ओली सरकारले जनताका राजनैतिक अधिकार कटौती गर्यो

काठमाडौं, ११ फागुन । सरकारले शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप र नेता कार्यकर्ता गिरफ्तार गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले देशभर अन्तरक्रिया तथा कोणसभा गरेको छ ।

राजधानीमा पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विभिन्न जिल्लाहरुमा पार्टी र जनवर्गीय संगठनको आयोजनामा अन्तरक्रिया कार्यक्रम र कोणसभा भएका छन् ।

कार्यक्रममा विभिन्न पार्टीका साथै वामपन्थी बुद्धिजीवी र नागरिक अगुवाकोले शान्तिपूर्ण राजनीतिक कार्यक्रममा हस्तक्षेप गर्ने नागरिकको स्वतन्त्रमाथिकै हस्तक्षेप भएको भन्दै तत्काल रोक्न सरकारसँग आग्रह गरेका थिए ।

काठमाडौंको प्रज्ञा भवनमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किरातीले सरकारले समाजवादको नारा लगाएपनि नेकपाका नेता कार्यकर्तामाथीको दमनले त्यो नारामा मात्र सावित भएको बताए । उनले क्रान्तिकारीमाथीको दमन रोक्न र गिरफ्तार गरिएका नेकपाका नेताहरुलाई तत्काल रिहा गर्न माग समेत गरे ।

नेकपा क्रान्तिकारी माओवादीका नेता हरिभक्त कँडेलले वाम गठवन्धनको नाममा प्रचण्डले माओवादी आन्दोलनलाई एमालेमा बुझाएपछि क्रान्तिकारीहरुले क्रातिन्तको नयाँ पहल दिन थालेपछि राज्य दमनमा उत्रिएको विचार व्यक्त गरे ।

त्यसैगरी ऋषि कट्टेल नेतृत्वको नेकपाका केन्द्रीय सदस्य कृष्ण भट्टले अहिलेको संविधान दलाल पुँजिपति वर्गको भएकोले क्रान्तिकारीहरुमाथी दमन गरेको धारणा राखे । उनले सरकारको दमन उल्टो वुद्धि भएको समेत तर्क गरे ।

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले जनयुद्धको सपना पुरा गर्ने उद्देश्य लिएको राजनीतिक पार्टीमाथी प्रतिवन्ध लगाउन खोज्नु गलत भएको धारणा व्यक्त गरे ।

कार्यक्रममा पुराना कम्युनिष्ट नेता तथा प्रेस स्वतन्त्रता सेनानी झपेन्द्रराज वैद्यले सच्चा कम्युनिष्टहरुलाई दवाउनको लागि वामगठबन्धन बनाइएको भन्दै प्रचण्डले जनयुद्धलाई अपराधिकरण गरेले अब जनवादी गणतन्त्र प्राप्तिको लागि एकिकृत जनक्रान्तिमा लाग्नु पर्ने विचार व्यक्त गरे ।

अष्ट्रेलियाकालागि पूर्वराजदुत योगेन्द्र ढकालले जनवादी गणतन्त्र स्थापना नभएसम्म क्रान्तिकारीहरुमाथी दमन भइरहने भएकोले बल प्रयोगको सिद्धान्तको आधारमा सच्चा कम्युनिष्टहरु एक ढिक्का भएर अगाडि बढ्नु पर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउनेले अभिव्यक्ति स्वतन्त्रतामाथी समेत प्रतिबन्ध लगाएर राजनीतिक पार्टीका नेताहरुलाई गिरफ्तार गर्नु गैरन्यायीक कदम भएको भन्दै नेकपाका नेता हेमन्तप्रकाश ओली र पूर्वराज्य मन्त्री तथा सो पार्टीका पोलिटब्यूरो सदस्य पदम राइलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

त्यसैगरी रोल्पामा पनि ‘कथित वाम सरकार, लोकतन्त्र र वैज्ञानिक समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेकपाले आयोजना गरेको कार्यक्रमका बक्ताहरुले सरकार निरंकुश भएको भन्दै राजनीतिक पार्टीका शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गरेर अन्याय गरेको भन्दै नेकपाका नेताहरुलाई तत्काल रिहाइ नगरे कडा आन्दोला गर्ने चेतावनी दिएका छन् ।

कञ्चनपुरमा र कैलालीमा पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् । कञ्चनपुरको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सिनाले शान्तिपूर्ण राजनीतिक गतिविधिमाथि नै हस्तक्षेप गरेर ओली सरकारले ज्ञानेन्द्रकालिन झल्को दिएको बताए ।

