देशभरका काँग्रेसको भक्तपुरमा भेला

भक्तपुर, ७ माघ । नेपाली काँग्रेस शुद्धीकरण तथा सुदृढीकरण राष्ट्रिय अभियान भक्तपुरबाट शुरु भएको छ । ‘हाम्रो अभियान हाम्रो काँग्रेस’ भन्ने नाराका साथ नेपाली काँग्रेस शुद्धीकरण तथा सुदृढीकरणका लागि एक दिने कार्यशाला भक्तपुरबाट शुरु भएको हो ।

यसअघि सम्पन्न स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा गर्दै पार्टीलाई मजबुत बनाउने अभियान भक्तपुरबाट शुरु भएको नेपाल तरुण दलका पूर्व अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता विनोद कायस्थले बताए ।

पार्टीमा धेरै वर्ष योगदान दिएका, प्रजातन्त्रका लागि पटकपटक जेल परेका, अवसर र जिम्मेवारीबाट वञ्चित भएका, पार्टीको राजनीतिमा निरन्तर क्रियाशील रहेका, तरुण, विद्यार्थी, महिला तथा देशभरका १३० पुराना नेता एवं पूर्वसांसदको कार्यशालामा सहभागिता रहेको थियो ।

कार्यशालाबारे जानकारी दिँदै कायस्थले भने, “देशमा हालै सम्पन्न तीन वटै तहको निर्वाचनको समीक्षा गर्दै काँग्रेसले भोग्नु परेको पराजयको कारण खोज्ने, आएको समस्या केलाउने, अबका चुनौतीहरु के के छन् पहिचान गर्ने, पार्टीको अबको कार्यदिशा के हुन सक्छ भन्ने खोज्ने र पार्टीको विधानलाई समयानुसार परिमार्जन गर्नेबारेमा सुझाव संकलन गर्नका लागि कार्यशाला आयोजना गरेका हौँ ।”

भेलाले काँग्रेसको कुनै व्यक्ति वा गुटको पक्ष वा विपक्षमा नलागी नितान्त काँग्रेस पार्टीलाई सुदृढ बनाएर लैजानेबारे बृहत छलफल गरी घोषणापत्र जारी गर्ने जानकारी दिँदै उहाँले यो अभियानलाई देशका सातवटै प्रदेशमा लैजाने बताए ।

कार्यशालामा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं काँग्रेसका नेता तारानाथ दाहालले पार्टीलाई आदर्श र सिद्धान्तबाट चलायमान गर्दै नीति नियमबाट चलाउन सुझाव दिनका लागि यो अभियान महत्वपूर्ण रहने बताए ।

देशभरबाट भेला भएका नेताहरुले काँग्रेसलाई व्यक्तिवादी रुपमा लैजाने र गुट बनाएर जाने प्रवृत्तिको अन्त्य गर्दै ‘सिंगो काँग्रेस हाम्रो काँग्रेस’को रुपमा अगाडि बढाउन देशभरका काँग्रेस लाग्नुपर्नेमा जोड दिइएको थियो ।

Loading...