एमालेसँग पावर शेयरिङबारे कुरा मिलेन भने पार्टी एकता गर्नुको अर्थ हुँदैनः प्रचण्ड

काठमाडौं, १९ पुस । नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डले नेकपा एमालेसँग पार्टी एकताको लागि छलफल जारी रहेको बताएका छन् । मंगलबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

पार्टी एकतालाई जनताले अनुमोदन गरेको बताउँदै प्रचण्डले एकताको लागि अाफूहरु तयार भएको तर मुख्य नेतृत्वबारे मोटामोटी कुरा मिले पनि नटुंगिएको बताए । नेतृत्वको कुरा टुंगिएपछि वैचारिक र राजनीतिक कुराबारे छलफल हुने प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार मुख्य नेतृत्वमा कुरा नमिले एमालेसँग एकता नहुने संकेत प्रचण्डले गरेका थिए । नेताहरुले सम्मानजनक हुने गरी एकताको पहल गर्न प्रचण्डलाई सुझाव दिएका थिए । अध्यक्ष प्रचण्डले देशभरबाट अाइरहेको सुझाव र चिन्ताको सम्बोधन हुने गरी नै पार्टी एकता हुनेमा विश्वस्त हुन नेताहलाई भनेका थिए ।

प्रचण्डले एकीकृत पार्टी अध्यक्ष अाफूले पाउने तर कुनै कारण एमाले तयार नभए पार्टी एकता नहुने संकेत गरेका थिए । साथै उनले एमालेसँग पावर शेयरिङबारे कुरा मिलेन भने पार्टी एकता गर्नुको अर्थ नहुने पनि बैठकमा बताएका थिए । बैठकले पार्टी एकता प्रक्रियाबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा कार्यदल पनि बनाएको छ ।

Loading...