अदालतबाट विद्यालयका प्रअ र अध्यक्षलाई एक हजार रुपैयाँ जरिवाना

कञ्चनपुर, १७ माघ । उच्च अदालत, दीपायलको महेन्द्रनगर इजलासले अपहेलना मुद्दामा कञ्चनपुरको भीमदत्तनगरपालिका बाराकुण्डास्थित प्रगति युवा आधारभूत विद्यालय अध्यक्ष कटकबहादुर कुँवर र निमित्त प्रधानाध्यापक गणेशप्रसाद पाण्डेयलाई जरिवाना गरेको छ ।

महेन्द्रनगर इजलासका न्यायाधीयद्वय डिल्लीराज आचार्य र दिनेशप्रसाद यादवको संयुक्त इजलासले दुवै जनालाई जनही एक÷एक हजार रुपैयाँ जरिवनाको सजाय गरेको हो । इजलासले एक वर्षअघि शिक्षक कर्णबहादुर नेगीलाई बिदा स्वीकृति गरी तलब भत्ता दिन र हाजिरी गराउन दिएको परमादेश नमानेपछि शिक्षक नेगीले गत जेठमा अध्यक्ष र निमित्त प्रधानाध्यापकविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गरेका थिए ।

शिक्षक नेगीको ७५ दिनको विरामी बिदा स्वीकृत गरी तलब भत्ता दिनुपर्ने अदालतको आदेश थियो । अदालतबाट जारी भएको उल्लिखित आदेशअनुसार निवेदकलाई अनावश्यक हैरानी (दुःख) दिने र साधिकार न्यायापालिकाको अन्तिम आदेश (परमादेश)को अवज्ञा गरी परोक्षरूपमा न्यायिक प्रभावकारितामा आँच पु¥याउने कार्य गरी अदालतको अवहेलना गरेको देखिन आएको फैसलामा उल्लेख गरिएको छ ।

अदालतले तत्कालीन जिल्ला शिक्षा अधिकारी श्याम सिँह धामीलाई नोटिसमा राख्ने सम्बन्धी जानकारी शिक्षा विभागमा पठाउनु आदेश दिएको छ । उच्च सरकारी वकिल कार्यालयले शिक्षा विभागमा जानकारी नपठाएकाले आदेश र निर्णयसहित पठाउन आदेश दिएको हो । विद्यालयका शिक्षक नेगीले अदालतले आफूलाई न्याय दिएको बताए ।

“बिदा बस्दा स्वीकृत नगर्ने, हाजिरी लगाउन नदिने लगायतका कार्य भएपछि अदालतको शरणमा गएको थिएँ”, उनले भने, “आदेशले न्याय दिएको छ, यसले म खुशी छु ।”

अदालतको आदेश कार्यान्वयन गर्न खोज्दा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम ढोलीलाई जातीय विभेद गर्दै अध्यक्षबाट हटाइएको थियो । विसं २०७१ मंसिरमा हाजिर भएका शिक्षक नेगीले विसं २०७२ पुस २९ गतेदेखि ७५ दिनको बिरामी बिदा माग गरेका थिए ।

Loading...