माओवादी केन्द्रको विद्यार्थी संगठन फुट्यो रायमाझीको नेतृत्वमा अर्को छुट्टै केन्द्रीय समिति

काठमाडौँ । अखिल (क्रान्तिकारी) पुर्नगठनको पहिलो राष्ट्रिय भेला सम्पन्न भएको छ । बुधबार काठमाडौँमा सम्पन्न भेलाले आलोक रायमाझीको संयोजकत्वमा ४० सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति चयन गरेको छ ।

नेकपा माओवाद केन्द्र एमालेमा विलय भएको भन्दै नेता गोपाल किरातीले माओवादी केन्द्रको पुर्नगठन गरेसँगै विद्यार्थी संगठन पुर्नगठन गरिएको हो ।

माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको मुल नेतृत्व शैक्षिक क्षेत्रका मुद्दा छोडेर पार्टी नेतृत्वसँगै दक्षिणपन्थी गठबन्धनमा समाहित भएको कारण आफूहरुले विद्यार्थी संगठन पुर्नगठन गर्नु परेको संयोजक रायमाझीले बताए ।

भेलालाई शुभकामना दिँदै नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले भेला क्रान्तिकारी कम्युनिस्टहरुको मिलनको सितु भएको बताए । राज्यले निषेधको नीति लिएको बताउँदै महासचिव किरणले शान्तिभन्दा क्रान्ति निम्त्याउने बताए । उनले प्रचण्ड दक्षिणपन्थी संशोधनवादमा भासिएको बताए ।

माओवादी नेता लोकेन्द्र विष्टमगरले माओवादी केन्द्र र एमालेको एकतालाई दक्षिणपन्थीहरुको गठजोड भएको बताउँदै क्रान्तिकारीहरु एकजुट हुनुपर्ने धारणा राखे ।

त्यसैगरी माओवादी केन्द्र एमालेकरण भएको भन्दै राजिनामा दिएका नेता विश्वभक्त दुलाल ‘आहुती’ भेलालाई शुभकामना दिँदै प्रचण्ड–नारायणकाजी दक्षिणपन्थी संशोधनवाद पतन भइसकेको बताउँदै विरोध गर्नुको अर्थ नभएको बताए । उनले क्रान्तिहरु ध्रुबिकरणलाई जोड दिए ।

भेलालाई शुभकामना दिँदै नेकपा निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष लालबहादुर तामाङले क्रान्तिकारी ध्रुबमा रहेका विद्यार्थी संगठनहरुसँग सहकार्य र संयुक्त मोर्चा बनाएर शैक्षिकका विकृति विसंगतिविरुद्ध आन्दोलन गर्न आफूहरु तयार रहेको बताए ।

भेलाको बन्द शर्तलाई सम्बोधन गर्दै पुर्नगठित माओवादी केन्द्रका संयोजक गोपाल किरातीले दक्षिणपन्थी संशोधनवादविरुद्ध शसक्त रुपमा अगाडि बढ्न विद्यार्थी नेताहरुलाई निर्देशन दिए । माओवादी र पहिचानको मुद्दालाई स्थापित गर्न देशभर संगठन विस्तार गर्दै नयाँ आन्दोलन सृष्टि गर्नुपर्ने किरातीले आवश्यकता रहेको औल्याए ।

संयोजक रायमाझीले शैक्षिक क्षेत्रमा मौलाइरहेको दलाली र माफियाकरणविरुद्ध आन्दोलनसँगै संगठन पुर्नगठन गर्ने अभियान चलाउने बताए । उनल अाफूहरु असली क्रान्तिकारी भएको बताउँदै संगठनको नाम अखिल क्रान्तिकारी नै राख्ने बताए ।

Loading...