मानव बेचविखनका समस्या कम गर्न सामाजिक र आर्थिक कारण खोज्नुपर्नेमा जोड

काठमाडौ । मानव बेचविखन तथा बालबालिकामाथिको यौन शोषणलाई कम गर्न मिडियाको ठूलो भूमिका हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । १०८ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सहभागीहरुले बेचिएका बालबालिका वा डान्सबार तथा रेष्टुरेन्टमा काम गर्नेहरुका कथा लेखेर यस्ता समस्याको समाधान नहुने भन्दै यसका पछाडिका सामाजिक आर्थिक कारणहरु मिडियाले गहिरोगरी उठान गर्नुपर्नेमा जोड दिए ।

महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समुह–नेपाल (एटविन)ले लाजिम्पाटमा आयोजना गरेको कार्यक्रममा थुप्रै सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । मानव बेचबिखन तथा व्यवसायिक बाल यौन शोषणविरुद्ध संचारकर्मीसँग संवाद नाम दिइएको उक्त कार्यक्रमका सहभागी पत्रकार एवं अधिकारकर्मीले मानव बेचबिखन एउटा गभीर अपराध भएकोले मुलुकमा शान्ति र स्थिरता एवं सभ्य समाज निर्माणका लागि सो अपराध रोक्नुपर्ने दायित्व संचार एवं सबै पक्षको भएको बताए ।

मानव बेचबिखनलाई राज्यले जघन्य अपराधको रूपमा लिएको छ भने नेपालमा सीमानापारीको बेचबिखनका साथसाथै आन्तरिक बेचबिखनले पनि गम्भीर रूप लिंदै गएको छ ।

मानव बेचबिखनको जोखिममा धेरै संख्यामा महिला तथा बालबालिका पर्ने भए तापनि आन्तरिक बेचबिखनमा बढी बालबालिकाहरू पर्ने गरेका छन ।

एटविनकी अध्यक्ष अञ्जना शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी निर्देशक बेनुमाया गुरुङले प्रस्तुत गरेको कार्यपत्रमा भनिएको छ, “आन्तरिक बेचबिखनको उद्देश्य श्रम शोषण तथा यौन शोषण गर्नु रहेको हुन्छ र अन्य विभिन्न कामका लागि पनि गरिन्छ त्यसमा बालबालिकाहरूको व्यवसायिक यौन शोषण पनि रहेको छ ।”

बरिष्ठ पत्रकार टंक पन्तले सहजीकरण गरेको कार्यक्रममा काठमाडौंको यौन व्यवसायमा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूको ११ देखि २० प्रतिशतसम्म पुगेको बताइएको छ ।

आइएलओ÷आइपेकका अनुसार नेपालबाट वर्षेनी १० हजार देखि १२ हजार सम्म महिला तथा बालबालिकाहरूको बेचबिखन हुने गरेको छ भने राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो राष्ट्रिय प्रतिवेदनले २३ हजार २ सय पीडित मध्ये ६ हजार १ सय बेचबिखनमा परेको र तीमध्ये करीब ६० प्रतिशत महिला तथा बालिका तथा लगभग ४० प्रतिशत पुरुष तथा बालक रहेको जनाएको छ ।

मानव बेचबिखन संबन्धी नेपाल प्रहरीमा २०७३÷०७४ मा दर्ता भएका मुद्दा २२७ छन भने काठमाडौ उपत्यकाभित्र मात्रै क्याबिन रेस्टुरेन्ट, दोहोरी रेस्टुरेन्ट, डान्स रेस्टुरेन्ट र मसाज पार्लरको संख्या करिब १२ सय पुग्न सक्ने र ती संस्थाहरूमा काम गर्ने करिब ५० हजार कामदार संलग्न रहेको र ती मध्ये ८० प्रतिशत महिला कामदार रहेका छन ।

नेपालमा आन्तरिक र बाह्य रुपमा ओसारपसार तथा बेचबिखनको स्थिति विद्यमान रहेको छ ।मानव बेचबिखन तथा बालबालिकाहरूको व्यवसायिक यौन शोषण एक सभ्य समाज र जिम्मेवार व्यक्तिलाई यो कदापि पनि स्वीकार्य हुन सक्दैन ।

राज्यले नुवाकोटका सुनबहादुर तामाङ जस्ता मानव बेचबिखन गर्ने कार्यमा सम्लग्न अपराधीलाई कारवाही गर्नुको सट्टा संरक्षण गर्ने र उनीहरुलाई पुरस्कृत गर्ने गरेको छ । सुनबहादुर २० वर्षभन्दा बढी समयदेखि यस्ता कार्यमा सम्लग्न हुँदै आएको पुष्टि भइसकेको छ । साथै उनले भारतका विभिन्न ठाउँमा ४ वटा कोठी समेत सञ्चालन गरेको थाहा भएको छ । उनका कोठीमा उम्केर आएका केही महिलाहरुले उनका विरुद्ध किटानी जाहेरी हालेपछि अदालतले समेत उनलाई जेल सजायको फैसला गरिसकेको छ । तर, उनी यसअघि सम्पन्न भएको स्थानीय निकायको निर्वाचनमा गाउँपालिकाको वार्ड अध्यक्षमा निर्वाचित भए । बुधवार भएको कार्यक्रममा यस्ता दोषीलाई कारवाही गरी पीडितलाई न्याय दिनुपर्नेमा सहभागीहरुले जोड दिए ।

कार्यक्रममा एटवीन कार्यसमिति सदस्य इन्द्रराज भटराईले स्वागत एवं उद्धेश्यमाथि प्रकाश पार्दै मानव बेचबिखन एवं बाल यौनशोषण जस्ता घटना र यसबारे मिडियाले उठाउने गरेका विषयले पारेका सकारात्मक नकारात्मक प्रभावका बारेमा चर्चा गरेका थिए ।

Loading...