६ करोडको लागतमा निर्मित नमूना बस्ती धुर्मुस सुन्तलीले हस्तान्तरण गरे

रौतहट, २४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण गरेकी छिन् । मंगलबार रौतहटको चन्द्रपुर–८ सन्तपुरमा निर्माण सम्पन्न भएको एकीकृत नमुना बस्तीको उद्घाटनपछि राष्ट्रपतिले साँचो हस्तान्तरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको अनुकरणीय कामको आफूले मात्र नभई देशले नै प्रशंसा गरेको बताइन् । फाउन्डेसनले गरेको जस्तो काममा सरकारले समेत साथ र सहयोग गर्नुपर्ने उनको भनाइ थियो । आगलागी र फुसको छाना भएको घर तराईबाट हटाउँदै लैजान सरकारले पहल गर्नुपर्ने राष्ट्रपतिले बताइन् ।

उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतको उपस्थिति थियो । बस्ती हस्तान्तरण कार्यक्रममा ठूलो संख्यामा राजनीतिक दलका नेता तथा कार्यकर्ताका साथै सर्वसाधारणको सहभागिता थियो । सन्तपुर बजारमा हरेक वर्ष लाग्ने कार्तिकेशकुवर मेलाकै झल्को दिने गरी मंगलबार बिहानैबाट सर्वसाधारणको भीड लागेको थियो । रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा बाढी प्रभावित मुसहर एवं दलितका लागि निर्माण गरिएका भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घरसहित ५० वटा संरचना छन् ।

करिब ६ करोडको लागतमा नमुना बस्ती निर्माण

नमुना बस्ती गत ४ असोजमा शिलान्यास गरिएको थियो । २८४ परिवारका लागि ४७ वटा घरका साथै सामुदायिक भवन, मन्दिर, क्लब घर, भ्युटावर गरी ५० वटा संरचना निर्माण भएका छन् । गत साउनमा गएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो । करिब पाँच करोड ९६ लाख रुपैयाँको लागतमा निर्माण बस्ती निर्माण भएको हो ।

धुर्मुस सुन्तली फाउन्डेसनले यसअघि तीनवटा एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गरिसकेको छ । सन्तपुरमा बनेको बस्ती बनाउन कलाकारद्वय धुर्मुस र सुन्तली आफैँ पनि दिनरात खटेका थिए । वर्षेझरी र शीतलहर छिचोल्दै उनीहरूले निर्धारित समयमै बस्ती निर्माण सम्पन्न गरेका छन् । बस्ती निर्माण सम्पन्न भइसक्दा बजारमा तिर्न ७० लाख बाँकी रहेको फाउन्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरेले बताइन् ।

पक्की घरमा बस्ने सपना पूरा भयो १०७ वर्षकी रामकलीको

रौतहटको सन्तपुर दलित बस्तीकी रामकली देवी हजराले कहिल्यै सोचेकी थिइनन् कि कुनै दिन पक्की घरमा बस्न पाउनेछु । १०७ वर्षीया उनको जीवन अभाव र दुःखमै बित्यो । ११ वर्षको उमेरमा बिहे गरेर मुस्किलले दुईजना बस्न मिल्ने सानो छाप्रोमा भित्रिएकी थिइन्, रामकली देवी । वर्षामा चुहिने, बाढी आउँदा भाग्नुपर्ने र गर्मीमा तातोले बस्नै नसक्ने झुपडीमा उनले सिंगो जिन्दगी बिताइन् ।

गत साउनमा आएको विनाशकारी बाढीले त्यही छाप्रो पनि बगाइदियो । त्यसपछि उनी विचल्लीमा परिन् । श्रीमान्को मृत्युपछि दुःख गरेर परिवार धानेकी रामकलीका छोरा जीवन हजराको पनि मृत्यु भइसकेको छ । ‘गरिबीमा बाँच्न लेख्या रैछ, त्यसैले भगवानले पनि मलाई लगेनन्,’ नातिका सन्तानहरूसँग बसेकी रामकली भन्छिन्, ‘मैले जीवनभरि अभाव र दुःख मात्रै देखेकी छु । सायद भगवानले हाम्रो परीक्षा लिइरहेका रहेछन् ।’

धुर्मुस–सुन्तली फाउन्डेसनले सन्तपुरमा नमुना बस्ती निर्माण गरेपछि भने रामकलीलाई आफ्नो परीक्षा सकिएकोे महसुुस भएको छ । बाढीकै बेला राहत लिएर यो बस्तीमा छिरेका कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले मुसहरहरूको बिजोग देखेर नमुना बस्ती बसाउने बाचा गरेका थिए । रामकली देवीसँगै ४७ गरिब परिवार मंगलबारबाट त्यही सुविधासम्पन्न पक्की घरमा सरेका छन् । धुर्मुस–सुन्तलीले बनाइदिएको दुई तले चिटिक्कको घर देखेर मुसहरहरू मख्ख परेका छन् । बस्तीमा ४७ वटा घर मात्र होइन, मन्दिर, विद्यालय, सामुदायिक भवन, बाल उद्यान, भ्युटावरलगायतका संरचना छन् । चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा बनेको सो बस्ती हेर्न जिल्ला तथा जिल्ला बाहिरबाट मानिसहरू आउने गरेका छन् ।

Loading...