ल्याण्डमार्क होटलको बलात्कार काण्डका दुर्इ युवक यसरी परे हेटौडाबाट प्रहरीको फन्दामा

काठमाडौं, २२ माघ । दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको भनिएको सामुहिक बलात्कार घटनाको अनुसन्धानका लागि प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सन्देश बिसी र आवेश लामा रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शनिवार बिसी र लामालाई हेटौंडाबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । तर, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रामदत्त जोशीले उनीहरुलाई काठमाडौंबाटै नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

‘उनीहरुमाथि अनुसन्धान भइरहेको छ’ एसपी जोशीले भने, ‘सार्वजनिक अपराधमा म्याद लिएर थप अनुसन्धान गरिरहेका छौं ।’
प्रहरी स्रोतका अनुसार बिसी र लामा होटल ल्याण्डमार्कका कर्मचारी हुन् । दरबारमार्ग प्रहरीले सामूहिक बलात्कार प्रकरण लेनदेनमा मिलाएको सार्वजनिक भएसँगै उनीहरु काठमाडौंबाट सिन्धुली हुँदै हेटौंडा पुगेका थिए ।

यसैबीच बलात्कृत भनिएकी युवती लाई प्रहरीले माईती नेपालमा राखेर मनोपरामर्श दिइरहेको छ । उता बलात्कृत युवतीको केटा साथी भनिएका शैलेश कार्की र बलात्कारमा संलग्न अन्य युवाहरु विकास गौतम, रवि पौडेल र दिपक श्रेष्ठ फरार छन् ।

माघ ७ गते राती होटल ल्याण्डमार्कमा सामूहिक बलात्कार भएको बताइएको छ । बलात्कार जस्तो जघन्य अपराधको घटना कागज गरेर मिलाउने कार्यमा संलग्न दरबारमार्गका ईन्सपेक्टर लक्ष्मण सिंह ठकुरीलाई महानगरीय प्रहरी परिसरले निलम्बन गर्न प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको छ ।

Loading...