विवाह गर्न नमानेपछि बलात्कार मुद्दा

काठमाडौं, २४ माघ । विवाह गर्न वाचा तोडेपछि रौतहट विश्रामपुरका २९ वर्षीय अशोक गुप्ता बलात्कार तथा शरीर बन्धकको मुद्दामा प्रहरी हिरासतमा पुगेका छन् । गुप्ताले २२ वर्षीया युवतीसँग विवाह गर्ने वाचा तोडेका थिए ।

त्यस लगत्तै युवतीले गुप्ताविरुद्ध प्रहरी कार्यालयमा बलात्कार तथा शरीर बन्धकको जाहेरी दिएकी थिइन् । जाहेरीपछि गुप्तालाई प्रहरीले प्रक्राउ गरेको छ। उनी अहिले विशालबजारस्थित महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा छन् ।

प्रहरीका अनुसार उनीविरुद्ध सात दिनको म्याद थप गरी आवश्यक कारबाही हुँदैछ । जनसेवाका डिएसपी मोहनकुमार थापाले विवाह गर्न नमानेपछि गुप्ताविरुद्ध युवतीले बलात्कार तथा शरीर बन्धकको जाहेरी दिएको बताए ।

प्रहरीका अनुसार उनीहरु तीन वर्षदेखि प्रेममा थिए । दुवै सानोठिमीस्थित जगदम्बा डिस्ट्रिब्युटर्समा काम गर्थे । सोही स्थानमा काम गर्दा दुईबीच चिनजान भएको र पछि प्रेममा परेको प्रहरीको दावी छ ।

दुईबीच विवाह गर्ने सहमति थियो । तर, जात नमिल्ने भएका कारण विवाह हुन सकेको थिएन । युवती पहाडी मूलकी हुन् ।

विवाह गर्न युवतीको परिवारबाट दबाब अएपछि गुप्ताले युवतीलाई सुन्धारास्थित एसियन होटलमा कोठा बुक गरी राखेका थिए । १९ देखि २३ पुससम्म होटलमा दुवै सँगै बसेका थिए । एकाएक गुप्ता बेपत्ता भएपछि युवती उजुरी गर्न जनसेवा पुगेकी थिइन् ।

Loading...