कांग्रेस सरकारले नियुक्त गरेका सातै प्रदेशका राष्ट्रपति ‘रुढीवादी काँग्रेसी’

काडमाडौँ, ४ माघ । लामो समयको घम्साघम्सी, धक्काधक्की र घोचपेचपछि सरकारले बुधबार प्रदेश प्रमुख नियुक्त गर्नुको साथै अस्थायी राजधानी तोकेको छ ।

सुरुमा सरकारको नेतृत्व गरेको नेपाली काँग्रेसले प्रदेश प्रमुख र अस्थायी राजधानीबारेको निर्णय गर्न डराएको थियो । निर्णयपछि उत्पन्न हुन सक्ने विरोधको सामना गर्न तयार भएको थिएन । उसले नेकपा एमाले र माओवादी केन्द्रको साग पनि खोजेको थियो ।

एमाले र माकेभित्रै फरकफरक नेताहरुले फरकफरक ठाउँमा राजधानी दिन्छु भन्दै जनतालाई लड्डु बाँडेका थिए । अस्थायी राजधानी तोक्ने निर्णयले चुनावमा नेता, कार्यकर्ता र मतदाताबीच बनेको सम्बन्ध विग्रने डर थियो । त्यसैले केपी र प्रचण्ड उक्त निर्णयबाट आफूलाई बाहिरै राखे ।

एमाले र माकेपछि हटेको देखेर नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमै प्रदेशको सम्पर्क कार्यालय खोलेर काम चलाउनेबारे पनि छलफल गरेका थिए । तर, चौतर्फी विरोध भयो । पार्टीबाटै पनि साथ पाउन सकेनन् । निर्वाचन आयोगले प्रदेश प्रमुख तत्काल नतोकिए तोकिएको मितिमा राष्ट्रिय सभा निर्वाचन गर्न नसक्ने चेतावनी दिएपछि सरकार जोखिम उठाएरै निर्णय गर्न तयार भएको हो ।

अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्त गर्ने निर्णयमा एमाले र माके सहभागी नभएपछि प्रधानमन्त्रीले संघीय समाजवादी फोरमसँग सामान्य परामर्श गरेका थिए । बुधबार विहान बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गर्न नसकेपछि स्थगित भएको थियो । तयारीपछि दिउँसो पुनः बैठक बसेर निर्णय गरेको हो ।

सरकारले सबै नेपाली काँग्रेसको राजनीतिमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लागेकालाई नै प्रदेश प्रमुख नियुक्त गरेको छ । सरकारको निर्णयमा कसैले साथ नदिने भएपछि किन एमाले र माकेका मान्छेलाई नियुक्त गर्नु ? नेपालको राजनीतिक सस्कारअनुसार एक हिसाबले ठिकै हो ।

तर, सरकारले नियुक्त गरेका सबै ५० वर्ष पुरानो चेतना भएकाहरु छन् । उनीहरुको मनन् र चिन्तन् पुरानै पारोको छ । उनीहरु रुढीवादी छन् । नेपाली काँग्रेसको पछिल्लो पुस्ताले आफूलाई समयअनुसार बदलेको छ र नेतृत्व पनि गरेको छ । तर, प्रदेश प्रमुख नियुक्त भएकाहरुको सोच्ने शैली र काम गर्ने तरिका ५० वर्ष पुरानो नै हुनेछ ।

यस्ता छन सरकारले ताेकेका सातै प्रदेशका प्रमुख

प्रदेश १ को प्रमुखमा डा.गोविन्द तुम्बाहाङ (सुब्बा) पूर्वमा कम्युनिस्ट राजनीतिको प्रभावबाट राजनीतिमा आएका हुन् । उनले नेकपा मालेको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका हुन् । तर, बहुदल आएपछि सुब्बा नेपाली काँग्रेसमा प्रवेश गरे ।

प्राध्यापन पेश छोडेर सुब्बा २०४९ सालको स्थानीय चुनावमा धरानको मेयरमा चुनाव लडे । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सुब्बाले २२५ भोटले पराजित भएका थिए । चुनाव हारेपछि पुनः प्राध्यापनमै फर्किएका थिए । प्राध्यापनसँगै नेपाली काँग्रेसमा सक्रिय थिए उनी । शिक्षाको हिसाबले विद्यावारिधी र पेशको हिसाबले प्राध्यापन तर सुब्बा राजनीतिक चेतनाको हिसाबले रुढीवादी नै भएको नेपाली काँग्रेसको युवा पुस्ताले आरोप लगाउँदै आएको छ ।

सरकारले प्रदेश २ को प्रमुखमा मधेसी दलमा आवद्ध रत्नेश्वर लाल कायस्थलाई नियुक्त गरेको छ । पूर्वप्रशासक कायस्थ फोरमका सचिव पनि हुन् । उनी पनि नेपाली काँग्रेसका समर्थक हुन् । कर्मचारी सेवामा हुँदा काँग्रेसकै नेताहरुले भनेअनुसार नै काम गर्ने गरेको प्रशासन क्षेत्रबाट आरोप लाग्दै आएको छ ।

मधेसी दलको आधार नै काँग्रेस र माओवादी हो । माओवादी राजनीति छोडेर मधेसपछि पसेपछि काँग्रेसको ठूलो टीम त्यसैको पछिपछि लागेको घटना त हिजै हो । मधेसमा प्रभाव जमाएका नेताहरु काँग्रेसकै राजनीतिबाट आएका हुन् । सुरुदेखि मधेसको मुद्दा उठाउँदै आएका गजेन्द्रनारायण्का सिंहले उत्पादन गरेको पुस्ताको अस्तित्व नै सकिएको छ । कायस्थ फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको सिफरिसमा नियुक्त भएपनि उनको राजनीतिक धरातल काँग्रेस नै हो ।

