नेवार युवती माझबाट मिस नेवाः आइकन छानिने

   माघ १९,काठमाडौँ /   
काठमाडौं÷रेक्स फेसन होमले मिस नेवाः आइकन २०१८को आयोजना गर्ने भएको छ ।
रेक्स फेसन होमले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो चैत १० गते काठमाडौंको आर्मी अफिसर्स क्लबमा मिस नेवाः आइकनको दोश्रो संस्करण आयोजना गर्न लागेको जानकारी गराएको हो । २ वर्ष अगाडि मिस नेवाः आइकन २०१६सँगै शुरुवात भएको कार्यक्रमको दोश्रो संस्करणसँगै यो वर्ष निरन्तरता दिन लागिएको हो ।
कार्यक्रममा रेक्स फेसन होमका प्रबन्ध निर्देशक खगेश रंजीतले नेवार युवतीहरु माझ नेतृत्व विकासको साथै लुकेका प्रतिभा उजागर गर्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गर्न लागिएको बताउनुभयो । पत्रकारको प्रश्नको उत्तर दिंदै प्रवन्ध निर्देशक रंजीतले अन्तिम प्रतिस्पर्धामा प्रथम हुनेलाई रु. ३० हजार नगद साथै ७ तोलाको चाँदिको ताज पुरस्कार दिइने जानकारी दिनुभयो । साथै, मिस नेवाः आइकन २०१८ उपाधि विजेतालाई एअर होस्टेस तालीमको साथै जुम्बा, जिम, फिजिकल फिटनेसको तालीम पनि निःशुल्क उपलब्ध गराइने भएको छ । प्रतियोगीतामा दोश्रो हुनेलाई रु. २० हजार नगदसहित ४ तोलाको चाँदिको ताज र तेश्रोलाई रु. १० हजारसहित ३ तोलाको चाँदिको ताज पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ । प्रतियोगीताका अन्य टाइटल बिजेता प्रत्येकलाई रु. ५ हजार पुरस्कार दिइनेछ ।
रेक्स फेसन होमका प्रमुख कार्यकारी अधिकृत रेक्स रंजीत बढिमा ३० जना प्रतिस्पर्धी बीचमा अन्तिम प्रतिस्पर्धा गरी मिस नेवाः आइकन २०१८ चयन गरीने जानकारी दिनुभयो । कार्यकारी अधिकृत रंजीतले नाम दर्ता गराउनेहरुबाट अडिसन गरी छनौटमा परेकाहरुको बीच अन्तिम प्रतिस्पर्धा हुने बताउँदै अडिसनमा सक्षमलाई मात्र नभइ, क्षमता विकासको सम्भावनालाई सम्मपनि ध्यान दिइने बताउनुभायो ।
प्रतियोगीताका लागी एसईई पास भइसकेका १६ देखि २४ वर्षसम्मका नेवार समुदायका युवतीहरुले आफ्नो नाम दर्ता गराउनसक्नेछ । काठमाडौं उपत्यकाभित्रकाले माघ २७ गतेसम्म र उपत्यका बाहिरकाले फागुन ४ गतेसम्म नाम दर्ता गराउनेसक्ने आयोजकले जनाएको छ । त्यसैगरी उपत्याका भित्रका प्रतिस्पर्धीको माघ २८ गते र बाहिरका प्रतिस्पर्धीको फागुन ५ गते अडिसन हुनेछ । अडिसनबाट छनौटमा परेकालाई क्याटवाल्क लगायत विभिन्न तालीम दिइ अन्तिम प्रतिस्पर्धाको लागी तयार गरीनेछ । काठमाडौं उपत्यका बाहिरका सहभागीहरुको लागी काठमाडौंमा बास र खानामा ५० प्रतिशत खर्च आयोजकले व्यहोर्ने जनाएको छ ।

रेक्स फेसन होमका सल्लाहकार साथै ह्याउँनिभाः पुचःका सदस्य अनुपसिं सुवालले नेवार युवतीमाझ नेतृत्व र क्षमताको विकास गर्ने रेक्सको अभियानमा आफुहरुले पनि सहकार्य गर्न पाउँदा पुचःले गौरव महसूस गरेको बताउनुभयो ।
कार्यक्रम रेक्स फेसन होमले आयोजना गर्न लागेको छ भने कार्यक्रमको आयोजनामा ह्याउँनिभाः पुचःले पनि सहकार्य गरीरहेको छ ।

Loading...