दोस्रो विश्वयुद्धताका फालिएको बम फेलापर्यो, १२ घन्टामा पारियो निस्कृय

हङकङ, २१ माघ । हङकङ प्रहरीले विश्वयुद्धका समयमा फेला पारेका डरलाग्दो बमलाई निष्क्रिय पारेको छ । व्यस्त व्यावसायिक क्षेत्रमा बुधबार फेला परेको बमलाई प्रहरीले निष्क्रिय पारेको हो । चार सय ५० किलोग्राम तौलको बम निष्क्रिय पार्न चार हजारभन्दा बढी मानिसलाई बम रहेको क्षेत्रबाट हटाइएको थियो भने वरपरको सडकखण्डहरू खाली गरिएको थियो ।

बम निष्क्रिय पार्न विज्ञहरूले रातभर काम गरेका थिए । एएन—एम ६५ नाम दिइएको सो बम अमेरिकामा बनाइएको र द्वितीय विश्वयुद्धको समयमा जापानले ओगटेको हङकङमा खसालेको अनुमान गरिएको छ ।

बम भेटिएको ठाउँ त्यति वेला बेलायतको उपनिवेश थियो । सन् १९४१ देखि १९४५ को विषयमा जापानी फौजले सो क्षेत्र ओगटेको थियो । बुधबार फेला परेको बम व्यस्त वानी चाई जिल्लाको निर्माणाधीन स्थलको जमिनमा गडेको अवस्थामा भेटिएको थियो ।

बम फेला पर्नेबित्तिकै प्रहरीले सो जिल्लाका केही भाग सिल गरेर भिक्टोरिया बन्दरगाह क्षेत्रमा चल्ने डुंगामा रोक लगाएको थियो । बमको फ्युज मेकानिजम क्षतिग्रस्त थियो । बम निष्क्रिय पार्न जटिल भएको बम डिस्पोज अधिकृत एलिक म्या हिवटरले साउद चाइना पोस्टलाई बताए ।

पानी परेकाले बम भेटिएको स्थल हिलाम्मे थियो । स्थानीय समयअनुसार बिहीबार बिहान डिस्पोजल समूहले बममा ठूलो प्वाल पारेर त्यहाँभित्रको विस्फोटक पदार्थ निष्क्रिय पारेको थियो ।

बमभित्रको बारुद नष्ट गरेपछि क्रेनको सहायतामा बम उचालिएको थियो । बम बिस्फोटको तीन घन्टापछि सिल गरिएको स्थान खुला गरिएको थियो । विश्वयुद्धका समयमा खसालिएका बम अहिलेसम्म पनि भेटिने क्रम जारी छ ।

हङकङमा एक साताअघि पनि दोस्रो विश्वयुद्धकै समयमा फालिएको बम फेला परेको थियो । शनिबार पनि पछिल्लोपटक भेटिएको नमुनाको बम फेला परेको थियो ।

Loading...