२४ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइदै

काठमाडौँ, १२ फागुन । सरकारले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान आजदेखि सुरु गरेको छ । २४ जिल्लामा शुरु गरिएको औषधि खुवाउने अभियान ३ दिनसम्म चल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

पाँचथर, इलाम, झापा, भोजपुर, धनकुटा, मोरङ र उदयपुरमा अभियान शुरु भएको छ । लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्जुला, बैतडी, डडेलधुरा र कञ्चनपुरमा अभियान चलाइएको महाशाखाले जनाएको छ ।

हात्तीपाइले रोगका औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोग तथा अरु कुनै पनि रोगका सिकिस्त बिरामीले खानु हुँदैन ।

हात्तीपाइले विरुद्धको औषधी खाली पेटमा औषधि नखान चिकित्सकहरुले सुझाव दिएका छन् । रोग निवारण अभियान सन् २००३ देखि सुरु भएको हो । अहिलेसम्म १० करोड मात्रा औषधि प्रयोग भएको छ ।

यस पटक २४ जिल्लाका ९१ लाख ५४ हजारलाई औषधि खुवाउने लक्ष्य राखिएको छ । हात्तीपाइलेका कति विरामी छन् भन्ने एकीन तथ्यांक नभए पनि सरकारले संभावित जिल्ला तय गरेर हरेक वर्ष औषधि सेवन गराउँदै आएको छ ।

सरकारले ८ हजार ५ सय ५७ जना स्वास्थ्यकर्मी र ४४ हजार ५ सय २४ जना स्वयम् सेवक परिचालन गरेको छ । ३८ करोड ३५ लाख २१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

Loading...