नेकपा र क्रान्तिकारी माओवादीको संयुक्त कार्यक्रमको घोषणा

दैलेख, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) ले पहिलो पटक संयुक्त विज्ञप्ति निकालेका छन् । नेकपा दैलेखका इन्चार्ज विवेक र क्रान्तिकारी माओवादीका सेक्रेटरी/इन्चार्ज प्रकाशउर्जाले बुधबार संयुक्त रुपमा शुभकामना सन्देश जारी गरेर जनयुद्ध दिवस सँगै मनाउने घोषणा गरेका छन् ।

२३ अौं जनयुद्ध दिवसको अवसरमा फागुन १ गते दैलेख बजारमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा अायोजना गर्ने घोषणा पनि संयुक्त उपस्थित हुन अनुरोध छ ।

यस्तो छ दुबै पार्टीले संयुक्त रुपमा जारी गरेको शुभकामना सन्देश

‘तेइसौं जनयुद्ध दिवस’को ऐतिहासिक अवसरमा क्रान्तिकारी अभिवादन तथा शुभकामना ।

२३ वर्षअघि २०५२ फागुन १ गते नेकपा (माओवादी)को नेतृत्वमा महान् जनयुद्धको ऐतिहासिक उद्घोष गरिएको थियो । सो जनयुद्धको उद्देश्य देशलाई अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवउपनिवेशिक अवस्थाबाट मुक्त तुल्याउँदै नयाँ जनवादी गणतान्त्रिक राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नु थियो । दशवर्षसम्मको अवधिमा रणनीतिक रक्षा र सन्तुलनको चरण पार गर्दै प्रत्याक्रमणको दिशामा विकसित हुँदै गएको जनयुद्धले पार्टीको मूल नेतृत्वमा दक्षिणपन्थी अवसरवादी विचलन पैदा हुनुको कारण गम्भीर प्रकारको धक्का खान पुग्यो । हामी त्यस प्रकारको विचलनकविरुद्ध विद्रोह तथा सम्बन्ध–विच्छेद् गरी नयाँ ढंगले अगाडि बढिरहेका छौं ।

नेपालमा सञ्चालित महान् जनयुद्धको प्रक्रियामा जनताका चौध हजार जति छोराछोरी, जनमुक्ति सेनाका वीर योद्धा र पार्टीका कैयौं नेता तथा कार्यकर्ताहरुले त्याग, वीरता र बलिदानका अद्भूत कीर्तिमान् कायम गरे । २३ अौं जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा हामी वीर अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । राज्यद्वारा वेपत्ता पारिएका योद्धाहरुप्रति विशेष सम्मान जाहेर गर्दछौं । त्यसैगरी, घाइते अपाङ्ग योद्धाहरुप्रति विशेष सम्मान प्रकट गर्दछौं । यसै क्रममा हामी सहिद तथा वेपत्ता योद्धका परिवारजनहरुप्रति पनि सम्मान व्यक्त गर्दछौं । साथै, हामी राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका सबै शुभेच्छुक, समर्थक तथा सहयोगी जनसमुदाय र भाइचारा पार्टीहरुसहित सम्पूर्ण पार्टी कमरेडहरुप्रति हार्दिक शुभकामना तथा क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौं ।

आज विश्वमा र नेपालमा पनि क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गए पनि आत्मगत परिस्थिति कमजोर रहेको छ । नेपालमा दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्गको राज्यसत्ताकोे शोषण, उत्पीडन र हैकम बढ्दै जानुको साथै साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेप पनि तीव्र बन्दै गैरहेको छ । यो बेला नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादको खतरा उत्कर्षमा पुगेको छ । यस स्थितिमा तेइसौं जनयुद्ध दिवस मनाउनुको अर्थ तथा औचित्य प्रतिक्रियावादी राज्यसत्ताको विरोध तथा विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापनाका लागि क्रान्तिको तयारीका कामलाई अगाडि बढाउनु, दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गर्नु र सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तुल्याउनु हो । यस प्रकारको उद्देश्य प्राप्त गर्नका निम्ति हामीले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीको कार्यदिशा, नीति तथा कार्यक्रमलाई अझै समृद्ध तथा जुझारु तुल्याउँदै जान र विगतका गल्ती, कमी तथा कमजोरीहरुको वैज्ञानिक समीक्षा गर्दै आगामी दिनमा क्रान्तिको दिशामा दृढतापूर्वक अगाडि बढ्न आवश्यक छ ।

क्रान्ति आवश्यक र संभव दुवै छ । विचारधारात्मक, राजनीतिक तथा सांगठनिक रुपमा क्रान्तिको तयारीको दिशामा सिङ्गो पार्टीपङ्क्तिलाई अनुशासित, जुझारु तथा कृयाशील तुल्याउँदै अगाडि बढौं । तेइसौं महान् जनयुद्धको यस ऐतिहासिक अवसरमा सम्पूर्ण कमरेडहरु तथा जनसमुदायमा हार्दिक शुभकामना ! क्रान्तिकारी अभिवादन तथा लाल सलाम !!

साथै फागुन १ गते दैलेख बजारमा हुने चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उपस्थित हुन अनुरोध छ ।

विवेक

इन्चार्ज

नेपाल कम्युनिस्ट पार्टी

 

प्रकाश उर्जा

सेक्रेटरी/इन्चार्ज

नेकपा क्रान्तिकारी माओवादी

Loading...