कानुनमन्त्री भइसकेका खरेललार्इ तल्लो मर्यादामा झारेर महान्यायाधिवक्तामा नियुक्त

काठमाडौँ, ८ फागुन । कानुन मन्त्री भइसकेका व्यक्ति महान्यायाधिवक्ताका रुपमा नियुक्त भएका छन् । एमाले नेता तथा वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेल महान्यायाधिवक्तामा नियुक्त भएका हुन् । कानुनमन्त्री भइसकेका व्यक्ति तल्लो मर्यादाको पदमा नियुक्त गरिनु र मान्नुलार्इ धेरैले अनाैठाे मानेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललार्इ मंगलबार महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १५७ को उपधारा २ बमोजिम खरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । महान्यायाधिवक्ता सरकारकाे कानुनी सल्लाहकारका रुपमा मान्ने प्रचलन छ । तर, एमालेमा महान्यायाधिवक्ता बन्ने स्तरमा अरु काेही कानुन व्यवसायी नभएर कानुनमन्त्री जस्ताे उपल्लाे मर्यादामा बसेकाे भए पनि तल्लाे मर्यादामा नियुक्त गरिएकाे हाे कि भन्ने टिप्पणी पनि गरिएकाे छ । 

खरेल यसअघि ओली नेतृत्वमा सरकार बनेका बेला कानुनमन्त्री बनाइएका थिए । उनी पहिलो संविधान सभाका एमालेको समानुपातिक कोटाबाट सांसद बनेका थिए भने दोस्रो संविधान सभामा उनलाई मन्त्रिपरिषद्ले मनोनयन गरी सभासद बनाएको थियो ।

मनोनित भएपछि उनी एमाले संसदीय दलको प्रमुख सचेतक बनेका थिए । संविधान सभामा तत्कालिन संबैधानिक समिति, संविधान मस्यौदा समिति, विवाद समाधान समिति लगायतमा बसेर काम गरेका थिए ।

ओली प्रधानमन्त्री बनेपछि उनलाई कानुनमन्त्री बनाएका थिए । प्रधानमन्त्री ओली निकट रहेका एमाले पोलिटब्यूरो सदस्य समेत रहेका खरेल २०४२ सालदेखि कानुनी क्षेत्रमा संलग्न रहदै बार एशोसिएसनका महासचिव समेत भइसकेका व्यक्ति हुन् । 

महान्यायाधिवक्ता सर्बोच्च अदालतको न्यायाधीशसरह हुन्छ । ‘प्रधानमन्त्रीले आफ्नो समूहमा बसेर काम गर्दै सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएपछि मैले यो पदका लागि सहमति जनाएको हुँ’ खरेलले भने, ‘कानुनी क्षेत्रमै मेरो विज्ञता र बर्षौदेखिको अभ्यास भएको र प्रधानमन्त्रीले सरकारलाई सफल पार्न पनि सहयोग गर्नुपऱ्याे भनेकाले मैले यो बिषयलाई धेरै ठूलो रुपमा लिइनँ ।’ 

उनले संविधानको कार्यान्वयनलाई प्राथमिकता दिने र फौजदारी संहितालगायतलाई अघि बढाउने प्रतिबद्धता जनाए । संघीय संरचनाअनुसार सरकारले धेरै कानूनी संरचना तयार गर्नुपर्ने र कतिपय कानुनी जटिलताहरु समेत आउन सक्ने भएकाले ती कामलाई प्राथमिकता दिने उल्लेख गरे । खरेलको बुधबार शपथ हुनेछ ।

Loading...