सरकारले महानिर्देशक पदमा गरेको नियुक्ति डा. श्रेष्ठले गरे अस्वीकार

काठमाडौं, ७ फागुन । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठले स्वास्थ्य सेवा विभागको महानिर्देशक पद अस्वीकार गरेका छन् । उनलाई निवर्तमान स्वास्थ्यमन्त्री दीपक बोहोराले महानिर्देशकमा नियुक्त गरेका थिए । नियुक्ति गैरकानुनी भएको भन्दै श्रेष्ठले महानिर्देशकको पद अस्वीकार गरेका हुन् ।

उनले आकर्षक विभागको जिम्मेवारी लिन अस्वीकार गरेपछि स्वास्थ्य मन्त्रालय र मातहतका कर्मचारी आश्चर्यमा परेका छन् । डा. श्रेष्ठले आइतबार गर्ने भनेको पदबहाली सार्वजनिक रूपमै अस्वीकार गरे । महानिर्देशक पद अस्वीकार गर्ने उनी पहिलो व्यक्ति हुन् ।

महानिर्देशक बन्न डा. राजेन्द्र पन्त र डा. तारानाथ पौडेलबीचको विवादले उग्ररूप लिएपछि तत्कालीन स्वास्थ्यमन्त्री बोहराले १२औँ तहका डा. श्रेष्ठलाई २ फागुनमा महानिर्देशक नियुक्त गरेका थिए । उक्त नियुक्ति श्रेष्ठको सल्लाहविना भएको थियो । श्रेष्ठले उक्त पदमा आफूलाई होच्याउन नियुक्त गरिएको बताए । ११ र १२औँ तहका कर्मचारीको सरुवा र बढुवा मन्त्रिपरिषद्ले गर्ने १०औँ तहभन्दा मुनिको पदमा मात्रै मन्त्रीस्तरीय निर्णय गर्ने कानुनी व्यवस्था छ । कानुनी व्यवस्थाभन्दा बाहिर गएर आफूलाई महानिर्देशक नियुक्त गरेको भन्दै श्रेष्ठले पद सम्हाल्न अस्वीकार गरेका हुन् ।

‘म कानुनको परिधिभित्र रहेर काम गर्ने राष्ट्रसेवक कर्मचारी हुँ,’ श्रेष्ठले भने, ‘मलाई कसैसँग लिनु र दिनु छैन । मेरो सेवाअवधि आगामी २१ फागुनमा सकिँदै छ । अन्तिम अवस्थामा आएर म कानुनविपरीत गरेको निर्णय स्वीकार गर्दिनँ ।’ मन्त्रिपरिषद्ले नियुक्त गरेको भए महानिर्देशक पद स्विकार्ने उनको भनाइ छ ।

Loading...