मौसमी सूचना प्रणालीलाई आधुनिकीकरण गर्न राडार जडान

काठमाडौँ, २८ पुस । मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया शुरु गरेको छ ।

विभागले मौसमी सूचनालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमा पहिलो पटक सुर्खेत, पाल्पा र उदयपुरमा राडार जडान गर्न थालेको हो । मौसमी प्रणालीलाई आधुनिकीकरण गर्न तीनवटा मौसमी राडार जडानको प्रक्रिया शुरु भइसकेको विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिए ।

सुर्खेतको रातानाङ्ला, पाल्पाको सिद्धिकोट र उदयपुरको नामेटारमा मौसमी राडार राखिनेछ । हाल अनुमानित मौसमी विश्लेषण हुँदै आएकामा राडार जडानपछि वास्तविक सूचना पाउन सकिनेछ ।

“सुर्खेतमा मौसमी राडारको काम अघि बढिसकेको छ । सम्झौता भइसकेकाले अब करिब पाँच महिनाभित्र राडार पनि आइपुग्छ । बाँकी दुई ठाउँ पाल्पा र उदयपुरमा राडार राख्नका लागि जग्गा प्राप्ति भई टेण्डर प्रक्रिया अघि बढेको र केही हप्तापछि सबै प्रक्रिया टुंगिन्छ,” उनले भने । राडारका लागि एशियाली विकास बैंकको जलवायु प्रकोप समुत्थान निर्माणअन्तर्गत आर्थिक सहयोग रहेको छ भने बाँकी नेपाल सरकारले बेहोर्नेछ ।

मौसमी सूचना प्रणालीको अत्याधुनिक उपकरण राडार राखेपछि समयमै सही सूचना सहज रूपमा प्राप्त हुनेछ, यसले मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप – बाढी, पहिरो आदि घटनालाई न्यूनीकरण गर्न सहयोग पुग्ने महानिर्देशक शर्माको भनाइ छ । राडारले नेपालभरिको मौसमी सूचना स्वचालित (अटोमेटिक) रूपमा संकलन गरी वास्तविक समयसहित जानकारी दिन्छ । एक राडारको पूर्वाधारसहित करिब २४ करोड पर्छ ।

के गर्छ मौसमी राडरले

महानिर्देशक शर्माका अनुसार राडारले नेपालको आकासमा वायुमण्डल वरिपरि घुमेर तस्बीर खिच्छ । पहाडको उच्च भेगमा राखिने राडारले नेपालको वायुमण्डलको सबै भू–भागमा वास्तविक समयमा तस्बीर खिचेर पठाउँछ । त्यस आधारमा वायुमण्डलमा कस्तो खालको बादल छ । पानी, असिना, हिमपात पार्ने बादल हो कि होइन, कति परेको छ र कति समयदेखि त्यो बादल छ, भनेर थाहा पाउन सकिन्छ । यस्ता सूचनाका आधारमा तत्कालको मौसमी पूर्वानुमान गर्न यो प्रणालीले सहज हुन्छ ।

राडारले वास्तविक अनुमान गर्छ । यसले कुनै पूर्वानुमान नगरी जे देखिन्छ, त्यही बताउँछ । उदाहरणका लागि कुनै बादल बनिरहेको छ भने त्यो बादलभित्र के छ, पानी, हिउँका कस्ता कण छन् । असिना पर्ने बादल हो कि त्यो सूचना दिन्छ । त्यसका आधारमा मौसम विभागले केही घण्टा पहिले नै यो ठाउँमा बादल देखिएको छ र यतिखेर पानी पर्छ भनेर सूचना दिन्छ ।

अठासी वटा मौसम मापन केन्द्र जडान हुँदै

मौसम पूर्वानुमान गर्नका लागि चालु आवको असार मसान्तसम्म ८८ वटा स्वचालित मौसम मापन केन्द्र जडान गरिसक्ने विभागले जनाएको छ । अहिले ३० वटा स्वचालित यन्त्र जडान भएका छन् जसको विवरणमा मौसमसम्बन्धी जानकारी दिइन्छ । मौसम विभागमा अहिले जम्मा २२ जना मौसमविद् छन् । देशभर तापक्रम नाप्ने यन्त्र १५०, वर्षा नाप्ने ५०० र स्वचालित मौसम मापन प्रणाली ३० स्थानमा छन् ।

फागुनमा पहिलो मौसमी बेलुन उड्ने

मौसम पूर्वानुमानलाई थप परिष्कृत गर्न विभाग लागिपरेको छ । अहिले विश्वको विवरण (डाटा) प्रयोग भइरहेको मौसम पूर्वानुमानलाई अब भने नेपालको डाटा पनि प्रयोग गरेर पूर्वानुमान गरिनेछ । अहिले जमिनमा राखिएका स्वचालित केन्द्रको रेकर्ड डाटाले मात्र पुग्दैन । “अहिलेसम्म माथिल्लो वायुमण्डलको कस्तो मौसमी गतिविधि छन् भनेर डाटा लिन सकेका छैनाँै । आगामी फागुन महिनाभित्र कीर्तिपुरको डाँडाबाट पहिलोपटक मौसम मापन गर्ने ‘मौसमी बेलुन’ उडाउने तयारी गरिएको छ,” महानिर्देशक शर्माले बताए ।

यसले माथिल्लो वायुमण्डलको मौसमी विवरण लिन सहज हुन्छ । बेलुनमा हाइड्रोजन ग्यास छोडिन्छ, बेलुन जति माथि जान्छ, त्यहाँको तापक्रम सापेक्षिक आद्रताको अवस्था हावाको गति कुन दिशातिर बहेको छ भनेर तल जमिनको रिसिभिङ स्टेशनमा पठाउँछ । तर, यसका लागि मौसम विभागले छुट्टै कम्प्युटर प्रणाली विकास गर्र्नुपर्ने हुन्छ । विवरण राख्न शक्तिशाली कम्प्युटर चाहिन्छ । नेपालमा पहिलो पटक सुपर कम्प्युटर (हाई पावर कम्प्युटिङ) खरिदका लागि टेण्डर गरिसकेको विभागले जनाएको छ । एक वर्षभित्र सबै काम सकेर नेपालको मौसमी प्रणालीलाई विश्वका विकशित मुलुकको हाराहारीमा पु¥याउन सकिन्छ ।

चट्याङसम्बन्धी सञ्जाल निर्माण

मौसम विभागले प्राकृतिक प्रकोपको दुर्घटनाका रूपमा लिइने चट्याङ कहाँ, कस्तो र कहिले पर्दैछ भन्ने पूर्वजानकारी दिने उद्देश्यले पहिलो पटक चट्याङ सम्बन्धी सञ्जाल निर्माण गर्ने भएको छ । यो काम अहिले लगभग सकिएको छ । परामर्शदाता कम्पनीले अबको तीन महिनाभित्र सबै तथ्यांक विभागलाई बुझाएपछि चट्याङसम्बन्धी अनुगमन तथा केही समयपछि पूर्वानुमान गर्न सकिने महानिर्देशक शर्माको भनाइ छ ।

Loading...