मेनपावर व्यवसायीको निर्वाचनमा पनि कांग्रेसलार्इ अन्तर्घातकाे डर

काठमाडौँ, २९ असार । नेपाली काँग्रेसका नेताहरुले वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वका लागि शुक्रबार हुने निर्वाचनमा अन्तर्घात नगर्न काँग्रेस निकट व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, मधेस केन्द्रित दल निकट तराई वैदेशिक रोजगार फोरमको ‘बिमल ढकाल संयुक्त व्यवसायी समूहको भेलालाई बुधबार सम्बोधन गर्दै काँग्रेस महामन्त्री शशाङ्क कोइरालाले एक ढिक्का भएर मतदान गर्न आग्रह गरे ।

उनले भने, “स्थानीय तहको निर्वाचनमा अन्तर्घातका कारण धेरै तहमा पार्टीले हार व्यहो¥यो, तपाईंहरुको निर्वाचनमा त्यस्तो अन्तर्घात नगर्नुहोला ।” वैदेशिक रोजगारलाई मर्यादित बनाउन आवश्यक रहेको भन्दै उहाँले व्यवसायीको माग सम्बोधन गर्न आफ्ना तर्फबाट सक्दो पहल गर्ने उनको भनाइ छ ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले वैदेशिक रोजगार व्यवसायमा केही व्यक्तिको मात्रै एकाधिकार हुने अवस्थाको अन्त्यका लागि लोकतान्त्रिक समूहको जित आवश्यक रहेको धारणा राखे ।

संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले ढकाल समूहमा आदिवासी, जनजाति, मुस्लिम, मधेसी सबैको उम्मेदवारी रहेको समावेशी समूह रहेको भन्दै यो समूहले जित्ने बताए । अध्यक्षका उम्मेदवार बिमल ढकालले अघिल्लो कार्यकालमा बाँकी रहेको केही काम पूरा गर्नुपर्ने दायित्व आफूसामु रहेको भन्दै ६ महिनाभित्र त्यो पूरा गर्न नसके आफूले पदबाट राजीनामा दिने घोषणा गरे ।

सो समूहबाट प्रथम उपाध्यक्षका उम्मेदवार प्रज्ञान न्यौपानेले विभिन्न नाममा मलेसिया जाने कामदारमाथि भइरहेको आर्थिक भार थोपर्ने कामको अन्त्य, व्यवसायमा केही संस्थाको मात्रै एकाधिकार कायम गर्ने कार्यको निषेध गर्दै व्यवसायलाई मर्यादित बनाउने आफ्नो कार्यसूची रहेको बताए ।

सो समूहबाट अध्यक्षमा ढकाल, प्रथम उपाध्यक्षमा न्यौपाने, द्वितीय उपाध्यक्षमा भुवन गुरुङ, तृतीय उपाध्यक्षमा नवलकिशोर साह, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा विनोदजङ्ग केसी र कोषाध्यक्षमा राधिका कटुवाल उम्मेदवार छन् ।

अर्कोतर्फ नेकपा (एमाले) निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र नेकपा (माओवादी केन्द्र) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका तर्फबाट रोहन गुरुङको अध्यक्षतामा ‘संयुक्त व्यावसायिक समूह’ले सङ्घमा उम्मेदवारी दिएको छ ।

Loading...