हलिउडका कलाकार ल्याएर नेपालको प्रचारप्रसार गराइने

काठमाडौं, १५ पुस । भूकम्प र नाकाबन्दीका कारण नेपालबारे विश्व पर्यटन बजारमा परेको नकारात्मक सन्देशलाई न्यूनीरण गर्ने उद्देश्यले हलिउडका कलाकारलाई यही फागुनमा नेपाल ल्याइने भएको छ । भूकम्प र नाकाबन्दीका कारण नेपालबारे विश्व पर्यटन बजारमा परेको नकारात्मक सन्देशलाई न्यूनीरण गर्ने उद्देश्यले हलिउडका कलाकारलाई यही फागुनमा नेपाल ल्याइने भएको छ।

बुधबार पर्यटन बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस अभियानलाई ‘फायरट्रक एक्सपिडिसन नेपाल’ नाम दिइएको जानकारी दिए। सगरमाथाको ढुंगालाई घडीमा प्रयोग गर्ने अमेरिकी आरोही तथा पर्यटन बोर्डका ब्रान्ड एम्बेस्डर माइकल कोबोल्ड यस अभियानका मुख्य आयोजक हुन्। उनले यसबारे हालै पुस्तक पनि लेखेर सार्वजनिक गरिसकेका छन्।

उनले यस अभियानमा विश्वभर कहलिएका सेलिब्रेटी ल्याइने बताए। उनले यस अभियानमा अमेरिकी नायक टम हार्डी, कोलिन फयारल, अस्कर विजेता नायकद्वय मालकम म्याकडोयल, स्कट ग्ल्यान, गिटारिस्ट नुनो बेटनकर्ट, संगीतकार स्टिङ, गिनिजमा नाम लेखाउने साहसिक रानुलफ टिस्लेटन, नेसनल जियोग्राफीका लागि फोटोग्राफी गर्ने चर्चित फोटोग्राफर मार्टिन हार्टली, पूर्वअमेरिकी राजदूत स्कट एच डेलेसीलगायत रहने जानकारी दिए। ‘करोडौं रुपैयाँ पारिश्रमिक लिने चर्चित सेलिब्रेटीहरूलाई पारिश्रमिक भने दिइने छैन। उनीहरूले नेपालमा आई सित्तैमा प्रचार गरिदिनेछन्।

‘नेपालजस्तो सुन्दर मुलुकबारे प्रचार गर्न हाम्रो अनुरोधमा करिब २५ जना विश्वभर कहलिएका सेलिब्रेटी र चर्चित व्यक्तित्वहरूले नेपाल आउने बाचा गरेका छन्, यिनलाई पारिश्रमिक भने दिइने छैन,’ दुईपटक सगरमाथा आरोहण गरेका माइकलले पत्रकार सम्मेलनमा भने, ‘टुइटरमा साढे ७ करोड फयान फलोइङ भएकी लेडी गागासँग पनि कुरा भएको छ। उनी नेपाल आउन सकिन् भने पनि आफ्नो टुइटर हयान्डलमार्फत फायर ट्रक एक्सपिडिसनबारे लेखिदिनेछिन्।’ हलिउडका साथै बलिउडका केही कलाकारलाई पनि यस अभियानमा सहभागी गराइने प्रयास जारी रहेको जोशीले दाबी गरे।

अभियानमा नेपाली कलाकारहरू मनीषा कोइराला, राजेश हमाल, सृष्टि श्रेष्ठ, सुनील थापा पनि सहभागी हुनेछन्। कार्यक्रममा अमेरिकाबाट १० वटा दमकल ल्याइनेछन्। ती आधुनिक तर सेकेन्ड हयान्ड दमकल झिकाउने अनुमति नेपाल सरकारबाट प्राप्त गरिसकेको माइकलले बताए। नेपाललाई सहयोग गर्ने उद्देश्यले विभिन्न दाताहरूको आर्थिक सहयोगमा खरिद गरिएका दमकल भारतको कोलकातासम्म पानीजहाजमा ल्याइनेछन्। त्यहाँबाट वीरगन्ज ल्याइएपछि फायरट्रक एक्सपिडिसन सुरु हुनेछ। यो अभियान ४ देखि ५ दिनको हुनेछ।

वीरगन्जबाट सडकमार्ग हुँदै ती दमकल चितवन, पोखरा, गोर्खा हुँदै काठमाडौं ल्याइनेछन्। ती कलाकारको दमकल यात्रामाथि ९० मिनेटको डकुमेन्ट्री बनाइनेछ। जसलाई बीबीसीलगायतका चर्चित मिडियामार्फत अमेरिका र युरोपमा प्रसारण गरिनेछ। यो अभियानका लागि पर्यटन बोर्डले २ करोड रुपैयाँ बजेट विनियोजन गरेको बोर्डका सीईओ जोशीले बताए।

यसमा टर्किस एयरलाइन्सले हलिउड कलाकारहरूलाई नेपाल आउने/जाने यात्राको बिजनेस श्रेणीको टिकट प्रयोजन गर्ने सम्झौता गरेको छ। यो अभियानबाट नेपालले २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी मूल्यको ख्याति (माइलेज) पाउने बोर्डले दाबी गरेको छ। यो अभियानका लागि नेपाल सरकारसँग धेरै वर्षदेखि लबिङ गरिरहेका माइकलले अबको फागुनमा यो अभियान निश्चय नै हुने बताउँदै चाँडै दिन पनि तय गरिने बताए।

Loading...