गरेका छन् । गत फेब्रुअरी ५ बाट युएइले पनि स्वास्थ्थ परीक्षणका नाममा रजिष्ट्रेसन भन्दै ४३ सय बढी लिइरहेको छ।

जुन महिनामा कतार जाने कामदारले पनि थप आर्थिकभार ब्यर्होनुपर्ने गरि स्वास्थ्य चेक र रेजिडेन्ट कार्डको नाममा संस्था खडा गरिन लागेको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघ भने स्वास्थ्थ परीक्षणका नाममा कामदारहरुमाथि आर्थिक भार थपिरहेको र अनाबश्यक सिन्डिकेट खडा गरेको भन्दै त्यसको विरोधमा छ।

विदेश जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा देखिएको यस्ता किसिमका समस्या समाधान गर्न सरकारले चासो देखाउनुपर्ने संघका अध्यक्ष रोहन गुरुङले बताए । ‘नीतिगत अब्यवहारिक निर्णयलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर हामीले समय समयमा प्रधानमन्त्री, श्रम मन्त्री, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग सबैलाई जानकारी गराएका छौं, ‘गुरुङले भने, ‘समस्या जस्ताको त्यस्तै हुनु दुखद छ।’

केपी ओली प्रधानमन्त्री रहेको मन्त्रीमण्डल र नयाँ श्रम मन्त्रीले कामदारका स्वास्थ्थ परीक्षणका नाममा भइरहेको लुट अन्त्य गर्नुपर्ने र यावत नितिगत समस्या समाधान गर्नु पर्ने गुरुङले बताए।

म्यानपावर व्यवसायी र श्रम विज्ञहरुले भने सरकारले नै यस विषयमा मापदण्ड बनाएर सरकारी अस्पतालबाट कामदारको स्वास्थ्य परीक्षण गरेर विदेश पठाउनुपर्ने बताएका छन्।

Loading...