सी जिनपिङ तेस्रो कार्यकाल राष्ट्रपति हुने पक्का, सी जिनपिङ विचारधारा संविधानमा समावेश

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो पटक राष्ट्रपति बन्ने पक्का देखिएकाे छ । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले कुनै पनि व्यक्ति दुई कार्यकालमात्र राष्ट्रपति र उपराष्ट्रपति हुने संवैधानिक व्यवस्थालाई हटाउने प्रस्ताव गरेपछि दोस्रो कार्यकाल राष्ट्रपति भएका सीलाई तेस्रो पटक राष्ट्रपति बन्ने बाटो खुलेको हो।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले सार्वजनिक गरेकाे समाचार अनुसार चिनियाँ कम्युनिस्ट पार्टीकाे केन्द्रीय समिति बैठकले सी जिनपिङको विचारधारालाई संविधानमा समावेश गर्न पनि प्रस्ताव गरेको छ। गत कार्तिकमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनले सीले ल्याएको विचार ‘सी जिनपिङ विचारधारा’को नाम दिएको थियो।

सो सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति सीले ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ को व्याख्या गरेका थिए। त्यही सम्मेलनबाट राष्ट्रपति सी आगामी पाँच वर्षका लागि पार्टी महासचिव र राष्ट्रपति चुनिएका थिए। त्यतिबेला सीको उत्तराधिकारी को हुने भन्ने विषय भने अनुत्तरित थियो। राष्ट्रपति सीले आफ्नो उत्तराधिकारी नचुनेपछि विभिन्न अडकलबाजी पनि सुरू भएका थिए।

चिनियाँ कम्युनिष्ट पार्टीमा एउटा अलिखित परम्परा थियो- राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु हुदाँ भविष्यमा राष्ट्रपति र प्रधानमन्त्री बन्ने दुई जना नेता पनि पार्टीको शक्तिशाली ७ सदस्यीय स्थायी समितिमा चुनिने।

ती व्यक्ति भविष्यका राष्ट्रपति र प्रधानमन्त्री हुन् भनेर औपचारिक रूपमा पार्टीले कहिल्यै पनि भन्दैनथ्यो तर उनीहरूको उमेर समूह हेरेर मानिसहरूले प्रष्टसँग त्यो संकेत बुझ्थे।

स्थायी समितिमा चुनिने ७ जना शीर्ष नेतामध्ये दुई जना कम उमेरका हुने गर्थे। स्थायी समितिमा नियुक्त हुने प्रायस्जसो चिनियाँ नेताहरू ६० वर्ष वा सोभन्दा बढी उमेरका हुने गर्छन्। तर दुई जना भने ५० देखि ५५ वर्ष समूहका र पछिल्लो पुस्ताका नेताहरु हुने गर्थे । यसाे गर्नुकाे खास कारण छ।

स्थायी समिति सदस्यले प्राय ६८/७० वर्ष पुग्दा अवकास पाउँछन्। ५० देखि ५५ वर्षका यी दुई जना भने अर्को १५ वर्षसम्म चीनलाई नेतृत्व गर्ने चिनियाँ कम्युनिष्ट पार्टीको शक्तिशाली स्थायी समितिमा बस्न पाउँछन्। यी दुई ‘जवान’ स्थायी समिति सदस्यमध्ये एकजना राष्ट्रपति र अर्का प्रधानमन्त्री हुने गर्छन्। यसपालि आएका पाँचै सदस्य नयाँ हुन् तर उनीहरू सबैको उमेर भने ६० वर्षभन्दा माथि छ।

राष्ट्रपति सी र प्रधानमन्त्री ली खछ्यान सन् २००७ मै चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समितिमा चुनिएका थिए। त्यो बेला उनीहरू दुबै जना अन्य स्थायी समितिका सदस्यभन्दा कान्छा थिए। उनीहरूको उमेर ५५ वर्ष वरिपरि थियो। त्यही बेला सीले सन् २०१२ मा तत्कालीन राष्ट्रपति हु जिन्ताओ र खछ्यानले तत्कालीन प्रधानमन्त्री वेन जिवाओलाई विस्थापित गर्नेछन् भन्ने सबैलाई थाहा थियो।

२००७ देखि २०१२ सम्म सी र खछ्यानले स्थायी समितिमा बसेर भविष्यको नेतृत्वको लागि आफूहरूलाई तयार पार्ने र सिक्ने मौका पाए। ती पाँच वर्षमा उनीहरूले पार्टी र सरकारका महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै देशविदेश घुमे र आफ्नो सम्पर्क र स्वीकार्यता विस्तार गरे।

माओ त्सेतुङ र देङ सिआओ पिङपछि चीनमा यसरी नै भविष्यको नेतृत्व छान्ने र तयार पार्ने अलिखित परम्परा थियो । आफू कहिल्यै राष्ट्रपति वा प्रधानमन्त्री नबनेका शक्तिशाली देङले राष्ट्रपति र प्रधानमन्त्रीका लागि अलिखित रूपमै दुई पटकको कार्यकाल पनि तोकिदिएका थिए।

त्यही अलिखित परम्परा पछ्याउँदै सन् १९९२मा राष्ट्रपति बनेका जियाङ जमिन सन् २००२ मा सत्ताबाट उत्रिए। सन् २००२ मा राष्ट्रपति बनेका हु जिन्ताओले सन् २०१२ मा सत्ता छाडे र सी राष्ट्रपति बने।

आफ्नो उत्तराधिकारी सम्हाल्ने गरी पछिल्लो पुस्ताका कुनै पनि नेतालाई राष्ट्रपति सीले स्थायी कमिटीमा नचुनेपछि उनले के चाहेका छन् भन्ने व्यापक अडकलबाजी चलेको थियो। कतिपयले राष्ट्रपति सीले आफू तेस्रो कार्यकालका लागि पनि राष्ट्रपति बन्ने चाहेको अडकल गरेका छन्।

केन्द्रीय समितिले संविधान संशोधन गर्ने निर्णय गरेपछि त्यो अडकलबाजी अहिले सत्य सावित भएको छ। सी तेस्रो पटक राष्ट्रपति बन्ने बाटो खुलेको छ।

शनिबार पार्टीको पोलिटब्युरो बैठक बसेको थियो। सोमबारदेखि हुने पार्टीको केन्द्रीय समितिको प्लेनम बैठकमा यो प्रस्तावमा थप छलफल हुनेछ। सो बैठकले पारित गरेको प्रस्ताव वार्षिक संसदीय भेलामा प्रस्तुत गरिनेछ।

Loading...