यसरी हुन्छ राष्ट्रिय सभामा मतदान, को को ले पाउँछन त मतदान गर्न ?

काठमाडौं, १० माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा आज (बुधबार) उम्मेदवारी दर्ता हुँदै छ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन प्रयोजनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइसकेको आयोगले जनाएको छ ।

प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को दिपायलमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । सरकारले प्रदेशको अस्थायी केन्द्र नतोक्दै आयोगले उच्च अदालत रहेका स्थानमा निर्वाचन अधिकृतको कार्यालय खोलेको थियो ।

निर्वाचित हुने प्रत्येक प्रदेशबाट ८ सदस्य (महिला ३, दलित १, अपांगतारअल्पसंख्यक १, अन्य ३) रहने छन् । आयोग प्रवक्ता नवराज ढकालले बिहान १० देखि ४ बजेसम्म सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्थापन मिलाइएको बताए ।

निर्वाचक मण्डलबाट एक प्रस्तावक र एक समर्थक लिएर योग्यता पुगेका जोसुकै व्यक्ति राष्ट्रिय सभा सदस्य उम्मेदवार हुन पाउने कानूनी प्रावधान छ । राष्ट्रिय सभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख छन् ।

प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ समेत गरी कुल मतदाता २ हजार ५६ छन् । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ सदस्य चुनिने छन् ।

संविधानअनुसार उक्त संख्यामा कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीन जना हुनेछन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एकल संक्रमणीय तथा बहुमतीय दुवै प्रणाली अपनाइनेछ ।

अध्यादेशले एक सदस्य मात्र निर्वाचित गर्नुपर्ने दलित र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको निर्वाचन बहुमतीय प्रणालीबाटै गरिने व्यवस्था गरेको छ । एक जना मात्रै छानिने समूहमा एकल संक्रमणीय मत प्रणाली लागू नहुने भएकाले त्यो व्यवस्था गरिएको हो ।

महिला र अन्य समूहबाट चुनिने ६ सदस्यका हकमा भने एकल संक्रमणीय मत प्रणाली नै लागू हुनेछ । ३५ वर्ष पूरा भएको र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदाता सूचीमा नाम भएको व्यक्ति उम्मेदवार हुन पाउने छन् ।

आयोगका अनुसार उम्मेदवारले मनोनयनपत्र दर्ता गराउन जाँदा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता सूचीमा नाम भएको प्रमाण र दलको उम्मेदवार हुन चाहे सम्बन्धित दलको औपचारिक पत्र बोकेर जानुपर्छ । उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ धरौटी तोकिएको छ ।

मुलुकभरि २ हजार ५६ मतदाता छन् । प्रदेशसभा सदस्य ५ सय ५० जनाले मतदान गर्न पाउनेछन् । स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी १ हजार ५ सय ६ जनाले मतदान गर्न पाउने छन् ।

Loading...