सुष्मा स्वराजको नेपाल भ्रमण अस्वभाविक भन्दै बाबुरामले दिएको अभिव्यक्तिले तरङ्ग

काठमाडौं, २१ माघ । नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई अनुपयुक्त र अस्वभाविक भ्रमणकाे संज्ञा दिएका छन् । उनकाे याे अभिव्यक्तिले फेरि तरङ्ग फैलाएकाे छ । वाम गठबन्धनका नेताहरुले सुष्माकाे भ्रमणलार्इ निकै प्रशंसा गरिरहेका बेला बाबुरामले भने यसलार्इ केटाकेटीपनाकाे संज्ञा दिएका छन् । नयाँ सरकार नबन्दै भ्रमण गराउने र भ्रमण गर्ने दुबै कुरा अपरिपक्वता भएकाे बाबुरामकाे भनार्इ छ ।

शनिबार गोरखा उद्योग बाणिज्य संघको ४४ औं बार्षिक साधारण सभामा पूर्वप्रधानमन्त्री भट्टराईले सरकार बन्नु अघि नै स्वराज नेपाल भ्रमणमा आउनु कूटनीतिक हिसावले पनि उपयुक्त नभएको बताए । ‘आउनै हुन्न भन्ने त होइन । दुई देशबीच सम्बन्ध सुधार हुनु आवश्यक छ’ उनले भने, तर, सरकार बनिसकेपछि आएको भए कूटनीतिक सम्बन्ध राम्रो हुन्थ्यो ।’

बेमौसमी भ्रमणको अनावश्यक ढंगले राजनितिक अर्थ लाग्ने र अविश्वास बढ्न सक्ने उनको भनाइ छ । भट्टराइले गोरखामा विकासका पूर्वाधार निर्माण गर्न व्यवसायीहरुलाई आग्रह गरे । पूर्वाधार विकासका लागि सरकारले नितिगत सहयोग गर्ने र व्यवहारिक सहयोग व्यवसायीले गर्नुपर्ने उनले बताए ।

समृद्ध गोरखा बनाउन धन भन्दा विचार र आकांक्षा आवश्यक हुनुपर्ने बताए । उनले भने, ‘न्याय नपाए गोरखा जानु भनेजस्तै अव समृद्धि हेर्न गोरखा जानु भन्ने पानुपर्‍यो । त्यसका लागि सबैभन्दा पहिले समृद्धिको सपना देख्नुस् अनि पूर्वाधार विकासमा जुट्नुस्’ उनले भने । बिहीबार नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको विषयलाई लिएर विभिन्न टिका टिप्पणी उठ्ने गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अघोषितरुपमा विशेष दूत बनेर नेपाल भ्रमणमा आएकी विदेशमन्त्री स्वराजले २४ घण्टे बसाईंमा नेपालका सवै प्रमुख राजनीतिक खेलाडीसँग भेट गरिन् ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै भेट गरिन् ।

एमाले अध्यक्ष केपी ओलीको ‘आग्रह’मा काठमाडौं आएकी स्वराजले ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बेग्लाबेग्लै र लामो कुराकानी गरिन् । उनले ओलीसँग ४५ मिनेट र प्रचण्डसँग ५० मिनेट लामो कुरा गरिन, जविक प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीसँग यति लामो कुरा भएन । नेपालमा दुई बामदलले सरकार बनाउने कसरत गरिरहँदा भारतीय प्रधानमन्त्री मोदीले विशेष दूत पठाएपछि ओली र प्रचण्डसँग उनको भेट अर्थपूर्ण छ ।

बालकोट र खुमलटारस्थित स्रोतका अनुसार भेटमा सुष्माले भनेकी थिइन्, ‘नेपाली जनताको निर्णयलाई हामी सम्मान गर्छाैं । सार्वभौम निर्णय स्वीकार गर्छौँ । विगत हामी सवैका लागि पाठ हो । अव नयाँ तरिकाले नयाँ शिराबाट जाऔँ ।’

सुष्मासँगको कुराकानी ओली र प्रचण्डले आफु निकटका केही नेताहरुसँग विफ्रिङ गरेका छन् ।उच्चस्रोतका अनुसार ओली र प्रचण्डसँगको भेटमा सुष्मा यसपाली निकै ‘सफ्ट’ देखिएकी थिइन् ।

