मोदीले केपी ओलीलार्इ एक महिनामा दुर्इपटक कल किन गरे

काठमाडाैं, १० माघ । निर्वाचनबाट ठूलो दल बनेपछि वाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली निर्विकल्प प्रधानमन्त्रीका रूपमा उभिएका छन् । चीननिकट मानिएका केपी ओली भावी प्रधानमन्त्री बन्ने निश्चित भएपछि भारतीय संस्थापन पक्ष ओलीसँगको सम्बन्ध सुधार्ने प्रयासमा लागेको छ ।

वाम गठबन्धन निर्माण चिनियाँ डिजाइनमा भएको आरोप भारतीय पक्षबाट लाग्दै आएको थियो । वाम गठबन्धनले बहुमत जित हासिल गर्दा निर्वाचन भएको झन्डै एक महिना मौन रहेको भारतीय संस्थापन पक्ष र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसयताको एक महिनाभित्र एमाले अध्यक्ष ओलीलाई दुईपटक टेलिफोन गरिसकेका छन् ।

एक महिनाको अन्तरालमा ओलीलाई दुई पटक फोन गरी उनले बधाईसमेत दिए । प्रधानमन्त्री चयनसमेत नभईकन ‘अपकमिङ’ प्रधानमन्त्रीका रूपमा ओलीलाई शुभकामना दिँदै भारत भ्रमणको मौखिक निम्तोसमेत दिएका छन् । स्वास्थ्योपचारका लागि थाइल्यान्ड गएका ओलीलाई स्वदेश फर्किएलगत्तै मोदीले आइतबार टेलिफोन गरी उनको स्वास्थ्य अवस्थाबारेसमेत जानकारी लिएका थिए ।

ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि भारतमा स्वागत गर्न भारत सरकार र भारतीय जनता आतुर रहेको समेत मोदीले बताएका थिए । मोदीले यसपटक पनि भावी प्रधानमन्त्रीका रूपमा ओलीलाई भारत भ्रमणको मौखिक निम्तो दिएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । मोदीले नयाँ सरकार गठनका विषयमा समेत ओलीसँग जिज्ञासा राखेका थिए ।

यता, नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीसमेत पछिल्लो समय राजनीतिक वृत्तमा सक्रिय बन्दै गएका छन् । उनले राजनीतिक दलका उच्च नेतादेखि दोस्रो तहका नेताहरूसँग भेट गर्दै आएका छन् । यसअघि नेपालमा निर्वाचन सम्पन्न भएको लामो समयसम्म भारतीय संस्थापन पक्षले कुनै प्रतिक्रिया दिएको थिएन । यद्यपि, भारतीय राजदूत पुरीको सक्रियता र उनी दिल्ली पुगेर फर्किएलगत्तै भारतीय प्रधानमन्त्रीले नेपालका नेतालाई फोन गरी बधाई दिएका थिए । ६ पुसमा उनले टेलिफोन गरी प्रधानमन्त्री शेरबहादुर देउवासँगै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरी बधाई तथा शुभकामना दिएका थिए ।

नेपालका राजनीतिक दलका नेताहरूसँग भेट गरी भारतीय राजदूत पुरी दिल्ली गएको अर्को दिन नै भारतीय प्रधानमन्त्रीको नेपालमा फोन आएको थियो । पुरी दिल्ली जानुअघि ३ पुसमा प्रचण्डसँग भेट र २८ मंसिरमा एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए । त्यसबीचमा उनले प्रधानमन्त्री देउवासँग पनि कुराकानी गरेका थिए ।

यी गतिविधिले भारतीय संस्थापन पक्षले नेपालको पछिल्लो घटना क्रम नजिकबाट नियालिरहेको छ भन्ने संकेत गर्छ । राजदूत पुरीले नेपालसम्बन्धी ब्रिफिङ दिल्लीसम्म पु¥याउँदै आएका छन् । २०७२ असोजमा संविधान जारी भएसँगै संविधानप्रति भारतीय संस्थापन पक्षले असन्तुष्टि जनाउँदै नेपालमा नाकाबन्दी लगाएपछि तत्कालीन प्रधानमन्त्री ओलीले चीनसँग सम्बन्ध बढाएका थिए । त्यसपछि भारतीय संस्थापन पक्षले ओलीलाई ‘प्रो चाइनिज’ लिडरका रूपमा व्याख्या गर्दै आएका छन् ।

यता, नेकपा एमालेका नेता तथा नेपाल–भारत प्रबुद्ध समूहका नेपालतर्फका सदस्य डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्ध आगामी दिनमा थप उचाइमा पुग्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भट्टराईले नेकपा एमाले नेतृत्व सरकारमा समेत नेपालको परराष्ट्र नीतिमा परिवर्तन नहुने बताए ।

नेपालको विदेश नीति आफ्नो राष्ट्रिय हितअनुकूल नै अघि बढ्ने भन्दै उनले आगामी दिनमा पनि यही अडानका साथ छिमेकी मुलुकहरूसँग पारस्परिक सम्बन्ध राखिने बताए । ‘हाम्रो दुवै छिमेकी मित्रराष्ट्रहरूसँग गहिरो र फराकिलो सम्बन्ध छ, कसैसँग हामीले वैरभाव राख्नुहुँदैन,’ उनले भनेका छन् ।

नेता भट्टराईले आफ्नो पार्टीका अध्यक्ष ओलीलाई भारतले प्रधानमन्त्रीका रूपमा हेर्न चाहेकोसमेत बताए । ‘हालै भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा देख्न चाहेको छौं भन्नुभयो,’ उनले भने ।

मोदी–ओलीबीचको सम्वादबारे स्पष्ट पार्दै नेता भट्टराईले मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिएको समेत पुष्टि गरे । ‘अध्यक्ष ओलीले भारत भ्रमणमा आउने कुरालाई स्विकार्दै उहाँले पनि मोदीजीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिनुभयो ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१७ को अन्त्यतिर नै नेपाल भ्रमणमा आउने चर्चा भएपनि उनको भ्रमण स्थगन भएको थियो । उनले दुई देशका उच्च राजनीतिक नेतृत्वबीचको वार्ताले दुई देशबीचको सम्बन्ध सुमधुर हुने विश्वाससमेत व्यक्त गरे ।

नेपालमा कुनै उल्लेख्य राजनीतिक घटनाक्रम नभएका बेला निर्वाचन सम्पन्न हुँदासमेत मौन रहेका मोदीको फोन सन्दर्भ नेपालको राजनीतिक र कूटनीतिक वृत्तमा चर्चाको शिखरमा छ ।

Loading...