अब अनलार्इनबाटै प्रेस काउन्सिलमा उजुरी दिन सकिने

काठमाडौं, ७ माघ । प्रेस काउन्सिलसँग सम्बन्धित उजुरीहरु अब अनलाइनबाटै गर्न सकिने भएको छ । आइतबार एक कार्यक्रमबीच प्रधान न्यायाधीश गोपाल पराजुलीले काउन्सिलको यसखाले अनलाइन प्रणालीको उदघाटन गरे ।

प्रेस काउन्सिल नेपालले सूचना विभागमा आयोजना गरेको अनलाइन उजुरी प्रणालीको सञ्चालन शुभारम्भ समारोहमा प्रधान न्यायाधीश पराजुलीले प्रणालीको उदघाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै काउन्सिलले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै पेशागत आचरण कायम गर्न, नियमन–अनुगमन गर्न र स्वस्थ, सभ्य, मर्यादित, व्यवस्थित पत्रकारिताको विकासका लागि सवै पक्ष लाग्नुपर्ने धारणा प्रधान न्यायाधीश पराजुलीले राखे ।

कुनै पनि मौलिक हकहरु निरपेक्ष नभएको उल्लेख गर्दै आफूलाई प्राप्त अधिकार सीमाविहीन हुन्छ र त्यसमा कसैको नियन्त्रण, हद वा बन्देज हुँदैन भन्ने अवधारणाले समाजका कुनै पनि संस्था, निकाय अपेक्षाकृत सशक्त हुन नसक्ने उनले बताए । सभ्य, शिष्ट र सौम्य पत्रकारिताले मर्यादा कायम रहने उल्लेख गर्दै पराजुलीले न्यायालयमा विचाराधीन मुद्धामा प्रभाव पर्ने गरी मिडियाबाट प्रकाशन–प्रसारण हुने गरेको दुःखेसो समेत पोखे ।

टुँडिखेल, रत्नपार्क र मण्डलाबाट निर्णय हुने हो भने लोकतान्त्रिक मूल्य र मान्यता अनुरुप राज्यबाट स्थापित निकायको अन्त्य त्यही विन्दुबाट हुने जिकिर गर्दै पराजुलीले न्यायालय जनआस्थामा टिकेको आवाजविहीन संस्था भएकोमा जोड दिए । ‘राजनीति गर्ने त कुरै छाडौं, राजनीतिक गन्ध वा संकेतसम्म देखिने कुनै प्रकारको कार्यबाट न्यायालय पूर्णतः अलग रहन्छ’– उनले भने ।

संकटकालका बेला नेपालको न्यायालय र प्रेस एक–अर्काका रक्षक भएर उभिएको उल्लेख गर्दै न्यायपालिकालाई बचाउने सामथ्र्य सञ्चारजगत्मा हुनुपर्ने धारणा समेत उनले राखे ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले अन्य लोकतान्त्रिक मुलुकको तुलनामा नेपालमा प्रेस स्वतन्त्रताको ज्यादा प्रत्याभूति भएको बताउँदै पत्रकारका नाममा अराजक, ठग्दै हिँड्ने, प्रहरी अधिकारीलाई समेत दुःख दिने व्यक्तिमाथि कारबाही गर्दा अदालतले रोक्नु नहुनेतर्फ ध्यानाकर्षण गराए । एक न्यायिक निकायले गरेको निर्णयमाथि अर्को न्यायिक निकायले दोहोरो सुनुवाई नगरीकनै ‘स्टे अर्डर’ दिनु उपयुक्त नभएको धारणा उनले राखे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष तथा काउन्सिलका सदस्य गोविन्द आचार्यले पत्रकार महासंघको विधानमा पत्रकार आचारसंहिता उल्लंघन गर्नेहरुको महासंघ सदस्यता खारेज गर्ने प्रावधान भएको स्मरण गराए । महासंघको सहमतिमा जारी पत्रकार आचारसंहिता पालना नगर्ने पत्रकारलाई काउन्सिलले कारबाही गर्न सक्ने भन्दै आचार्यले त्यसमा महासंघको समर्थन रहने बताए । केही मिडियाले गर्दा सिङ्गो पत्रकारिताजगत् बद्नाम हुँदै गएको तर्फ सजग र सतर्क रहन आचार्यले पत्रकारलाई आग्रह गरे ।

काउन्सिलका सदस्य इश्वरीप्रसाद ओझाले काउन्सिलले गरिरहेको काममा रुपान्तरण आवश्यक रहेकोमा अनलाइनबाटै उजुरी दिन सकिने व्यवस्थाले काउन्सिलसम्म जनताको सहज पहुँच पुग्ने विश्वास व्यक्त गरे । प्रेस काउन्सिल पत्रकारको प्रहरी भएको धारणा ओझाले राखे । लोकतन्त्र स्थापनामा प्रेसको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले पत्रकारितासँग सम्बन्धित विषयमा अबदेखि अनलाइनबाटै उजुरी दिन सकिनेमा प्रसन्नता व्यक्त गरे ।

प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौंलागाईंले सञ्चालन गरेको कार्यक्रममा काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले अनलाइन उजुरी प्रणालीको प्रयोग र काउन्सिलको समग्र गतिविधिको संक्षिप्त विवरणसहितको कार्यपत्र प्रस्तुत गरे ।

अब विश्वका जुनसुकै स्थानबाट प्रेस काउन्सिल नेपालको वेबसाइटमा गएर ‘अनलाइन कम्प्लेन’ मा क्लिक गरी आवश्यक कागजात, विवरण भरेर पत्रकारितासँग सम्बन्धित उजुरी दर्ता गर्न सकिनेछ ।

Loading...