अमेरिकी सरकारको खर्च विधेयक सिनेटबाट पारित नभएपछि ट्रम्प तनावमा

एजेन्सी । अमेरिकी माथिल्लो सदन (सिनेट) सरकारको खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएको छ । खर्चसम्बन्धी कानून अभावका कारण सरकारी कामकाजमा समस्या आएको विगत २५ वर्षको अमेरिकी इतिहासमा यो चौँथोपटक हो ।

विधेयक पारित नभएपछि अब धेरै सरकारी सेवामा प्रत्यक्ष प्रभाव देखिने विज्ञहरूको भनाई छ । यो विधेयक अनुमोदन भएको भए संघीय निकायहरूलाई उपलब्ध हुने खर्च एक महिनासम्मका लागि विस्तार गर्न बाटो खुल्ने थियो ।

फेब्रुअरी १६ सम्म संघीय सरकारलाई खर्च उपलब्ध गराउने उक्त विधेयक पारित गर्न ६० मत आवश्यक थियो । तर आप्रवासन र सीमा सुरक्षाजस्ता विषयमा चर्को विवादबीच त्यो पारित हुन सकेन ।

पूर्व राष्ट्रपति बाराक ओबामाको पालामा ल्याइएको कार्यक्रमअन्तर्गत केटाकेटी हुँदा अमेरिका छिरेका कागजातविहीन आप्रवासीहरूलाई फिर्ता नपठाइने प्रत्याभूति गर्नुपर्ने डेमोक्र्याटहरूको माग विवादको मुख्य विषय रहँदै आएको छ ।

गत सेप्टेम्बरमा ट्रम्पले उक्त कार्यक्रम अन्त्य गर्ने घोषणा गरेका थिए । अब संसद्ले मार्च महिनासम्ममा त्यसको स्थानमा विकल्प खोज्नुपर्ने देखिएको छ ।

खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएपछि राष्ट्रपति ट्रम्पको कार्यालयले डेमोक्र्याटहरूले राजनीतिक स्वार्थ हेरेका कारण पछिल्लो अवस्था निम्तिएको आरोप लगाएको छ । ह्वाइट हाउस र संसद्को दुवै सदनमा रिपब्लिकनहरूको नियन्त्रण रहँदासमेत यस्तो अवस्था देखिएको यो पहिलो घटना हो ।

सिनेटका रिपब्लिकन नेता मिच म्याककोनलले विधेयकमा रहेका धेरै विषयमा सहमति भए पनि डेमोक्र्याटहरूले अवैधानिक आप्रवासनसम्बन्धी असम्बन्धित मुद्दा थप्दा विधेयक पारित हुन नसकेको बताएका छन् ।

Loading...