महिला बालबालिका मन्त्री थापाको परिषदलार्इ यस्तो निर्देशन

काठमाडौं, १४ फागुन । महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले परिवर्तित समय अनुसार उदेश्य तथा कार्यक्रम परिवर्तन गर्दै बहुसंख्यक जनताको हितमा काम गर्नुपर्ने बताएकी छन् । समाजकल्याण परिषदले नवनियुक्त मन्त्री तथा परिषद अध्यक्षको स्वागतमा अायाेजना गरेकाे कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले साे निर्देशन दिएकी हुन् । 

परिषदकाे कार्यालयमा प्रथम भेट गर्दै थापाले पञ्चायतकालदेखि गणतन्त्रसम्म परिषदले गरेको कामको मिहिन ढङ्गले समीक्षा गरी समयको माग एवं संबिधानको मर्म अनुरुप अगाडि बढ्नुपर्ने निर्देशन दिइन । 

गरिब र निमुखाले न्याय पाउन् भन्ने पबित्र उदेश्यले पञ्चायतकालमा समाज कल्याण परिषद स्थापना भएको स्मरण गर्दै नेकपा एमालेकी नेतृ समेत रहेकी मन्त्री थापाले नेपालमा गणतन्त्र स्थापना भए पनि समाजकल्याण परिषद लक्षित वर्गसम्म पुग्न नसकेको बताइन ।

नेपाली जनताले आफ्नो रगत पसिना बगाएर संबिधान सभाबाट संविधान जारी भएको भन्दै उनले भनिन्- ‘संविधानमा श्रमजीवी जनताको अधिकार प्रत्याभूत गर्नका लागि संबिधानले समाजवाद उन्मूख समाजको परिकल्पना गरेको छ । यसकारणले गर्दा पनि संविधानले निर्देशन गरे वमोजिम हाम्रा नीति कार्यक्रम र व्यवहारहरु हुन आवश्यक छ ।’

मन्त्री थापाले कम्तिमा पनि पाँच वर्षसम्म स्थिर सरकार चल्ने र सो अबधिमा समाज कल्याण परिषदले लक्षित वर्गका लागि मात्र काम गर्ने गरी कार्यक्रम बनाएर जानुपर्नेमा जाेड दिइन । 

परिषदका कर्मचारीले मन, वचन र कर्मले सेवा गर्नुपर्ने भन्दै उनले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने आवश्यकता औंल्याइन् । हिजोका दिनमा जस्तो अन्यौलतामा नभएर आउने दिनमा आर्थिक, सामाजिक र साँस्कृतिक रुपले देशलाई आमूल परिवर्तन गर्न आफ” लागि पर्ने उनकाे भनाइ थियाे । 

सो अबसरमा परिषदका सदस्यसचिव डिल्लीप्रसाद भट्टले नबनियुक्त अध्यक्षलाई स्वागत गर्दै समाज कल्याण ऐन २०४९ बमोजिम समाजकल्याण परिषद सञ्चालन भइरहेको र गैरसरकारी संस्था र सरकारको बीचमा समन्वयकारी भूमिका खेल्दै परिषदले गैरसरकारी निकायको नियमनकारी निकायको रुपमा काम गरेको धारणा ब्यक्त गरे ।

परिषदका कोषाध्यक्ष बीरबहादुर ठगुन्नाले नयाँ संरचना अनुसार आफूहरु काम गर्न तयार रहेको विचार व्यक्त गरे । सबै स्थानीय तहमा समाज कल्याण परिषदका संरचनाहरु निर्माण गरी जनतालाई सर्बसुलभ सेवा प्रवाह गर्नुपर्ने उनको धारणा थियो ।

 

Loading...