दुई मतले विपक्षीलाई पराजित गर्दै धिमाल तेस्रोपटक फुटबल संघको अध्यक्षमा निर्वाचित

मोरङ, ५ माघ । मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पुनः दीपेन्द्र धिमाल निर्वाचित भएका छन् ।

बिहीबार लेटाङ नगरपालिकामा सम्पन्न निर्वाचनमा धिमालले प्रतिद्वन्द्वी किरण गिरीलाई दुई मत अन्तरले पराजित गर्दै लगातार तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।

धिमालले ८ मत ल्याए भने गिरीले ६ मत प्राप्त गरे । यो विजयसँगै धिमालले जिल्ला फुटबल संघमा ह्याट्रिक गरेका छन् । उनी २०६४ सालदेखि लगातार जिल्ला फुटबल संघको अध्यक्ष छन् । फुटबल संघको उपाध्यक्षमा दीपेन्द्र तिवारी, माधवराज भण्डारी र धनकुमार लामा निर्वाचित भएका छन् ।

महिला सदस्यमा कौशिला लिम्बू र सदस्यमा उद्धवकुमार भुजेल, ओमप्रकाश मास्के, इन्द्रमणि पोखरेल, प्रेम तामाङ, खड्गबहादुर श्रेष्ठ, नगेन्द्र घिसिङ, माधवप्रसाद लिम्बू र तेजराज गिरी निर्वाचित भएका छन् ।

मोरङ जिल्लामा रहेका ए डिभिजनका १४ वटा फुटबल क्लबका १४ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गरेका हुन् । १४ वटा क्लबमध्ये सात वटा विराटनगर महानगरपालिकाभित्र र सातवटा महानगरपालिका बाहिरका रहेका थिए ।

विसं २०५२ मा स्थापित संघको नेतृत्व यसअघि सन्तोष बानियाँ, प्रदीप भगत र किशोर तिम्सिनाले गरेका थिए । बानियाँले दुई कार्यकाल नेतृत्व गरेका थिए भने भगत र तिम्सिनाले एक÷एक कार्यकाल नेतृत्व गरेका थिए ।

Loading...