यसरी गरे माओवादी केन्द्रका नेताहरुले सहिद वेपत्ताको करोडौ रकम हिनामिना

पाेखरा, १६ माघ । कास्कीको पोखरा स्थित नयाँ बजारमा रहेको गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी सस्था लिमिटेटले शहिद बेपत्ता अक्षयकोषको सवा करोड रकम हिनामिना गरेको खुलासा भएको छ ।

शहिद बेपत्ता अक्षयकोष मार्फत पोखरामा शहिद मेमोरियल आवासीय माध्यमिक विद्यालयका तर्फबाट उक्त सहकारीको मुद्दती खातामा जम्मा गरिएको १ करोड भन्दा बढी रकम फिर्ता नगरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीमा उजुरी परेपछि उक्त कुराको खुलासा भएको हो ।

शहीद तथा बेपत्ता परिवारका नाममा स्थापना गरिएको अक्षयकोषको रकम गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी सस्था लिमिटेटको मुद्दती खातामा जम्मा गरिएको तर सहकारीले फिर्ता नगरेको भन्दै हालै नेकपाको न्याय विभागमा उजुरी परेको बताइएको छ ।

अक्षयकोषको रकम फिर्ता गर्न सम्बन्धित पक्षले करिब २ वर्षदेखि पटक-पटक ताकेता गरेपनि उक्त सहकारीले रकम फिर्ता गर्न आनाकानी गरिरहेपछि रकम फिर्ता गर्न किन ढिलासुस्ती भएको भनेर जनस्तरबाटै खोजी गरिन सुरु गरेको थियो ।

माओवादी शान्तिप्रक्रियामा आएपछि ६४ सालको चैतमा सम्पन्न पहिलो संबिधानसभामा माओवादीका तर्फबाट निर्वाचित करिब २ दर्जन सभासदहरुबाट प्रति व्यक्ति २ लाख रुपियाँका दरले उठाएर शहीद तथा बेपत्ता परिवारका सन्ततिको शिक्षा तथा स्वास्थ्यमा लगानी गर्न भनि अक्षयकोष खडा गरिएको थियो ।

उक्त अक्षयकोषमा जम्मा भएको करिब १ करोड बढी रकम गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी सस्था लिमिटेटको खाता नम्बर ३०२०५३२ मा जम्मा गरिएको स्रोतले जनाएको छ । उक्त रकम सहकारी र गण्डकी सञ्चार गृह सञ्चालान गरिरहेका माओवादी नेता कार्यकर्ताहरुले चलाएको र समयमै फिर्ता नगरी हिनामिना गरेको श्रोतले बताइएको छ ।

गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी संस्था लिमिटेडले हाल रेडियो गण्डकी, गण्डकी टेलिभिजन र गण्डकी खबर राष्ट्रिय दैनिकलगायतका सञ्चारमाध्यम सञ्चालान गरिरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टीमा उजुरी

यस्तै गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी संस्थाले उक्त रकम हिनामिना गरेपछि नेपाल कम्युनिष्ट पार्टीमा उजुरी परेको सो पार्टीले जनाएको छ । नेकपाका जिल्ला सेक्रेटरी रुपेशले सोमबार एक बिज्ञप्ति जारी गर्दै आफ्नो पार्टीमा उजुरी परेको जानकारी दिएका छन् ।

सञ्चारकर्मीलाई सम्बोधन गरेर जारी गरिएको बिज्ञप्तिमा अक्षयकोषबाट प्राप्त रकमको ब्याज शहीद तथा बेपत्ता परिवार र उनका सन्ततिको शिक्षा एवं स्वास्थ्यमा खर्च गरिनुपर्ने हुँदा सहकारीसंग समयमा नै रकम सम्बधित पक्षले आग्रह गरेको तर सहकारीले विगत दुईवर्षदेखि रकम फिर्ता गर्न आनाकानी गरिरहेकोले पार्टीको ध्यानाकर्षण भएको बताइएको छ ।

गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी संस्थाले यसरी अक्षयकोषको रकम फिर्ता गर्न वेवास्ता गरेपछि आफ्नो पार्टीमा उजुरी परेको भन्दै जिल्ला सेक्रेटरी रुपेशले आफ्नो पार्टीको तर्फबाट आधिकारिक धारणा सार्बजनिक गर्न बिज्ञप्ति जारी गरेर जनतालाई सुसूचित गरिएको बताएका छन् ।

उनले बिज्ञप्ति मार्फत यस्तो गैरजिम्मेवार हर्कत नगर्न गण्डकी माछापुच्छ्रे सञ्चार सहकारीलाई चेतावनी दिएका छन् । रुपेशले इमान्दार मिडियासँग कुरा गर्दै यदि उक्त सहकारीले साँवा ब्याज फिर्ता नगरेको खण्डमा जनयुद्ध एवम् जनआन्दोलनका शहीद, बेपत्ता परिवारको भावना र उजुरीको उच्च सम्मान गर्दै आफ्नो पार्टी संघर्षको कदम अघि बढाउन बाध्य हुने बताएका छन् ।

