१० अर्ब १५ करोड रुपैयाँ बिमाबाट उठ्यो

काठमाडौं, १९ फागुन । चालू आर्थिक वर्ष ०७४-७५ को दोस्रो त्रैमासिकसम्म निर्जीवन बिमा कम्पनीहरूको बिमाशुल्क आम्दानी औसतमा २१ प्रतिशतले बढेको छ । सो अवधिमा सञ्चालनमा आएका १७ निर्जीवन कम्पनी (नेसनल जनरल इन्स्योरेन्सबाहेक)ले करिब १० अर्ब १५ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १६ प्रतिशतले बढी हो । गत आवमा कम्पनीहरूले ८ अर्ब ७३ करोड रुपैयाँ आम्दानी गरेका थिए ।

नेपालमा सञ्चालित बिमा कम्पनीहरूको व्यवसाय हरेक वर्ष बढ्दै गएको छ । सरकारले यात्रु पक्ष बिमांक रकम बढाएपछि यो आवमा निर्जीवन कम्पनीहरूको व्यवसाय पनि राम्रो हुने देखिएको बिमकहरूको भनाइ छ । त्यस्तै, सर्वसाधारणमा बिमासम्बन्धी चेतना बढ्दै जानु, नयाँ कम्पनीहरू थपिँदा थप प्रतिस्पर्धा हुनु र मानिसको आम्दानीस्तरमा सुधार हुँदै जानुले कम्पनीहरूको व्यवसाय वृद्धि भएको युनाइटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले बताए ।

चालू आवको पुस मसान्तसम्ममा कम्पनीहरूले आम्दानी गरेको बिमाशुल्क रकमलाई आधार मान्दा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बिमाशुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले १ अर्ब ६२ करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेको छ । त्यस्तै, दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स परेको छ । सो कम्पनीले उक्त अवधिमा ८७ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ । तेस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सले ८६ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ । चौथोमा नेको इन्स्योरेन्स र पाँचौँमा प्रिमियर इन्स्योरेन्स कम्पनी धेरै आम्दानी गर्ने कम्पनीको रूपमा देखिएका छन् । उक्त अवधिमा यी कम्पनी क्रमशः ८० करोड ९८ लाख र ७७ करोड ४८ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

कम्पनीहरूले आम्दानी गरेको बिमाशुल्कको वृद्धिदरको आधारमा हेर्ने हो भने एभरेस्ट इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै वृद्धि गरेको छ । गत आवको सोही अवधिको तुलनामा चालू आवमा कम्पनीको बिमाशुल्क आम्दानीको दर करिब साढे दुई गुणाले बढेको छ । उक्त अवधिमा कम्पनीले २६ करोड ६८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ११ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, राष्ट्रिय बिमा संस्थानको बिमाशुल्क ३६ प्रतिशतले बढेको छ भने सगरमाथा इन्स्योरेन्सको ३१ प्रतिशतले बढेको छ । साथै, आइएमई जनरल इन्स्योरेन्स र नेको इन्स्योरेन्सको क्रमशः २७ र २५ प्रतिशतले बढेको छ ।

सवा लाख बिमालेख जारी

दोस्रो त्रैमासिक अवधिमा कम्पनीहरूले १ लाख १५ हजार १ सय ६८ वटा बिमालेख जारी गरेका छन् । यो संख्या गत आवको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले बढी हो । गत आवमा कम्पनीहरूले ७ लाख ८३ हजार ७ सय ७ वटा बिमालेख जारी गरेका थिए । उक्त अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले १ लाख ४१ हजार ७ सय ९१ वटा बिमालेख जारी गरेको छ । दोस्रोमा नेको इन्स्योरेन्सले १ लाख ३२ हजार ४ सय ५४ वटा बिमालेख जारी गरेको छ । प्रिमियरले ९४ हजार ४ सय ४७ वटा बिमालेख जारी गरेको छ । त्यस्तै, सबैभन्दा धेरै बिमालेख जारी गर्नेमध्येमा एनएलजी चौथो र सिद्धार्थ पाँचौँमा परेका छन् । यी कम्पनीले क्रमशः ८३ हजार ७ सय ४३ र ७६ हजार ७ सय २१ वटा बिमालेख जारी गरेका छन् ।

कम्पनीहरूको बिमालेख नवीकरण हुनेक्रम भने ११ प्रतिशतले बढेको छ । चालू आवको दोस्रो त्रैमासिक अवधिमा कम्पनीहरूले १ लाख ४९ हजार ४ सय ८६ वटा बिमालेख नवीकरण गरेका छन् । गत आवको सोही अवधिमा कम्पनीहरूले जम्मा १ लाख ३४ हजार ५ सय ७८ वटा बिमालेख नवीकरण गराएका थिए ।

एक वर्षमा साढे १ अर्ब मात्रै भुक्तानी

चालू आवको दोस्रो त्रैमासिकसम्ममा कम्पनीहरूले विमितको १२ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छैनन् । १५ निर्जीवन बिमा कम्पनीले १२ अर्ब ६२ लाख रुपैयाँ भुक्तानी नगरेको वित्तीय विवरणले देखाएको छ । यो रकम ३० हजार ४ सय ३३ वटा दाबीको हो । १ वर्षको अवधिमा कम्पनीहरूले जम्मा १ अर्ब ६१ करोड मात्रै दाबी भुक्तानी गरेका छन् ।

दाबी भुक्तानी औसत १३ प्रतिशतले वृद्धि

चालू आवको दोस्रो त्रैमासिक अवधिमा निर्जीवन बिमा कम्पनीहरूको दाबी भुक्तानी औसत १३ दशमलव २३ प्रतिशतले बढेको छ । सो अवधिमा १६ निर्जीवन बिमा कम्पनीले ४ अर्ब ३२ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । गत आवको सोही अवधिमा कम्पनीहरूले ३ अर्ब ८० करोड रुपैयाँ मात्रै भुक्तानी गरेका थिए । एक वर्षको अवधिमा कम्पनीहरूले ३ हजार ४ सय १४ वटा दाबीको भुक्तानी गरेका छन् । कम्पनीहरूले जारी गरेको वित्तीय विवरणअनुसार चालू आवको दोस्रो त्रैमासिक अवधिमा कम्पनीहरूले २५ हजार ४ सय ३० बिमादाबी भुक्तानी गरेका हुन् । गत आवको सोही अवधिमा कम्पनीहरूले २२ हजार १६ वटा दाबीको भुक्तानी गरेका थिए ।

Loading...