‘सुष्मामा विगतमा जस्तो ‘दम्भ’ थिएन । नेपाल र नेपाली जनताको निर्णयलाई सम्मान गर्छौँ भनेर निकै ‘सफ्ट’ तरिकाले कुरा राखेको महसुश भयो ।’ ओली र प्रचण्डले आफ्ना निकटस्तहरुलाई विफ्रिङ गरेका छन्, ‘यसले भारतले अव नयाँ तरिकाले सोचेको संकेत पाएका छौँ ।’

तर, सुष्माले एमाले र माओवादीवीचको एकताको विषयमा भने केही कुरा उठाइनन् । ‘यो एकतावारे जिज्ञासा आएन ।’ ओली र प्रचण्डले आफु निकटका केही नेताहरुसँग भनेका छन् ।

तर, संघीय र प्रादेशिक संसद्मा वाम गठबन्धनलाई बहुमत प्राप्त भएकोमा स्वराजले ओली र प्रचण्डलाई बधाई ज्ञापन गरेकी थिइन् । नेपालमा चुनाव सकिएको १५ दिनपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए । त्यसको केही समयपछि मोदीले ओलीलाई फोन गरेका थिए, जहाँ ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा स्वीकार गरिएको थियो ।

भारत सरकारले पनि आफ्नो विदेशमन्त्री स्वराजको भ्रमण ‘सफल’ भएको दावी गरेको छ । ‘सफल भ्रमणको अन्त्य गर्दै विदेशमन्त्री सुष्मा स्वराज स्वदेश (भारत) फर्कनुभएको छ ।’भारतीय दूतावासको शुक्रवारको ट्वीटमा छ । सुष्मा फर्केलगत्तै यस्तो ट्वीट आएको थियो ।

चुनावपछि सरकार गठन नहुँदै विदेशमन्त्री सुष्माले गरेको भ्रमणलाई कतिपयले अस्वभाविक भनि टिप्पणी पनि गरेका थिए । पूर्वप्रधानमन्त्रीहरुले भेटमा परराष्ट्रमन्त्रालयका प्रतिनिधि नराखेकोमा पनि आलोचना भएको छ । स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा भएका राजनीतिक भेटघाटलाई लिएर माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले असन्तुष्टि जनाए । काँग्रेस नेता शेखर कोइरालाले पनि भ्रमणलाई ‘अनुपयुक्त समयको भ्रमण’ भनेर टिप्पणी गरे ।

सुष्मा स्वराजसँगको भेटमा एमालेका अध्यक्ष ओलीले नेपालको शान्ति र समृद्धिका लागि छिमेकीसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताएका थिए । उनले आपसी हितका लागि प्राकृतिक स्रोतसाधनको उपयोग, सम्पर्क विस्तार, व्यापार, सूचना प्रविधिलगायत क्षेत्रमा भारतसँग सहकार्य गर्न आफू तयार रहेको बताएका थिए ।

भेटमा ओलीले भारतसँग घनिष्ठतापूर्वक काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिएका थिए । सचिव ज्ञवालीका अनुसार सो अवसरमा भारतीय विदेशमन्त्री स्वराजले नेपालमा हालै सफलतापूर्वक सम्पन्न भएको निर्वाचनका लागि नेपाली जनतालाई र निर्वाचनमा वाम गठबन्धनले प्राप्त गरेको सफलताका लागि बधाई दिएकी थिइन् ।

निर्वाचनबाट प्राप्त स्पष्ट जनादेशले नेपालमा शान्ति र स्थिरता कायम हुने विचार व्यक्त गर्दै विदेशमन्त्री स्वराजले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि निर्वाचनपछि नेपाल विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेकी थिइन ।
अध्यक्ष ओली र विदेशमन्त्री स्वराजबीच शुरुमा एक्लाएक्लै करिब ४५ मिनेट भेटवार्ता भएको थियो भने त्यसपछि दुवै पक्षका प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो ।

त्यसैगरी स्वराजसँगको भेटमा प्रचण्डले मुलुकको विकास र राजनीतिक स्थायित्व आफ्नो पहिलो प्राथमिकता भएको बताएका थिए ।

स्वराजसँग भेटमा प्रचण्डले ‘नेपालको विकास र स्थायित्व आफ्ना पहिलो प्राथमिकता रहेको’ बताएका थिए । निर्वाचनपछिको वातावरण तथा सरकार गठनबारे पनि आफूहरूबीच छलफल भएको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भनेका थिए ।

Loading...