नेकपाले अक्षयकोषको रकम फिर्ता गराउन भूमिका निर्वाह गर्न सहकारीका तत्कालिन अध्यक्ष लक्षण गुरुङ्ग, शहिद प्रतिष्ठानका अध्यक्ष पूर्व मन्त्री हितराज पाण्डे, गण्डकी सञ्चार गृहका तत्कालिन प्रमुख लोक प्रसाद बन्जाडे ‘अक्कल’ र शहिद आवासीय माध्यमिक विद्यालयको अध्यक्ष हरि अधिकारी ‘कुमार’ गण्डकी माछापुच्छ्रे सञ्चार सहकारीका बिशाल बास्तोला लगायतका व्यक्तिसँग आग्रह गरेको र नमानेको खण्डमा पार्टीले कारबाही प्रक्रिया अगाडी बढाउने बताएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी राष्ट्रिय जन जागरण तथा भण्डाफोर अभियान सुरु गरेकै दिन गण्डकी माछापुच्छ्रे सञ्चार सहकारीको उक्त अनियमितताका बारेमा नेकपाको न्याय बिभागमा उजुरी परेको छ ।

आफ्नो पार्टीको न्याय विभागमा उजुरी पर्न बितिकै पार्टीले बिज्ञप्ति जारी गरेको र यस प्रकारको गलत हर्कतको भण्डाफोर गर्न र पीडितलाई न्याय दिलाउने पक्षमा ऐक्यवद्धता जनाइदिन नेकपा कास्कीले सहकारीका सञ्चालक, सहकारी डिभिजन कार्यालय कास्की, सञ्चारकर्मी एवम् मानवअधिकारवादी संघ-संस्था र आम जनसमुदायमा आव्हान पनि गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीले माघ १५ गतेबाट सुरु गरेको अभियानका क्रममा भ्रष्टाचार, कमिशनखोरहरुको भण्डाफोर र दलालहरुको गलत क्रियाकलापहरु सार्बजनिक गर्दै जाने बताएको छ ।

नेकपाले काठमाडौँसहित देशका सबै जिल्लामा एकै साथ राष्ट्रिय जन जागरण तथा भण्डाफोर अभियानको उद्घाटन गरेको छ ।

माओवादीको सहकारीले यस्तो गर्दा के भन्छन इन्चार्ज करण

गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी सस्था लिमिटेटका अध्यक्ष बिशाल बास्तोलासँग सम्पर्क हुन नसकेपछि हामीले उक्त सहकारी माओवादीले सञ्चालान गरिरहेको हुनाले माओवादी केन्द्रका कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङसँग सम्पर्क गरेका थियाैं ।

गुरुङले सहकारीमा पैसा राखेको कुरा साँचो भएको बताए । गण्डकी माछापुच्छ्रेमा पैसा त राखेकै हुन्’ उनले भने- ‘ब्याज पनि तिरिराखेका छन्, अहिले अक्षयकोषको सबै रकम तिर्ने भनेर तयारी गर्दैछन् ।’ सहकारीले कागज बनाएर अक्षयकोषको पैसा तिर्ने तयारी थालेको उनले बताए । तर विद्यालयले सबै कागजी प्रक्रिया पुरा गरी खाता खोलेर जम्मा गरेकाे आफ्नो रकम फिर्ता लिन खोज्दा सहकारीले अर्को कागज नै बनाउनुपर्ने अवस्था किन आयो भन्ने प्रश्नको जवाफ उनिसँग छैन ।

सहिद आवासीय विद्यालयका अध्यक्ष भन्छन: सहकारीको मुद्दती खाताबाट पैसा झिक्दै – राख्दै गरेका छौं

यसैबीच सहिद आवासीय विद्यालयका अध्यक्ष हरी अधिकारी ‘कुमारले’ सहकारीसँग १ करोडको लेनदेन भएको स्वीकार गरेका छन् । ‘हामीले त्यहाँ पैसा राखेको हो, त्यसलाई अन्त ट्रान्सफर गरौं भन्ने छलफल भाथ्यो’ उनले भने- ‘अलि मिलाएर गर्छौं भने, हुन्छ भन्यौं हामीले । यो त्यति हल्लाखल्ला गर्नुपर्ने बिषय जस्तो मलाई लाग्दैन।’

सहकारीमा जम्मा गरिएको शहिद बेपत्ता अक्षयकोषको रकम आफुहरु आवस्यकता पर्दा झिक्दै र राख्दै गरेको उनको भनाई छ । तर निश्चित प्रतिशत ब्याज प्रदान गरी तोकिएको समय पश्चात मात्र झिक्न सकिनेगरी खोलिएको खातालाई मुद्दती खाता भनिन्छ ।

यस्तो खातामा एक निश्चिच अवधीको लागि मात्र रकम राख्न सकिन्छ । तोकिएको निश्चित अवधीसम्म उक्त खातामा राखिएको रकमलाई झिक्न मिल्दैन । तर अधिकारीको भनाई नै विवादास्पद देखिएको छ ।

कुमारले भने कति समयका लागि उक्त सहकारीमा रकम जम्मा गरेको हो भन्ने बिषयमा बोल्न चाहेनन् । उनले भने- ‘त्यो कुन खाता हो भनेर बुझ्नुपर्छ’ उनले अगाडि थपे- ‘स्कुलको हेडमास्टर र एकाउन्टेन्टको नाममा खाता छ । तर पैसा त झिकिएको छ, केहि समयअगाडि पनि हामीले पैसा झिकेका थियौं ।

आफु अध्यक्ष भएको स्कुल र अक्षयकोषको १ करोड रकम गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी सस्था लिमिटेटको कुन प्रकारको खातामा जम्मा गरिएको छ भन्ने बारे कुमारलाई जानकारी नै छैन । ‘यो कोष परिचालनका लागि पनि ५ जनाको कमिटि गठन गरिएको उनले बताए ।

Loading...