भाइबरबाट २५ लाखको लट्री परेको म्यासेज, लट्रीको लोभमा १० लाख झ्वाम्म

ठगीको यो अनौठो नयाँ धन्दा

काठमाडौं, १९ फागुन । भाइबरबाट लट्री परेको सूचना पठाएर १० लाख ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।

उनीहरूले २५ लाखसम्म लट्री परेको सूचना भाइबरबाट पठाउने गरेका थिए । लट्री परेको भन्दै रकम माग्ने मुख्य योजनाकार भने अझै पक्राउ परेका छैनन् ।

इलाका प्रहरी कार्यालय धरानले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सहयोगमा विराटनगर र काठमाडौंबाट उनीहरूलाई पक्राउ गरेको हो । धरानका रमेशकुमार श्रेष्ठको जाहेरीका आधारमा विराटनगर र काठमाडौँबाट पाँचजना पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए । पैसा रिसिभ गर्ने पक्राउ परे पनि मुख्य योजनाकार भने भारत या पाकिस्तानमा रहेको हुनसक्ने प्रहरीको अनुमान गरिएको छ ।

पक्राउ पर्नेमा विराटनगरका २३ वर्षीय असिम महत, उनी आमा ४० वर्षीय अनिता महत (राउत), नवलपरासी घर भई काठमाडाैँ बस्ने ३० वर्षीय यसकुमार थापा मगर, लम्जुङ घर भई काठमाडाैँ बस्ने ३७ वर्षीय प्रितम गुरुङ र बाग्लुङ घर भई काठमाडौं बस्ने टीकाराम जैसी छन् । महत आमा छोरालाई गत १० माघमा विराटनगरबाट पक्राउ गरिएको डिएसपी पौडेलले जानकारी दिए । उनीहरूकै बयानका आधारमा १४ फागुनमा थापा र गुरुङ तथा १५ फागुनमा जैसी काठमाडौंबाट पक्राउ परेका हुन् ।

पक्राउ गरेका असिम महत दिल्लीमा बसेर अध्ययन गरी झन्डै डेढ वर्षअघि नेपाल फर्किएका थिए । यसकुमार भने भारतको केरालामा चौकीदार गर्दै आएका थिए । उनी हाल कीर्तिपुरमा डेरा लिएर संगठित रूपमा ठगीमा लागेको पाइएको प्रहरीले जनाएको छ । गुरुङ भारतीय सेनाका हवल्दार हुन । उनी रिटायर भएपछि काठमाडौं बस्दै आएका थिए ।

उनीहरूले लिएको केही रकम भारतीय बैंकमा पनि जम्मा गरेको पाइएको डिएसपी पौडेलले बताए । भाइबर गर्ने व्यक्तिले भने पाकिस्तानी नम्बर प्रयोग गरेको देखिन्छ । उनका अनुसार ठगीको गिरोह नेपाल, भारत र पाकिस्तानमा बसेर धन्दा चलाइरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

‘मुख्य योजनाकार भाइबर चलाउने देखिएको छ,’ डिएसपी पौडेलले भने, ‘भाइबर चलाउने व्यक्तिको खोजी भइरहेको छ, पञ्जाव बंैकमार्फत पैसा रिसिम गर्ने व्यक्तिलाई पक्राउ गर्न भारतीय प्रहरीसँग समन्वय भई पत्राचार गरिएको छ ।’ अन्य जिल्लामा पनि पीडित हुनसक्ने भएकाले ७७ वटै जिल्लामा उजुरी गर्नका लागि माताहतका निकायमार्फत खबर गरिएको उनले जानकारी दिए ।

पाकिस्तानी नम्बरबाट म्यासेज

धरानका रमेशकुमारलाई पाकिस्तानी मोबाइल नम्बर ००९२३०७७७३५५८२ मार्फत भाइबरबाट २५ लाख लट्री परेको भन्दै बधाईसहितको म्यासेज आयो । आकाश बर्मा नाम बताउने व्यक्तिले फोन गरी लट्रीको पैसा ट्रान्सफर गर्न पहिलो किस्ता ४५ हजार बुझाउनुपर्ने प्रस्ताव राखे ।

