सँगै सुतेका दुई साथीलाई घनले हानेर हत्या गर्ने खतरानाक हत्यारा साथी

पोखरा, २० पुस । आफ्नै दुई साथीहरुलाई राती सँगै सुतेको बेला घनले हानेर हत्या गर्ने हत्यारा पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका–१८, सराङकोटस्थित निर्माणाधीन माउन्टेन रिसोर्ट एण्ड स्पा भवनमा गत आइतबार यसरी विभत्स हत्या गरिएको थियो ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका घर भई सो रिसोर्टमा काम गर्ने मजदुर पूर्णबहादुर लिम्बूले घनले यसरी आफ्नै दुई साथीको हत्या गरेका हुन् । लिम्बूले राती घनले हान्दा दुईजनाको मृत्यु भएको र एकजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

लिम्बूले आफूलाई साथीले मोबाइल चोरेको आरोप लगाएपछि घनले हानेर मारेको स्वीकार गरेका छन् । चारजना खाना खाएर संगै सुतेकोमा चोरको आरोप लगाएको रिसको झोँकमा घनले हान्दा भोजपुर षडानन्द नगरपालिकाका १९ वर्षीय निमा शेर्पा र ३७ वर्षीय आङलाक्पा शेर्पाको घटनास्थलमै मृत्यु भएको थियो । अर्का साथी २७ वर्षीय आङदावा शेर्पा गम्भीर घाइते भएका थिए । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

साथीको हत्या गरेपछि अभियुक्त राति नै बस चढेर घर पुगेको र उनलाई पक्राउ गर्न पोखराबाट प्रहरी टोली त्यसतर्पm गएको थियो ।

टोलीले प्रदेश नं. १ को प्रहरी र जिल्ला प्रहरी कार्यालय, धनकुटासँगको समन्वयमा अभियुक्तलाई पक्राउ गरी पोखरा ल्याएको थियो । उनलाई जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिएका छन् ।

Loading...