केपीले कसैलार्इ पनि उपप्रधानमन्त्री नबनाउने, अर्थमन्त्री बन्न एमालेमा ठूला नेताबीच हानथाप

काठमाडाैं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा अाेलीले अाफ्नाे सरकारमा कसैलार्इ पनि उपप्रधानमन्त्री नबनाउने भएका छन् । यसअघि प्रधानमन्त्री हुँदा ६ जनासम्म उपप्रधानमन्त्री बनाएपछि निकै अालाेचना खेपेका अाेलीले यसपटक कसैलार्इ उप नबनाउने बताएका हुन् ।

त्यसका लागि अाेलीले साझेदार दल  माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगसमेत छलफल गरिसकेकाे बताइएकाे छ । प्रचण्डले पनि अाेलीलार्इ यसमा सहमति दिइसकेकाे एमाले स्राेतकाे दावी छ । ओलीले अध्यक्ष दाहालसँग आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटरमा नै करिव एक घण्टा एक्लै भेट गरी सरकार विस्तारका विषयमा छलफल गरेका थिए। उक्त भेटमा ओली र दाहालबीच दुवै पार्टीले सरकारमा पठाउन खोजेका मन्त्रीको प्रारम्भिक नाम र सरकारको नीति तथा कार्यक्रमका विषयमा कुराकानी भएकाे थियाे ।

माअाेवादी केन्द्रबाट उपप्रधानसहित मन्त्री बन्न धेरैले अाकांक्षा देखाएका कारण पनि प्रचण्डले उपप्रधान नबनाउने सहमति अाेलीसँग गरेकाे पनि एक स्राेतले जानकारी दिएकाे छ । माअाेवादी केन्द्रका तर्फबाट नेताहरु रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, वर्षमान पुन, जनादर्न शर्मा, शक्ति बस्नेत, टाेपबहादुर रायमाझीसहितका नेता उपप्रधानसहित मन्त्री बन्न प्रचण्डमाथि दवाव दिइरहेका छन् । यदि उपप्रधान नराखेर मन्त्री बनाइएमा यसकाे समाधान हुने प्रचण्डकाे बुझाइ रहेकाे बताइन्छ ।

यसैबीच प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिन पार्टी नेताहरूसँग अन्तिम परामर्श गरेका छन् । ओलीले प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि दाेस्राे चरणमा मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर उनले मन्त्रिपरिषद विस्तार गर्दैछन ।

‘सोमबार बेलुकीसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने सम्भावना छ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘स्थायी समितिको निर्णयपछि प्रधानमन्त्रीले पार्टीका वरिष्ठ नेताहरूसँग पनि परामर्श गरिसक्नुभएको छ । सोमबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ ।’

मन्त्री बन्न एमालेका सांसदहरु अन्तिम रस्साकस्सीमा लागेका छन् । माओवादीमा प्रत्यक्ष जितेका अधिकांशले मन्त्रीको आकांक्षा देखाएका छन् । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग मन्त्रिपरिषद् विस्तारमा केन्द्रित रहेर परामर्श गरेका छन् ।

नेताहरूले प्रधानमन्त्रीलाई सहज हुने गरी पार्टीबाट योग्य, क्षमतावान, प्रादेशिक सन्तुलन र समावेशिताको पक्षलाई समेत ध्यान दिएर मन्त्री चयन गर्न सुझाब दिएका छन् । प्रधानमन्त्रीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रालय भागबन्डा टुंगो लगाइसकेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित एमालेले ११ र माओवादीले ७ मन्त्रालय लिने गरी सहमति भइसकेको छ । भागबन्डा टुंगिएलगत्तै प्रचण्डले सोमबारसम्म शपथग्रहण हुने गरी मन्त्रिपरिषद् विस्तार हुने बताइसकेका छन् । 

एमालेमा प्रभावशाली ५ नेताबीच अर्थमन्त्री र परराष्ट्रमन्त्री बन्ने तीव्र प्रतिस्पर्धा छ । उपाध्यक्ष भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा देखिएको हो ।

नयाँ कार्यक्रमसहित बजेट निर्माण र विनियोजन गर्न पाइने भएकाले अर्थ मन्त्रालयको लबिङमा नेताहरू लागेका हुन् । उनीहरूमध्ये रावलले परराष्ट्र र बाँकीले अर्थ मन्त्रालय दाबी गरेका छन् ।

उता अाेली र दाहालले याे सरकारमा संघीय समाजवादी फाेरमलार्इ पनि समेट्न प्रयत्न गर्दै अाएका छन । त्यसका लागि दुबै नेताले नेता उपेन्द्र यादवसँग छलफल गर्दै अाएका छन् । तर ओली र दाहालले प्रयास गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन। त्यसका कारण सोमबारको मन्त्रिपरिषद् विस्तारमै यादवको पार्टी सरकारमा सहभागी हुने सम्भावना भने छैन।

तर, उसले ओली नेतृत्वको सरकारमा सहभागी हुनका लागि लचिलो बन्दै सकारात्मक संकेत दिएको छ। फोरम नेता शिवजी यादवका अनुसार प्रधानमन्त्री तथा माओवादी अध्यक्षसँग फोरम अध्यक्षको अनौपचारिक छलफल भइरहेको छ। सरकारमा सहभागिताका लागि फोरमले चारबुँदे प्रस्ताव अगाडि सारेको थियो

‘हामीले माग राखेपछि उहाँहरूले कार्यदल बनाउने कुरा हुनुपर्थ्यो, भइसकेको छैन, सम्भवतः अब कार्यदल बन्छ होला’, यादवले अन्नपूर्णसँग भने, ‘पहिले कार्यदल बन्यो भने त्यसपछिको अवस्था हेरेर फोरम सरकारमा जान्छ।’

Loading...