नेकपाका नेतामाथि सांघातिक हमला, ट्रकले पेलेर सामूहिक हत्या गर्न खोजियो

काठमाडौं, २ माघ । तमु ल्होसार पर्ब मनाईरहेका नेपाल कम्युनिष्ट पार्टीका नेतासहित स्थानीयमाथि धादिङमा सांघातिक हमला भएको छ ।

जिल्लाको सिद्धलेक गाउपालिका वार्ड नम्बर ५ स्थित कम्पुर पाँचखोलामा शनिबार स्थानीय र नेकपाका जिल्ला स्तरीय नेता बुद्ध गुरुङमाथि ज्यान लिने उदेश्यले हमला भएको नेकपाले जनाएको छ ।

गुरुङ सामुदायको पर्व तमु ल्होसारको अवसरमा सास्कृतिक कार्यक्रम भइरहेको अवस्थामा शनिबार राति साढे ८ बजेतिर राजेन्द्र श्रेष्ठ नामक व्यक्तिले एक्कासी तिब्र गतिमा मान्छेकाे भिडमाथि बा २ ख ९४०२ नम्बरको ट्रक चलाएर स्थानीयकाे सामुहिकरूपमा ज्यान लिन खाेजेका पिडितहरूले बताएका छन् ।

‘हामी त नाचागानमा गरी ल्होसार मानिरहेका थियौं, एक्कासी पछाडिबाट स्प्रिडमा त्यो मान्छेले ट्रक कुदाएर ल्यायो । घटनाका प्रत्यक्षदर्शी रतन गुरुङले भने- ‘झन्डै सबै गाउँलेको एउटै चिहान बनाउन खाेजिएकाे नि ।’ तीब्र गतिमा गुडिरहेको ट्रक आफुहरुतिर आएको देखेर जम्मा भएर बसेका स्थानीयहरु भागेर दायाँबायाँ लागेको मात्र सबैको ज्यान जोगिएको उनले बताए ।

उक्त घटना घटेलगत्तै आफ्ना नेता गुरुङमाथि समेत एउटा समूहले आक्रमण गरेको नेकपाले जनाएको छ । सो पार्टीले स्थानीयवासी र आफ्ना नेतामाथि भएको सांघातिक हमलाको निन्दा गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नेकपा धादिङका सेक्रेटरी प्रमोदले उक्त घटनाको भत्सर्ना गर्दै दोषीहरुलाई कडा कारवाहीको माग गरेका छन् ।

राजनीतिकरुपमा संरक्षित टोले गुण्डाहरुले आफ्ना नेतामाथि हमला गरेको उनले बताएका छन् । आक्रमणकारीहरुको समेत पहिचान भइसकेको उनकाे भनार्इ छ ।

‘१५ गते साँझ सांस्कृतिक पर्व तमु ल्होसारको अवसरमा टोलका मानिस जमघट भइ गीत गाइ नाचगान गरिरहेको अवस्थामा राजेन्द्र श्रेष्ठले मान्छे मार्नेगरी भिडभाडमाथि ट्रक चलाएको र राजनीतिकरुपमा संरक्षित टोले गुण्डाहरुबाट हाम्रो पार्टीका नेता क. बुद्ध गुरुङमाथि ज्यान मार्ने उदेश्यसहित सांघातिक हमला भएको छ ।’ सेक्रेटरी प्रमोदद्वारा जारी विज्ञप्तिमा भनिएको छ -‘ उक्त घटनाप्रति हाम्रो पार्टी घोर आपत्ति गर्दछ ।’

कम्पुर पाँचखोला नेवार टोल बस्ने राजेन्द्र श्रेष्ठ, हिरा बहादुर श्रेष्ठ, राम बहादुर गुरुङ, पदम श्रेष्ठ र कोइरालालेको कान्छोलगाएका व्यक्तिहरुको समूहले उक्त हमला गरेको विज्ञप्तिमा उल्लेख छ । दोषीहरू सबैलाई कानुनी कठघरामा ल्याएर कारवाही गर्न नेकपाले माग गरेको छ ।

अपराधिक क्रियाकलापमा संग्लनहरुलाई कानुनबमोजिम कारवाही नगरी राजनैतिक संरक्षणको प्रयास गरिएकामा आफ्नो पार्टीले कडा कदम चाल्ने नेकपाको चेतावनी छ ।

‘यदि कुनै अप्रिय परिवेश, परिस्थिति सृजना गरी राजनैतिक संरक्षण गर्ने कोशिस भएमा पार्टी, नेता, कार्यकर्ता र जनताको रक्षार्थ जस्तोसुकै कडा कदम चाल्नु परेपनि पार्टी सक्षम र तयार रहेकाे जानकारी यसै प्रेस विज्ञप्तिमार्फत गर्न चाहान्छाैं ।’ बिज्ञप्तीमा भनिएको छ ।

नेता गुरुङको टाउकोमा रडले हिर्काएका कारण गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

Loading...