सरकार ढल्ने थ्रेटले रोकियो डनसँगको इन्काउण्टर योजना

काठमाडौं । भारतको लखनउबाट पक्राउ परेका रमेश बाहुनलाई इन्काउण्टरका नाममा गोली हानी हत्या गर्ने प्रहरी योजना असफल भएको खुलासा भएको छ । अपराधको दुनियाँमा वाहुनको सक्रियता डरलाग्दो र चुनौतीपूर्ण बन्दै गएपछि उनको अन्त्य नै सही विकल्प भएको निष्कर्षमा प्रहरी पुगे पनि सरकार ढल्नेसम्मको सम्भावना बढ्दा प्रहरी योजना सफल हुन नसकेको स्रोतको दावी छ ।
सत्ता साझेदार शक्तिले सरकारबाट हात झिक्ने संकेत देखेपछि सुरुमा वाहुन विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन र जस्तोसुकै कदम चाल्न प्रहरीलाई साथ दिने मनस्थितिमा रहेको सत्तारुढ काँग्रेसले प्रहरी उच्च अधिकारीहरुलाई काउण्टर योजनामा पुनर्विचार गर्न संकेत दिएको वुझिएको छ ।
ललितपुरमा ठेक्का पट्टाको कमिसन र क्रसर व्यवशायीसँगको हप्ता असुली विवाद पश्चात मिनकृष्ण महर्जन माथि साङ्घातिक आक्रमणको अभियोग पछि डन रमेश वाहुन खोजीको दिनगन्ती सुरु भएको हो । बाहुनले नेपालमा बलियो राजनीतिक संरक्षण पाएको र भारतीय गुण्डाहरुसँग पनि गहिरो हिमचिम बढाइसकेकोले प्रहरीले उनलाई विशेष निगरानीमा राखेको थियो ।
हप्ता असुली, टेण्डर कब्जा, व्यवसायीहरुसँग चन्दा असुली जस्ता कामबाट बाहुन आफ्नो उद्देश्य पूरा गर्न व्यक्ति हत्यासम्म पुग्ने प्रवृतिमा लागेपछि प्रहरीले उनलाई चुनौतीका रुपमा लिएको स्रोतको दावी छ ।
काठमाडौंका अन्य चर्चित डनहरुमध्ये केही यतिबेला यार्सा व्यापार, घरजग्गा कारोवार र ठमेलमा वियरका बोत्तलको कमिसनमा लागेका छन् । प्रहरीलाई सबै डनको दैनिकी थाहा पाए पनि उनीहरु सबै राजनीतिक संरक्षणमा रहेको र हत्याकै स्तरमा नपुगेकाले त्यति धेरै चासो नदिएको बताइएको छ ।

Loading...