नेपालमा इन्टरनेट प्रयोगकर्ता ३ गुणा बढे

काठमाडौ । इन्टरनेट प्रयोगकर्ताको संख्या ५ वर्षमा तीन गुणा बढेका छन् । दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार २०६९ मंसिर अन्त्यसम्ममा ५२ लाख ७८ हजार ३ सय ७४ रहेको इन्टरनेट प्रयोगकर्ताको संख्या बढेर एक करोड ६७ लाख ३३ हजार पुगेको छ ।

५ वर्षअघि नेपालको इन्टरनेट प्रयोगकर्ता दर (इन्टरनेट पेनिट्रेसन रेट) करिब २० प्रतिशत थियो भने यो वर्षको मंसिरको तथ्यांकअनुसार यो दर ६३ प्रतिशत पुगेको छ ।

कुल जनसंख्यालाई इन्टरनेट प्रयोगकर्ताको संख्याले भाग गरी यो प्रतिशत निकाल्ने गरिन्छ । तर, नेपालको जनसंख्या गणना पछिल्लो पटक २०६८ मा भएकाले अहिलेको प्रतिशत निकाल्दा पनि सोही जनसंख्यालाई आधार मानिएको छ । उक्त जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार छ ।

५ वर्षअघि नेपाल टेलिकमबाट इन्टरनेट प्रयोग गर्ने संख्या २२ लाख ३७ हजार थियो । तीमध्ये टेलिकमको डाटा प्रयोग गर्नेको संख्या २१ लख ४५ हजार थियो । अहिले यो संख्या बढेर क्रमश: ९० लाख र ८६ लाख पुगेको छ । टेलिकम सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक पनि हो ।

इन्टरनेट सेवा प्रदायकको हिसाबले निजी लगानीको एनसेल दोस्रो नम्बरमा छ । उसको अहिले कुल इन्टरनेट प्रयोगकर्ता करिब ७२ लाख भएको टेलिकम प्राधिकरणले जनाएको छ । ५ वर्षअघि एनसेलको इन्टरनेट प्रयोगकर्ता २७ लाख मात्रै थिए । टेलिकम र एनसेल दुवैको इन्टरनेट प्रयोगकर्ता डाटा केन्द्रित छन् । पछिल्लो समय दुवै कम्पनीका डाटा प्रयोगकर्ता बढ्दो छ । र, उनीहरूले प्रयोगकर्तालाई डाटा प्रयोगका लागि प्रोत्साहित गर्न विभिन्न अफर दिइरहेका छन् ।

टेलिकमका कुल जीएसएम (मोबाइल) ग्राहकमध्ये करिब ५३ प्रतिशतले डाटा इन्टरनेट प्रयोग गर्छन् । उसको कुल जीएसएम ग्राहक एक करोड ६२ लाख छन् । यस्तै, एनसेलका डाटा प्रयोगकर्ता करिब ४४ प्रतिशत छन् । उसको कुल ग्राहक एक करोड ६४ लाख ३३ हजार छन् । एनसेलले प्रयोगकर्तालाई डाटा इन्टरनेट मात्रै उपलब्ध गराउँदै आएको छ भने टेलिकमले डाटा इन्टरनेटबाहेक एडीएसएल, सीडीएमए र वाइम्याक्स प्रविधिमा समेत इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो समय नेपाल टेलिकमले आफ्नो बजार हिस्सा पनि बढाएको छ । कुल इन्टरनेट बजारमा उसको हिस्सा ५३ प्रतिशत छ । यस्तै, एनसेलले करिब ४३ प्रतिशत हिस्सा ओगटेको छ । दुई सेवा प्रदायकले फोनसहित नेपालको इन्टरनेट बजारका ९६ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन् ।

५ वर्षे अवधिमा अन्य इन्टरनेट सेवा प्रदायक (आईएसपी) ले पनि आफ्नो बजारलाई दोब्बर बनाएका छन् । ५ वर्षअघि उनीहरूको बजार उपस्थिति एक प्रतिशत मात्रै थियो । उनीहरूले अहिले साढे तीन लाख जनसंख्यालाई इन्टरनेट सेवा दिइरहेका छन् । आईएसपीहरूमध्ये सबैभन्दा धेरै ग्राहक वल्र्डलिंक कम्युनिकेसनसँग छ । तथ्यांकअनुसार वल्र्डलिंकका एक लाख ४७ हजारभन्दा बढी ग्राहक छन् । यस्तै, ६३ हजार बढी ग्राहकसहित सुबिसु केबल नेट दोस्रो ठूलो इन्टरनेट सेवाप्रदायक बनेको छ । ४२ हजार आठ सय प्रयोगकर्ता भएको भायानेट कम्युनिकेसन्स तेस्रो ठूलो इन्टरनेट सेवाप्रदायक बनेको छ । भायानेटले ग्राहकलाई फाइबर इन्टरनेट मात्रै उपलब्ध गराउँछ ।

Loading...