२५ लाखको लोभले चार किस्ता गरी उनले दुई लाख ९० हजार बुझाए । बर्माले उनलाई आइएमईबाट पैसा पठाउन लगाएका थिए । अन्तिम किस्ता ४० हजार बुझाएपछि मात्र २५ लाखको चेक आउने भन्दै बर्माले फेरि फोन गरे । त्यसपछि भने रमेशलाई चिसो पस्यो । उनी इलाका प्रहरी कार्यालय धरान पुगेका थिए ।

विराटनगरबाट पक्राउ परेका महत आमाछोराले लिएकोमध्ये ९० हजार भारु भारतीय बैंकमा जम्मा गरेको भौचर प्रहरीले बरामद गरेको छ । उनीहरूले जोगमुनीस्थित पन्जाब नेसनल बैंकको खातामा राजा भनिने व्यक्तिको नाममा ४५ हजार भारु र पूजाकुमारीको नाममा ४५ हजार भारु जम्मा गरेको पाइएको प्रहरीले जनाएको छ ।

भाइबरकै सहयोगमा पक्राउ

प्रहरीले रमेशकुमार श्रेष्ठलाई भाइबरमा आएको सन्देशअनुसार थप ४० हजार आइएमई गर्न सल्लाह दियो । सन्देश पठाउने आकाश बर्माले भाइबरमा सम्पर्क गरी विराटनगरकी अनिता महतलाई पैसा बुझाउन भने । उनले प्रभु मनी ट्रान्सफरबाट विराटनगर पैसा पठाए ।

तर, ‘पैसा दिनुअघि प्रहरीलाई खबर गर्नू’ भन्ने सन्देश प्रहरीले सो मनी ट्रान्सफरका सेवा केन्द्रमा पठाउन लगायो । विराटनगरस्थित रोयल मनी चेन्जरले ग्राहक पैसा लिन आएपछि प्रहरीलाई खबर गर्‍यो । ग्राहकलाई भने अलमल्याएर राख्यो ।

पैसा लिन पुगेकी अनितालाई क्षेत्रीय ब्युरोको टोलीले तत्काल पक्राउ गर्‍यो । उनकै सहयोगमा छोरा असीम पनि पक्राउ परे । उनीहरूका घरबाट एक लाख ९० हजार नगद र विभिन्न समयमा विभिन्न स्थानबाट १० लाख ३६ हजार नौ सय रुपैयाँ लिएको रिसिभ भौचर बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले असीम महतलाई ‘प्राप्त गरेको रकम कहाँ पठाउने ?’ भनेर भाइबर चलाउनेलाई सोध्न लगायो । उसले काठमाडाैका यसकुमारलाई पठाउन भन्यो । बालाजुमा रहेको रोयल मनी चेन्जरमा पैसा लिन पुगेका यसकुमार पनि पक्राउ परे ।

भाइबर प्रयोग गर्ने व्यक्तिले एस कुमारलाई सो रकम प्रितमबहादुर गुरुङलाई बुझाउन भनेका थिए । गुरुङले यसकुमारलाई रकम बुझाउन कलङकीस्थित मालपोत कार्यालयअगाडि बोलाए । त्यहीँबाट प्रहरीले गुरुङलाई पक्राउ गर्‍यो ।

पैसा फेरि टीकारामलाई बुझाउनु भनेपछि भोलिपल्ट कलंकीकै बाबा पेट्रोल पम्पअगाडि बोलाए । टीकारामसम्म प्रहरी पुग्दा भाइबरवालाले ‘साथीहरूलाई प्रहरीले समातिसकेछ भाग’ भनेर खबर पठाएका थिए । तर, त्यो खबर आउनुअगावै टीकाराम प्रहरी फन्दामा परिसकेका थिए ।

टीकारामले सबै पैसा आफूले लिने गरेको बताउँदै आएका छन् । पक्राउ परेकाहरूलाई इप्रका ल्याएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत सुनसरीबाट बिहीबार म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी पौडेलले जानकारी दिए । नयाँ पत्रिकाबाट

Loading...