चीनबाट थप दुर्इ जहाज भोलि काठमाडौ आइपुग्दै

काठमाडाैं, २९ माघ । नेपाल वायुसेवा निगमले चीनबाट ल्याउने भनेका थप दुई जहाज भाेलि मंगलबार काठमाडाैं पुग्दैछन ।निगमले चीनबाट खरिद गरेका चारवटा जहाजमध्ये २ जहाज यसअघि नै ल्याइसकेकाे छ । बाँकी दुई ‘वाई १२ ई’ जहाज मंगलबार काठमाडाैं अवतरण गर्ने भएका हुन् ।

निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले दुई जहाज ल्याउन निगमकाे प्राविधिक र पाइलट सम्मिलित टोली चीन गएको छ । उक्त टोलीले जहाज निर्माता कम्पनीसँगको समन्वयमा जहाज नेपाल ल्याउन लागेको उनले बताए । टाेलीले चीनको हेलुङजाङ प्रान्तस्थित उक्त जहाज काठमाडाै ल्याउने बताइएकाे छ । चीनकाे हर्विन सहरबाट म्यानमारको आकाश हुँदै जहाज नेपाल आउन लागेको हाे । दुवै जहाज एकैसाथ सँगसँगै नेपाल ल्याइने भएका छन् ।

चीनबाट दुई जहाज आएसँगै नेपालको आन्तरिक उडानमा चिनियाँ जहाजको संख्या ६ पुग्नेछ । ६ वटा जहाजमध्ये चिनियाँ सरकारको अनुदानमा (एक ‘एमए ६०’ र एक ‘वाई–१२ई’) भित्रिएका हुन् । एउटा ‘एमए ६०’ र तीन ‘वाई–१२ई’ सहुलियतपूर्ण ऋणमा खरिद गरिएको हो ।

यसमध्ये ‘वाई–१२ई’ १७ सिट क्षमताको जहाज हो । एमए–६० भने ५६ सिट क्षमताको जहाज हो । जहाज निर्माता कम्पनी एभिक इन्टरनेसनल होल्डिङलाई तिर्न बाँकी ३० प्रतिशत रकम भुक्तानी प्रक्रिया टुंगिएपछि जहाज नेपाल भित्रन लागेका हुन् ।

६ करोड ५० लाख चिनियाँ युआन (झन्डै १ अर्ब २ करोड रुपैयाँ) रकम नेपाल सरकारले चिनियाँ एक्जिम बैंकमार्फत जहाज निर्माता कम्पनीलाई तिरेपछि यी दुई जहाज नेपाल आउने बाटो खुलेको हो ।

नेपाल सरकार र चीन सरकारबीच करिब साढे ६ अर्ब रुपैयाँबराबर अनुदान तथा सहुलियतपूर्ण ऋणमा कुल ६ वटा जहाज नेपाल एयरलाइन्सलाई उपलब्ध गराउने सम्झौता भएको थियो । त्यसमध्ये झन्डै ३ अर्ब रुपैयाँबराबर मूल्य पर्ने दुई जहाज (एउटा एमए–६० र एउटा वाई–१२ई चीनले अनुदानमा उपलब्ध गरायो ।

अन्य चार जहाज भने करिब साढे ३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋणमा निगमले खरिद गर्ने गरी चीन सरकारसँग सम्झौता भएको थियो । त्यसको ७० प्रतिशत रकम अगाडि नै भुक्तानी भइसकेको थियो भने तेस्रो तथा अन्तिम किस्ताबापत बाँकी ३० प्रतिशत रकम भुक्तानी गरेपछि जहाज नेपाल भित्र्याउन लागिएको हो ।

निगमले थप दुई चिनियाँ जहाज भित्र्याउने अन्तिम तयारी भए पनि यी जहाज नियमित उडाउने चुनौती यथावत् छ । निगमका अनुसार यी जहाज उडाउन नेपालमा पाइलट छैनन् । विदेशीबाटै पाइलट ल्याउनुपर्ने बाध्यता छ ।

अहिले सञ्चालनमा रहेका जहाज नियमित उडाउन नसक्नु र उच्च घाटा व्यहोरिरहेको निगमलाई थप दुई जहाज भित्र्याएर नियमित उडाउनु ठूलो चुनौती रहेको निगमका अधिकारीहरू बताउँछन् । निगमले सानो क्षमताको वाई–१२ई जहाज दुर्गम क्षेत्रका विमानस्थलमा उडाउने गरी भित्र्याएको हो ।

तर, निगमले यी विमानलाई तोकेको विमानस्थलमा उडाउन सकेको छैन । निगम व्यवस्थापनका अनुसार चिनियाँ जहाज उडाउने पाइलटको अभाव र बिग्रिँदा स्पेयर्स पार्टस् नपाउनु मुख्य समस्या हो ।

पछिलो समय चीनले स्पयर्स पार्टस् र पाइलटको समस्या नदोहोरिने तथा जहाजमा देखिएका प्राविधिक समस्या र कमजोरीसमेत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेपछि निगमले थप जहाज भित्र्याउने प्रक्रिया सुरु गरेको थियो । तर, त्यसअनुसार व्यवहार भने नभएको निगमका अधिकारीहरू स्वीकार गर्छन् ।

निगमका लागि अब आन्तरिक उडान गर्न जहाज संख्या नौ पुग्दै छ । निगमसँग चारवटा ट्विनअटर जहाज भए पनि तीनवटा मात्र उडिरहेका छन् । एउटा ग्राउन्डेड छ । ६ वटा चिनियाँ जहाजसँगै आन्तरिक उडानमा निगमसँग अब जहाज संख्या नौ पुग्न लागेको छ ।

संख्यात्मक रूपमा हेर्दा निगमसँग बुद्ध एयरबाहेक अन्य निजी कम्पनीको तुलनामा सबैभन्दा बढी जहाज उपलब्ध छन् । तर, आन्तरिक उडानमा उसको बजार हिस्सा अपेक्षित बढ्न सकेको छैन ।

प्रवक्ता श्रेष्ठका अनुसार ‘वाइ १२ई’ जहाज पहाडी तथा हिमाली इलाकाका विमानस्थलमा उडाउने तयारी छ । तराईका ठूला विमानस्थलमा उडाउने लक्ष्यसहित निगमले एमए ६० भित्र्याएको हो ।

Loading...