चिसोमा कठ्याङ्ग्रिएर रौतहटमा मात्र २४ को मृत्यु

राैतहट, ७ माघ । रौतहटमा चिसोले मर्नेको संख्या २४ पुगेको छ । चिसोकै कारण ज्यान गएको भनेर आफन्तले प्रहरीमा दर्ता गरेका मृतकको संख्या २४ पुगेको हो । तर, रौतहटका उपरीक्षक यज्ञविनोद पोखरेलले प्रहरीमा दर्ता भएका सबैको मृत्यु जाडोकै कारणले भएको निश्चित नभएको बताए ।

पोस्टमार्टम रिपोर्टपछि मात्र जाडोबाट या अन्य कारणले मृत्यु भएको यकिन हुने उनको भनाइ छ । चिसोले मृत्यु हुनेको परिवारलाई राज्यले एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । सरकारी राहतका लागि पनि कालगतिले मरेकालाई चिसोले ज्यान गएको भनेर दर्ता गर्ने क्रम बढेको हुन सक्ने स्थानीय प्रशासनको आशंका छ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालयमा मृतकको नाम दर्ता गराउन आउनेको संख्या बढ्न थालेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

जिल्ला दैवीप्रकोप उद्धार समिति रौतहटले पोस्टमार्टम रिपोर्टको आधारमा चिसोबाट ज्यान गुमाएका ११ जनाको परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत प्रदान गरेको छ । चिसोबाट ज्यान गएको पुष्टि भएकाहरूको परिवारलाई राहत दिइएको रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुरञ्जन बरालले जानकारी दिए ।

लगातार एक महिनाको शीतलहरले पीडित भएका रौतहटवासीले शुक्रबारदेखि केही राहत महसुस गरेका छन् । शुक्रबार र शनिबार रौतहटमा घाम लागेकाले स्थानीयले राहत महसुुस गरेका हुन् । बिहान–बेलुका बाक्लो हुस्सु र शीतलहरी भए पनि दिउँसो १२ बजेपछि रौतहटका सबैजसो स्थानमा घाम लाग्न थालेको छ ।

घाम लागेपछि सर्वसाधारण घरबाहिर निस्कन थालेका छन् । चिसोले सुनसानजस्तै बनेका जिल्लाका सरकारी कार्यालयमा पनि सेवाग्राहीको चाप बढ्न थालेको छ । दिउँसो घाम लाग्न थालेकाले कार्यालयमा सेवाग्राहीको संख्यामा वृद्धि भएको चन्द्रपुर नगरपालिकाकी उपमेयर रामरती चौधरीले बताइन् ।

शुक्रबार र शनिबार दिउँसो घाम लागेपछि चन्द्रनिगाहपुर, गौर, गरुडा, कटहरियालगायत बजारमा चहलपहल बढेको छ । घाम लागेकाले व्यापार–व्यवसायसमेत बढेको चन्द्रनिगाहपुरका स्थानीय व्यापारी रिसब आचार्यले बताए ।

Loading...