प्रहरीको बाक्लो घेरा देखेपछि दिपक मनाङे सपथ नलिएरै टाप

पोखरा, ७ माघ । प्रहरीले पक्राउ गर्ने पक्कापक्की नै भएकाे थाहा पाएपछि मनाङबाट प्रदेश सभा सांसदमा निर्वाचित सपथग्रहण समाराेहमा अनुपस्थित भएका छन् । ४ नम्बर प्रदेशको अस्थायी केन्द्र पाेखरामा अाज अायाेजना गरिएकाे सपथ ग्रहण समारोहमा मनाङे अनुपस्थित भएका हुन् ।

मनाङे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट विजयी भएका थिए । एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । पछि एमालेको समर्थनमा विजयी भए । तर, प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भए पनि उनको पद भने कायमै छ ।

प्रदेश चारका प्रदेश सांसदहरुको सपथग्रहण समारोह पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रमा रहेको हलमा आयोजना गरिएको थियो । प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार बिहान पदभार ग्रहण गरेलगत्तै सपथ ग्रहणको कार्यक्रम भएको थियो ।

ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई पाँच वर्षको जेल सजाय गर्ने पुनरावेदन अदालतको फैसलालार्इ सर्वोच्च अदालतले सदर गरेको थियो । मनाङ्गे शपथ ग्रहण कार्यक्रममा उपस्थित भएको भए पक्रिने जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अशोक सिहंले बताएका छन् ।

प्रहरीको फरार सूचीमा रहेका मनाङ्गेलाई पक्राउ गर्न आदेश आइसकेको छ । एसपी सिहंले भने, ‘प्रहरीको फरार सूचीमा रहेका मनाङ्गेले शपथ लिन सक्दैनन् । शपथ लिन आए यहीँ पक्राउ गर्ने आदेश थियो । आएको भए पक्रेर बुझाउँथ्यौ ।’

स्राेतका अनुसार दिपक सपथ जसरी पनि लिने तयारी गरिरहेकै थिए । त्यसका लागि उनले प्रहरीका उच्च अधिकारीदेखि राजनीतिक नेताहरुसँग रहेकाे अाफ्नाे सम्बन्ध पनि प्रयाेग गरेका थिए । उनले अरु कुनै कानुनी उपाय छ कि भनेर अाफ्ना वकिललार्इ लगाएका पनि थिए । तर, प्रहरीले अाफूलार्इ जसरी पक्राउ गर्ने देखिएपछि पाेखराकाे नजिक पुगेर पनि उनी फर्किएकाे बताइन्छ । 

चार नम्बर प्रदेशका प्रमुख बाबुराम कुँवरले प्रदेश सभाका जेष्ठ सदस्य नेकपा एमालेका तर्फबाट नवलपरासीको बर्दघाट सुस्ता पुर्बमा पर्ने २ (ख) बाट निर्वाचित ६७ बर्षका जनकलाल श्रेष्ठलाई सपथ खुवाएका थिए ।

प्रदेश प्रमुखबाट सपथ खाएसँगै नगर बिकास प्रशिक्षण केन्द्रमा रहेको प्रदेश सभाहलमा गएर श्रेष्ठले उपस्थित अन्य ५७ जना सदस्यहरुलाई प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा १ मा ब्यवस्था भए बमोजिम सपथ खुवाएका हुन् ।

प्रदेश सभाका लागि निर्बाचित ३६ र २४ समानुपातिक गरी ६० जना सदस्य रहेकोमा श्रेष्ठ सँगै ५८ जनाले आईतबार सपथ ग्रहण गरेका हुन् । बाँकी २ जना अनुपस्थित रहेका थिए । राजिव गुरुङ उर्फ दिपक मनाङे पक्राउ पर्ने डरले अनुपस्थित रहे भने तनहुँबाट निर्वाचित एमाले सांसद रामबहादुर गुरुङ विदेश गएका कारण अनुपस्थित रहेकाे बताइएकाे छ । 

प्रदेश नम्बर ४ मा एमाले, कांग्रेस, माओबादी, जनमोर्चा र नयाँ शक्ति गरी ५ दलको प्रतिनिधित्व रहेको छ । ६० सदस्य मध्ये एमालेका २५, कांग्रेसका १५, माओवादीका १४, जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ जना रहेका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधीकारीका अनुसार निर्बाचन परिणम आएको २० दिन भित्र संसद बस्नुपर्ने नियम भएकाले सोहि अनुसार अर्को बैठक बस्ने तर मिति भने तय भइसकेको छैन

Loading...