ककनी क्याम्पमा सशस्त्रको एफपियु रिफ्रेसर तालिम सुरु

ककनी । सशस्त्र प्रहरी बल नेपाल शान्ति स्थापनार्थ तालिम केन्द्र नुवाकोट ककनीमा एफपियु रिफ्रेशर तालिम संचालन सुरु भएको छ । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्ण भक्त ब्रम्हचार्यले फागुन ८ गते उक्त तालिमको उद्घाटन गरेका हुन् ।

तालिम उद्घाटनका अवसरमा बोल्दै एसएसपी ब्रम्हचारीले संगठनले दिएको जिम्मेवारी र दायित्वलाई अन्तराष्ट्रिय क्षेत्रमा उच्च प्रतिष्ठाका साथ स्थापित गराउन सफल भएको उल्लेख गरे । साथै संगठनले दिएको अवसर तथा अन्तराष्ट्रिय क्षेत्रमा पाएको अनुभवबाट सिकेका अनुकरणीय र असल कुराहरुको उपयोग हाम्रो समाज र संगठनको हित र उन्नतीमा लगाउनु पर्नेमा उनले जोड दिए ।

शान्ति मिशनमा रहँदाको समयमा समस्त देश र संगठनभित्र भए गरेका प्रगति, उन्नति, घटना, परिघटना साथै नयाँ रणनीति एवम् परिवर्तनका बारेमा जानकारी लिई आफ्नो कार्यक्षेत्रमा गएमा काम गर्न सजिलो हुने उनले विश्वास व्यक्त गरे ।सशस्त्र प्रहरी बल नेपालको समसामयिक विषयवस्तुहरु तथा अन्य ऐन एवं नियमहरुको बारेमा पाठ्यक्रमको विषयवस्तुमा समेटिएको हुँदा प्रशिक्षार्थीहरुले तालिमको महत्वलाई बुझेर बढीभन्दा बढी जिज्ञासु एवं अग्रसर भएर सिक्ने कोसिस गर्नुपर्नेमा उनले जोड दिए ।

संगठनले आर्जन गरेको छवि र साखलाई कायम राख्न तथा राज्यले सुम्पेको जिम्मेबारी बहन गर्न कार्यक्षेत्रमा हरदम खट्नु पर्ने भएकोले  वर्तमान परिवेशमा अझै चुनौतीपूर्ण र गहन जिम्मेवारी बढेको महसुस गर्दै बढेको जिम्मेबारीलाई कुशलतापूर्वक सम्पन्न गर्नको लागि रुचि बढाई प्रशिक्षण कार्यमा सहभागी हुनुपर्ने कुरामा उनले जोड दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्यले धन्यवाद मन्तव्य व्यक्त गर्दै तालिम अवधिभरमा आफूलाई व्यक्तिगत स्वार्थ भन्दा माथि उठाई तालिममा दत्तचित्त भई लाग्न आग्रह गरे । उच्च स्तरको अनुशासन तथा लगनशिलता प्रर्दशनले संगठनको उचाई बढाउन थप सहयोग पु¥याउने उनको जोड थियो ।

कार्यक्रममा तालिमका प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक प्रदिप राईले तालिम सम्बन्धी कार्य योजना प्रस्तुत गर्नुहुँदै व्यावसायीक जीवनमा सफलता प्राप्त गर्न यस्ता तालिमले सहयोग पुर्याउने बताए । आगामी फागुन २३ गते सम्म संचालन हुने सो तालिममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक हरिश्चन्द्र अधिकारी सहित १७१ जना सशस्त्र प्रहरी कर्मचारीहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।

Loading...