वाम गठबन्धनकै सरकारमा जाने उपेन्द्र यादवको तयारी

यादवले भने, “बल केपी ओलीको कोर्टमा छ, कस्तो गोल हान्नुहुन्छ हामी हेर्छौ”

काठमाडौं, १५ माघ । संघीय समाजवादी फोरमले वाम गठबन्धनसँग सहकार्य गरी सरकारमा जाने संकेत गरेको छ । फोरमका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धन र त्यसका नेता केपी ओलीको हातमा सबै कुरा छोडेको बताएका छन् ।

यादवले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै केपी ओलीको कोर्टमा बल रहेको बताए । ओलीले कस्तो गोल हान्नुहुन्छ भन्ने आफूहरुले हेरिरहेको उनले प्रष्ट पारे ।

यादवले आफ्नो पार्टीको एकमात्र कुरा संविधान संशोधन रहेको बताए । त्यसका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुन तयार रहेको बताए । उनले संविधान संशोधनका मुद्दाका बारेमा गठबन्धनले स्पष्ट धारणा दिनुपर्ने र उक्तधारणासँग आफूहरु सहमत भएको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।

यादवले माओवादी र कांग्रेस विगतमा नै संविधान संशोधनका लागि तयार भएको स्मरण गराउँदै अब एमालेले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए ।

“बल एमालेको कोर्टमा छ, एमाले भित्र पनि अध्यक्ष केपी ओलीजीको कोर्टमा बल छ, कस्तो गोल हान्नुहुन्छ त्यो भने हेर्न बाँकी छ । हामी सरकारसँग सहकार्य गर्न तयार छौँ”–यादवले भने ।

उनले अघि भने, “एमालेको स्पष्ट धारणा के हो ? त्यो धारणासँग हाम्रो धारणा मेल खान्छ किखाँदैन ? हिजोका दिनमा एमालेले संविधान संशोधनको विरोध गर्यो भन्दैमा अहिले पनि गर्छ भन्ने छैन ।”

यद्यपी उनले एमाले–माओवादी नेतृत्वको बाम गठबन्धनले सरकार चलाउनका लागि स्पष्ट जनादेश पाएकाले आफूहरु सरकारमा जान आवश्यक भने नरहेको जिकिर गरे ।

“हाम्रो पार्टीले सरकारमा जाने जनादेश पाएको छैन । तर गठबन्धनले हाम्रो आवश्यकता महशुस गर्यो भने हामी सहभागी हुन तयार छौँ”–यादवले भने । “उनीहरुको बहुमत छ हामी किन सरकारमा जाने ? बहुमत नभएको भए सहयोगको आवश्यकता पर्न सक्थ्यो ।”

आफूहरु अहिले पनि आन्दोलनरत पक्ष भएकाले संविधान संशोधनको मुद्दा छिनोफानो नभएसम्म सरकारमा सहभागी हुन नसक्ने उनको भनाई थियो ।

Loading...