माइती नेपालको स्थापना गरेर महिलाको क्षेत्रमा काम गरेर नाम कमाएकी अनुराधा कोइराला ३ नम्बर प्रदेश प्रमुखमा नियुक्त भएकी छन् । उनी पनि विवादरहित हुन सकिनन् । उनको जन्म र नागरिकताबारे केही सामाजिक संजाल र मिडियाहरुमा विभिन्न प्रश्न उठाइएका छन् । अनुराधा भारतमा जन्मिएको र विवादपछि नेपाली नागरिकता लिएको भन्दै समाचारहरु आएसँगै नागरिकता सार्वजनिक भयो ।

नागरिकतामा जन्मस्थान ओखलढुंगा भनिएको छ तर माइती नेपालको आधिकारिक साइटमा भारत उल्लेख छ । वायोग्राफीमा अनुराधा भारत जन्मेको भन्नेछ । नेतृ सरिता गिरीले अनुराधा भारतको दार्जिलिङकी भएको र विवाह गरेपछि नेपाली भएको दाबी गरेकी छन् । गिरीले अनुराधाले अंगिकृत नागरिक भएको समेत बताएकी छन् । तर नागरिकता वंशजको आधारमा लिएको देखिन्छ । गुरुङकी छोरी अनुराधा कोइरालासँग विवाह गरेकी हुन् ।

सन् २०१० मा सीएनएन हिरो समेत भएकी उनले भारत सरकारबाट पद्मश्री सम्मानसमेत पाएकी अनुराधा चुनावको काँग्रेसमा प्रवेश गरेकी हुन् । अनुराधाले जति पुरस्कार पाएपनि राजनीतिबारे ज्ञान पटक्कै छैन । राज्य व्यवस्था संचालनबारे ज्ञान नहुँदा आरुले उपयोग गर्ने र कहिले मुडेबलको प्रयोग गर्ने सम्भावना हुन्छ ।

पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवर कट्टर काँग्रेसी हुन् । कांग्रेस निकट कानुन व्यवसायीहरुको छाता संगठन डेमोक्रेटिल लयर्स एशोसिएसनको अध्यक्ष भइसकेका काँग्रेसको राजनीतिमा सक्रिय छन् । उनी सुशील कोइराला नेतृत्वको सरकारको पालामा महान्यायाधिवक्ता बनेका थिए । कानुनीका जानकार भएपनि राजनीतिक रुपमा कुँवर पनि रुढीवादी नै भएको आरोप काँग्रेस निकट कानुन व्यवसायीहरु नै बताउँछन् ।

उमाकान्त झा पूर्वसचिव हुन् । उनी पनि नेपाली काँग्रेसका पुराना समर्थक हुन् । सिंहदरबारको कुर्सीमा हुँदा काँग्रेस सरकारलाई सहयोग गर्दै आएका झा ५ नम्बर प्रदेशका प्रमुखमा नियुक्त भएका छन् । झा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी हुन् । खिलराज रेग्मी नेतृत्वको सरकारमा झा मन्त्री भएका थिए । त्यतिबेला पनि काँग्रेसको सिफारिस र ठाकुरको साथ पाएका थिए ।

झालाई पूर्वाग्राही प्रशासकको रुपमा हेरिन्छ । शक्तिमा खेल्न रुचाउने झाले नेता र मन्त्रीहरुसँग मिलेर धेरै कर्मचारीलाई दुःख दिएको आरोप पनि छ ।

त्यसैगरी प्रदेश ६ को प्रमुखमा दुर्गाकेशर खनाल नियुक्त भएका छन् । सुर्खेतका खनाल कांग्रेसका पुराना नेता हुन् । उनीसँगैका नेताहरुले केन्द्रीय राजनीतिमा पहुँच बनाएपनि पुरानै सोँच र शैलीका कारण खनाल हराएका थिए । नेपाली काँग्रेसको लागि धेरै पसिना बगाएपनि रुढीवादी चिन्तनका कारण पछि परेको काँग्रेस वृतमा चर्चा चल्ने गर्छ ।

र, प्रदेश नम्बर ७ को प्रमुखमा पूर्व पञ्च नियुक्त भएका छन् । पूर्व राष्ट्रिय पञ्चायत सदस्य मोहनराज मल्ल समयअघि मात्र कांग्रेसमा प्रवेश गरेका थिए । देश गणतन्त्रमा पुगेपनि मल्लको सोच्नेशैली पनि पञ्चायतकालिन नै छ । राजनीतिक चेतनाको हिसाबमा उनी पनि रुढीवादी नै छन् ।

रुढीवादी सोँच र शैली भएका व्यक्ति प्रमुख भएपछि कम्युनिस्ट सरकारले कसरी काम गर्ला ? एउटा प्रश्न खडा भएको छ । हुन त प्रमुख पद आलंकारिक नै हो तर अन्तिम र निर्णयक पनि हो । दुई नम्बर प्रदेश बाहेक सबै ६ ओटै प्रदेशमा एमाले र माकेको सरकार बन्‍ने पक्कापक्की जस्तै छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालिन प्रधानसेनापति रुकमांगत कटवाललाई हटाउने निर्णय तत्कालिन राष्ट्रिपति रामवरण यादवले अधिकारभन्दा बाहिर गएर रोकेको नजिर हामीमा छ । अहिलेका प्रमुखहरुमा आफ्नो विवेकले काम गर्ने एउटा अनुहार पनि छैन । काँग्रेसका निर्देशनमा चल्नेछन् । त्यसमा पनि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको आदेशको पर्खाइमा बस्नेछन् ।

Loading...