सरकारको निर्णय वमोजिम आयोगले बनायो अर्को निर्वाचन कार्यतालिका, यसरी हुनेछ सात प्रदेशमा चुनाव

काठमाडौं, २६ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएकाे छ । निर्वाचन अायाेगले अाज सातवटै प्रदेशमा मतदान गरिने राष्ट्रियसभा निर्वाचनकाे सम्पूर्ण तालिका सार्वजनिक गरेकाे हाे । सरकारले गरेकाे निर्णय वमाेजिम नै अायाेगले कार्यतालिका बनाएकाे हाे । यसअघि मन्त्रिपरिषदले माघ २४ मा निर्वाचन गर्ने निर्णय गरेकाे थियाे ।

निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख एवं प्रदेशसभा सदस्य मतदाता हुनेछन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १५०६ जना तथा प्रदेशसभाका ५५० सदस्य गरी कुल २,०५६ जना मतदाता छन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ तोकिएको छ । स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेशसभा सदस्यको मतबाट राष्ट्रियसभाका ५६ सदस्य निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट महिला र खुलाबाट ३/३ जना, दलित र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १/१ जना गरी ८ जना चुनिनेछन् ।

निर्वाचन आयोगले उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा पुस २९ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता नवराज ढकालले सात स्थानमा मतदान स्थल बनाइने जानकारी दिएका छन् । उनले अहिलेकाे उच्च अदालतको मुख्यालय जहाँ छ, त्यही मतदान केन्द्र रहने बताए ।

ढकालले माघ ७ गते मतदान केन्द्रहरुमा मतदाता नामावली प्रकाशन गरिने, १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र १५ गते उम्मेदवारहरुलाई निर्वाचन चिहृन प्रदान गरिने बताए । उनले माघ २४ गते बिहान १० बजेदेखि अपराहृन ३ बजेसम्म मतदान गरिने जानकारी पनि दिए ।

Loading...