एमाले र माओवादी केन्द्रले यसरी बाँड्दैछन् मुख्यमन्त्री, कुन प्रदेशमा मुख्यमन्त्री को ?

काठमाडाैं, २८ पुस । एकताकाे प्रक्रियामा रहेका नेकपा (एमाले) र माअाेवादी केन्द्रले सात वटा प्रदेशमा कसरी सरकार गठन गर्ने भन्नेबारे छलफल थालेका छन् । सात वटा प्रदेशमध्ये २ नम्बर प्रदेश वाहेक बाँकी ६ वटामा दुर्इ दलकाे पूर्णत: बहुमत छ ।

दुर्इ दलकाे एकता गर्नका लागि बनेकाे कार्यदलले प्रदेश सरकारका मुख्यमन्त्री र सभाका सभामुखसहित अन्य संरचना कसरी बनाउने भन्ने पनि छलफल गरिरहेकाे बताइएकाे छ । मुख्यमन्त्री र सभामुख बाँडफाँट गर्ने अाधार तयार गर्न अहिले नेताहरु लागिरहेकाे बुझिएकाे छ । एकता संयाेजक समितिका नेता सुवासचन्द्र नेम्वाङले त्यसका लागि चारवटा आधार तयार पारिएकाे जानकारी दिएका छन् । उनले भने, ‘अब पार्टी नै एउटै भएपछि कसले कति पाउने भन्ने कुरा रहेन । कुन प्रदेशमा मुख्यमन्त्री र सभामुख बन्न कस्तो व्यक्ति उपयुक्त हुन्छ भन्नेबारे कुरा भएकाे छ । व्यक्ति हेरेर बाँडफाँड हुन्छ । यति उति पाउने भन्नेबारे कुनै कुरा छैन ।’

वाम गठबन्धनले नेतृत्व गर्ने ६ वटा प्रदेश मध्ये चारवटामा नेकपा एमालेका तर्फबाट मुख्य मन्त्री बन्ने र दुईवटामा माओवादीले मुख्यमन्त्री राख्ने तयारी भइरहेकाे छ । ती प्रदेशका सभामुखहरु पनि साेही अनुसार बाँडफाँट गर्ने बताइएकाे छ ।

मुख्यमन्त्री बाँडफाँड गर्दा सम्बन्धित प्रदेशको जातीय सन्तुलनलाई पनि ध्यान दिने नेताहरुले बताएका छन् । समावेशीता र सन्तुलनलाई ध्यान दिँदै प्रदेश १ बाट राई/लिम्बु, प्रदेश ३ मा नेवार/तामाङ, ४ मा गुरुङ उम्मेदवारलाई प्राथमिकता दिने गरी सिट बाँडफाँट हुने बताइएकाे छ । साेही अनुसार प्रदेश १ मा शेरधन राई, ३ मा अष्टलक्ष्मी शाक्य र ४ मा पृथ्वीसुब्बा गुरुङ वा किरण गुरुङमध्ये एक मुख्यमन्त्रीका सम्भावित उम्मेदवार हुने बताइएकाे छ । त्यसैगरी ५ नम्बर प्रदेशमा शंकर पोखरेल बन्नेछन् ।

६ नम्बर प्रदेशमा खसआर्य समुदायकै मुख्यमन्त्री बन्ने बताइएकाे छ । माओवादीले पाउने सम्भावना रहेको मुख्यमन्त्रीका लागि महेन्द्रवहादुर शाही र नरेश भण्डारी मुख्य दाबेदार छन् । यद्यपी ६ नम्बर प्रदेशमा एमालेको बहुमत रहेको भन्दै एमालेले पनि दाबी गरेको छ । एमालेबाट मुख्यमन्त्रीमा प्रकाश ज्वाला र यमलाल कँडेल दाबेदार छन् । यो प्रदेशमा माओवादीले मुख्यमन्त्री पाएमा सभामुख सहित महत्वपूर्ण मन्त्रालयहरु एमालेले पाउने गरि छलफल अघि बढाइएको छ ।

प्रदेश ७ मा पनि माओवादीले मुख्यमन्त्री पाउने सम्भावना छ । यहाँ थारु समुदायका वीरमान चौधरी र माओवादीकै झपट बोहोराले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

Loading...