नेकपा कैलालीले धनगढीमा आयोजना गरेको कार्यक्रममा पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले गिरफ्तार नेताहरुको रिहाई नगरे कडा संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने र त्यसको जिम्मा ओली सरकारले हुनुपर्ने धारणा राखे ।

बुटवलमापनि यस्तै खाले अन्तरकृया गरिएको छ । कार्यक्रममा बोल्ने बक्तहरुले ओली सरकारले शाान्तिपूर्ण राजनीतिक कार्यक्रममाथी दमन गरेर लोकतन्त्रको खिल्ली उडाएको भन्दै यस्तो कदमले सरकारले पतनको बाटो लिने चेतावनी दिएका छन् ।

पूर्व घोषित कार्यक्रम अनुसार नेपाल कम्युनिस्ट पार्टी गुल्मीको तम्घासस्थित निलगिरीमा नेकपाले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका हरि न्यौपाने, नयाँशक्ति पार्टीका घनश्याम पाण्डे, गैरसरकारी महासंघका अध्यक्ष विष्णुप्रसाद भण्डारी, मानव अधिकारवादी माधव ज्ञवालीलगायतले शान्तिपूर्ण राजनीतिक गर्ने अधिकार संविधानले ग्यारेन्टी गरेको तर ओली सरकारले उलंघन गरेको बताए ।

नेकपा रुपन्देहीले बुटवलस्थित विश्व हिन्दु महासंघको सभाहलमा ‘कथित वाम सरकारको ज्यादती र लोकतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटेरी अमर आरसीले शान्तिपूर्ण सभा तथा कार्यक्रम गर्ने लोकतन्त्रको न्यूनतम मान्यता विपरित सरकारले आफ्नो पार्टी र पार्टीका नेताहरुलाई अनावश्यक धरपकड र गिरफ्तार गरेको भन्दै गिरफ्तार नेताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । उनले शान्तिपूर्ण आन्दोलनबाट गिरफ्तार नेताहरुलाई रिहा नगरे शसक्त प्रतिरोध गर्ने चेतावनी दिए ।

सोही कार्यक्रममा क्रान्तिकारी माओवादीका नेता भुलबहादुर सुनारी, माओवादी केन्द्रका सहसंयोजक पुरन गुरुङ, राजमो सचिव दिपक पौडेल, काँग्रेसका प्रतिनिधि बिष्णु पोखरेल, बाम बुद्धिजीवी तथा लेखक दिल साहनी, माक्र्सवादी विचार मञ्चका अध्यक्ष युवराज पन्थी, राष्ट्रिय स्वाधीनताका लागि नागरिक अभियानका पदम कार्की, मालेमा अध्ययन केन्द्रका विनबहादुर कँुवर, वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेल, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईंलगायतले सरकारले नेकपामाथी दमन गरेर लोकतन्त्रको खिल्ली उडाएको बताउँलै यस्तै सरकारले यस्तै हरकत जारी राखे पतनको यात्रा हुने धारणा राखे ।

त्यसैगरी नेकपा मोरङले कोणसभाको आयोजना गरेको छ । शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्न निर्देशन दिएर प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैले बनाएको संविधानको उलंघन गरेको बताउँदै कार्यक्रमका वक्ताहरुले आफ्ना नेताहरुलाई रिहाईको माग गरेका थिए ।

नेकपाको युवा संगठन राष्ट्रिय युवा जनस्वयम सेवकको पूर्व निर्धारित तेस्रो राष्ट्रिय सम्मेलनमाथि प्रहरीले हस्तक्षेप गरेको थियो । सम्मेलनको उद्घाटन गर्न आइतबार विहान विराटनगर पुगेका पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट्ब्यूरो सदस्य पदम राईसहित २ सय ९० नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

कार्यकर्ताहरुलाई साँझ छोडेपनि सुदर्शन र राईलाई झुटा मुद्दा लगाउने तयारी भइरहेको नेकपाले कम्युनिस्ट न्यूज सेन्टरलाई जानकारी दिएको छ ।

कार्यक्रममाथिको हस्तक्षेप र नेताहरुको गिरफ्तारविरुद्ध नेकपाले मंगलबार नेपाल बन्दको आयोजना गरेको थियो । पार्टी महासचिव विप्लवले नेपाल बन्द सकिएलगत्तै दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

सोही कार्यक्रम अनुसार आज देशभर सरकारको ज्यादतिको भण्डाफोर गर्न अन्तरक्रिया तथा कोणसभामा सम्पन्न भएका छन् ।

शुक्रबार प्रधानमन्त्री ओलीको देशभर पुत्ला जलाउने कार्यक्रम छ ।

Loading...